उपाधिको ‘मजाक’

सम्पादकीय
मानिस अपवाद बाहेक प्रंशसा, गुणगान, सम्मानको भोगी हुन्छ । यति मात्र हो कि त्यो मानिसहरुले कसरी अभिव्यक्त गर्छ ? या यसको मात्रात्मक रुप आशक्ति उसमा के कति छ ? कोही मान, सम्मान र प्रंशसा भनेपछि हुरुक्कै हुने या गरिदिनु पर्ने स्वभावका हुन्छन् भने कोही यसबाट अलि टाढै रहने अन्तरमुखी स्वभावका हुन्छन् । कोही चाही यस्ता मान पदवी, सम्मान, पुरस्कार आफुले या आफ्नाले पाए ठिक, अरुले पाए बेठिक भन्ने र आलोचना गर्ने व्यक्ति र समूह पनि ठुलै छ । उसो त नेपालमा मान पदवी, पुरस्कार, सम्मानहरु विवादरहित हुन सकिरहेका छैनन् । यसका तय गरिएका मापदण्ड, निश्पक्षता जस्ता विषयले यथोचित स्थान नपाउँदा बिरोधाभास जन्मिने गरेको छ । आजकाल त पुरस्कारले मान्छे खोज्छ कि मान्छेले पुरस्कार खोज्छ भन्ने सवाल पेचिलो बन्दै आएको छ ।

अहिले गण्डकी प्रदेशको राजधानी पोखरामा एक व्यक्तिलाई एकै दिन प्रदान गरिएको १२ उपाधिको चौतर्फी चर्चा मात्र होइन, आलोचना समेत भइरहेको छ । ‘साहित्यिक राष्ट्रनायक’, ‘अलौकिक कवि’को पहिले नै उपमा पाएका पोखराका देशभक्त कुवरलाई शनिवार दर्जन उपाधिबाट सम्मान गरिएको खबर छ । देशभक्तलाई शब्द सम्राट, वाङ्मय सम्राट, साहित्य सम्राट, सिर्जना सम्राट, रचना सम्राट, लेखक सम्राट, दिव्य गायक, बहुआयामिक ब्यक्तित्व, सङ्गीत मणिरत्न, युग संचारमणी, महासाहित्यकार र दुर्लभ महामानव उपाधि दिइएको हो । साहित्य, संगीत, कलाकारिता, संचार लगायत विविध क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको कदर स्वरुप १२ वटा संस्थाले उनलाई नगद ५० हजारका दरले (जम्मा ६ लाख रुपैयाँ), सम्मानपत्र, मायाको चिनो, दोसल्ला सहित सम्मान गरेको दाबी छ ।

कुनै व्यक्ति या सर्जक या समाजसेवी सम्मानित हुनु सुखद कुरा नै हो । तर, कोही सम्मानित हुँदै गर्दा या कसैलाई बिभिन्न मान पदवी, अलंकारले बिभुषित गर्दै गर्दा त्यसका निश्चित केही मूल्य मान्यता, सीमाहरु ख्याल गर्नुपर्छ । अहिलेको चौतर्फी आलोचना देशभक्तले उपाधि पाए भन्ने पिरलो मात्रैले कदापि होइन, उपाधिको औचित्यता के हो ? यति गहन, महत्वपूर्ण शब्दहरुको प्रयोग मार्फत उपाधि दिइएको छ कि नेपाली समाज र शब्दकोषमा ती शब्दहरु निर्क वजनदार छन् । एकै दिन १२ उपाधि, त्यो पनि सुन्दा पनि अचम्म र सतही लाग्ने यो कार्यक्रम र विषयले देशभक्त र आयोजक स्वयम्लाई गिज्यारहेको छ । यो कुरा स्वीकार गर्नुपर्छ कि देशभक्तलाई जेका लागि भनेर सम्मान दिइएको छ, यसमा केही न केही त योगदान होला । सवाल यति मात्रै हो कि जे जस्ता भारी शब्दहरुको पगरी जबरजस्त गुथाइएको छ । यो व्यक्तिको महत्वकांक्षा या लालसा या चरम चाकरीको परिस्कृत रुप हो । यस्तो प्रवृत्ति नेपाली समाजका लागि घातक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *