सम्पादकीय
नेपाललाई धेरैले सतीले सरापेको देश भन्छन् । देशका बारेमा कुरा गर्दा गुनासै गुनासा व्यक्त गर्छन् । राजनीतिक बेथिति, उतार चढावले आजित भएर चौतर्फी चरम निराशाका कुरा गर्छन् । उनीहरु मध्ये अधिकले यो मुलुकका शासकहरुलाई धारे हात लाएर धिक्कारिरहेका हुन्छन् । तर, यो देशको एक नागरिक हुनुका नाताले देश प्रतिको कर्तव्य निर्वाहका बारेमा भने उनीहरु स्वयंम् बेखबर जस्ता देखिन्छन् । अर्थात्, आफ्नो देश प्रतिको दायित्व पूर्णतः बेवास्ता गर्छन् । आज देश जुन अवस्थामा छ, यसो हुनुमा यो मुलुकका शासकहरु, राजनीतिक दल, तिनका नेता, कर्मचारीतन्त्र जिम्मेवार छन् नै, उनीहरुका साथै नागरिक पनि वर्तमान दुरावस्थाको धेरथोर जिम्मेवार छन् । यसबारे सबैले मन्थन, चिन्तन मनन गर्न आवश्यक छ ।
यसो भन्दैमा देश हिजोको भन्दा आज परिवर्तन, विकास, समृद्धि, सेवामा कुनै सुधार नभएको होइन । हिजो भन्दा आज अवश्य छ । यो देशमा राज्यले गर्न नसकेका क्षेत्रमा व्यक्ति स्वयंम्ले अभूतपूर्व आयामका कामहरु पनि गरिरहेका छन् । यसका ज्वलन्त उदाहरणीय दर्जनौ पात्र नेपालमा छन् । यसमध्येको एक पात्र हुन् डा.सन्दुक रुइत । जसले आँखा उपचारका क्षेत्रमा यहाँको सरकारले गर्न नसकिरहेको काम गरेर हजारौ नागरिकलाई ज्योती दिएका छन् । हाल सम्म मनकारीले दान गरेका आँखाको नानी प्रत्यारोपण गरेर १० हजार ३७८ नेपालीले संसार हेर्न पाएका छन् । यसमा आठ हजार ३१ नानी नेपालीले नै दान गरेका हुन् भने बाँकी २३ सय ४७ विदेशबाट ल्याएर प्रत्यारोपण गरिएका हुन् । केही विदेशी पनि नेपालमा नानी प्रत्यारोपण गरेका छन् । नेपालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको २८ वर्ष भएको छ । नेपालमा रक्तदानपछिको ठूलो भनेकै आँखा दान हो । अहिले देशभर दुई हजार दुई सयभन्दा धेरै आँखाको नानी प्रत्यारोपणको पर्खाइमा छन् । विगतमा वर्षौँ कुरेर मात्रै प्रत्यारोपण हुनेमा हाल एक हप्ताको पर्खाइमा बिरामीले सेवा लिन सक्ने अवस्था छ ।
डा.रुइतको विशेषज्ञता, दृढता र कुशल नेतृत्वमा निजी स्तरमा यतिको अभूतपूर्व काम हुन सक्छ भने सिंगो राज्यले यी र यस्ता संवेदनशील विषय र क्षेत्रमा किन उल्लेख्य काम गर्न सकिरहेको छैन ? यही देशमा व्यक्तिले सामाजिक स्वयंसेवीको हिसाब र व्यावसायिक हिसाबले बिभिन्न क्षेत्रमा उल्लेख्य कार्य गर्न सक्छन्, त्यसमा उनीहरु पनि सफल छन् र देशले पनि लाभ लिइरहेको छ भने सिंगो राज्य, यसमा पदको लाभ लिएर जनताको करबाट तलब भत्ता खाएर बसेकाहरुले यस्ता संवेदनशील विषयमा दुर दृष्टि राखेर नीति, योजना, कार्यक्रम किन तय गर्न सक्दैनन् ? नेताहरु जनमत लिएर, निजामति कर्मचारीहरु एक पटक लोकसेवा पास गर्दैमा आजीवन सफल र सक्षम भन्ने हुँदैन । उनीहरु जुन कार्यक्षेत्र र पदको जिम्मेवारीमा हुन्छन्, त्यो उनीहरुको अग्नी परीक्षा हो, त्यसमा पनि उनीहरुले आफूलाई जनताको पक्षमा उल्लेख्य कार्य गरेर प्रमाणित गर्न सक्नुपर्छ । कुनै एक व्यक्तिले गर्न सक्ने, सिंगो राज्यले त्यही काम या त्यस्तै अनुकरणीय कार्य गर्न किन नसक्ने ? यो आजको अहम् प्रश्न हो ।