बागलुङ नगरपालिका, आञ्चलिक साख र संकेत

सम्पादकीय / नेपालको विकास थिति जे जस्तो छ । यो तत्कालीन समयमा जे जसरी, जुन सोच, आवश्यकताले बनाइयो । त्यो त्यसबेलाको समय, परिवेश, परिपाटीसँग मेल खाएको थियो होला । तर, अहिले समय मात्र होइन, सिंगो व्यवस्था बदलिएको छ, समयसँगै मानिसहरुको सोच बदलिएको छ, आवश्यकता बदलिएको छ । बदलिएको छ अनेकन विषय, पात्र र प्रवृत्ति । र त वर्षौदेखि अभ्यास हुँदै आएको विकास परम्परा, अभ्यास आजको समाज र समयमा कामयावी नहुने अवस्था पैदा भएको छ । नेपाली क्यालेण्डरमा नयाँ वर्ष वैशाखमा सुरु भएर चैत्रमा सकिने भए पनि आर्थिक वर्ष भने भिन्न हिसाबको छ । श्रावणमा आर्थिक वर्ष सुरु भएर असार मसान्तमा सकिने परिपाटीमा अनेकौ विकृति, विसंगति, प्रश्न र संशयहरु देखा परेका छन् । जसबारेमा तीन तहको सरकारले गम्भिरतापूर्वक समिक्षा, बहस, चिन्तन, मनन र पुर्नविचार गर्न समेत जरुरी देखिएको छ ।

पछिल्लो केही समय यता केही स्थानीय तहले आर्थिक वर्ष सकिने बिन्दुमा असारे विकासलाई बढावा दिने अभ्यासमा सुधार प्रयास गरेका छन् । त्यो विगतका वर्षमा बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका लगायतले राम्रो अभ्यास गरे । जसका कारण समयमै योजना सम्झौता मात्र होइन, योजना समयमै सम्पन्न गरेर दीगो विकास र बिनियोजित बजेटको सही सदुपयोगमा पनि असल अभ्यास गरेको पाइएको थियो । अहिले नयाँ जनप्रतिनिधि आए पश्चात योजना तथा बजेट कार्यान्वयमा बागलुङ नगरपालिकाले पनि कडाइ गर्ने संकेत गरेको छ । साउनदेखि नै नयाँ आवको बजेट कार्यान्वयन सुरु गरी मङ्सिर मसान्तभित्रैमा योजना सम्झौताको नीतिगत प्रबन्ध गर्नु सकारात्मक कुरा हो । अब मङ्सिर मसान्तसम्ममा सम्झौता नभएका र खरिद प्रक्रियामा नगएका सर्शत तर्फका योजना बाहेकको बजेट स्थानीय सञ्चित कोषमा जानेछ । हिउँदे अधिवेशनबाट स्वीकृत भएका र सशर्ततर्फका योजना पनि फागुन मसान्तभित्रैमा सम्झौता गरिसक्नुपर्नेछ । भलै यसको कार्यान्वयन कति प्रभावकारी ढंगले गर्छ ? त्यो हेर्न एक वर्ष पर्खिनुपर्नेछ ।

बागलुङ नगरपालिका, संघीय अभ्यासको अनुक्रममा जन्मिएको पालिका मात्र होइन । यो सँग जिल्ला र साविक धौलागिरी अञ्चल हुँदाको गर्विलो सदरमुकामको साख छ । यो साखलाई जोगाएर आञ्चलिक रुपमै बागलुङ नगरपालिकाले उदाहरणीय र नेतृत्वदायक भूमिका निर्वाह गर्न जरुरी छ । तर, विगतमा विकास या अरु हिसाबले पनि भूमिका फितलो देखियो । अहिले नयाँ जनप्रतिनिधिको रुपमा मेयर, उपमेयर सहितको युवा नेतृत्व पालिकामा आएको अवस्थामा विगतका कमीकमजोरी, फितलो भूमिका बदल्ने गरी अघि बढ्ने सामथ्र्य र नेतृत्व कौशल प्रदर्शन गर्न सक्नुपर्छ । हुन त जनप्रतिनिधि निर्वाचित हुँदाको सुरुवातका केही समय चहल पहल दिने तर, समयक्रमसँगै अनेकन विवाद, प्रकरणमा मुछिएर सामाजिक रुपमा बदनामी र आलोचित हुने आम प्रवृत्ति बनेको छ । यसबाट बागलुङ नगरपालिका सहित सबै जनप्रतिनिधि जोगिनु पर्छ । र जनता र समाजमा केही न केही देखिने ठोस कर्म र सेवा प्रवाहको अमिट छाप छोड्न सक्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *