प्रणाली कमजोर बनाउने प्रधानमन्त्रीको कदम

सम्पादकीय/ प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकमा सबै भन्दा धेरै पटक प्रधानमन्त्री बन्ने किर्तिमानी व्यक्ति हुन् । ज्योतिषले ७ पटक सम्म प्रधानमन्त्री हुने घोषणा गरेको उनको जिकिर पनि छ । यद्यपि, उनले प्रधानमन्त्रीको आसनमा पुग्दाका बखत अपनाएको कदम र आसनमा पुगिसके पछि गरेको गतिविधि भने सुखद छैनन् । कहिले माघ १९ जस्तो कालो दिनको पृष्ठभूमिसँग जोडिएको छ कहिले अनेकन विवादास्पदक प्रकरणमा जोडिएर उनी र सिंगो सरकार बदनाम भएको इतिहास छ । यसपटक पनि उनी प्रमुख प्रतिपक्ष दलको कुर्चिबाट एकाएक दुई तिहाइको कम्युनिष्ट सरकार ढलाएर प्रधानमन्त्रीको आसनमा पुगे । यसका लागि सर्वोच्च अदालतले परमादेशन नै जारी गरेर गठबन्धन सरकार बनाउन निर्णायक भूमिका खेलिदियो । जसका कारण वर्तमान सरकारलाई सत्ताबाट बर्हिगमनमा परेको एमालेले आफ्नो जनादेशको सरकार ढालेर परमादेशको सरकार ल्याइएको जिकिर अझै गरिरहन्छ ।

प्रधानमन्त्री देउवा भाषण कम गर्छन् । पार्टी सभापति या सरकार प्रमुखका रुपमा पटक पटक पुगिरहेका पनि छन् । सत्ता कुटनीतिमा माहिर मानिएका उनी सत्ता सञ्चालनमा भने कतै न कतै चुकिरहेका छन् । र त पाँचौ पटक प्रधानमन्त्री भइसक्दा पनि नेपाल र नेपालीजनले सम्झिरहने कर्म खोज्दा निकै घोत्लिनु पर्ने अवस्था छ । बरु एक पछि अर्को मनोमानी र विवादस्पद निर्णय र कदम स्मरणमा आउछन् । उनले देशको सत्ता बागडोर सम्हाले पछि विवादस्पद र सर्वत्र आलोचना भएको एमसीसी बहुमतबाट पास गरियो । त्यसलगत्तै एसपीपी पनि पास गरियो । अहिले विवादास्पद नागरिकता बिधयेक बहुमतबाटै पारित गरिएको छ । अर्को तर्फ देउवा उनकी धर्मपत्नी आरजु देउवाको भाषण र कार्यशैलीका कारण समेत आलोचित छन् । अहिले प्रधानमन्त्री देउवा फेरि स्वकीय सचिव भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पहिलो नम्बरमा बढुवा गरेर आलोचित छन् । उनलाई १ नम्बरमा बढुवा सिफारिस गर्न गृहमन्त्री बालकृष्ण खाण पनि सकरात्मक थिएनन् । तर बालुवाटारको दबावमा नियमावली नै संशोधन गरेर उनी शीर्ष स्थानमा बढुवा सिफारिसमा परेको समाचार सार्वजनिक छ ।

जब सत्ता सञ्चालक, नेतृत्वकर्ता आफ्नो आडम्बर, अंहकार र ठाडो निर्देशनबाट मनपरी निर्णय गर्न थाल्छ, कदम चाल्छ । त्यो देशको प्रणाली कुन हालतको होला ? प्रष्ट हुन्छ । अहिले डीएसपीमा निकै पछाडि रहेका अधिकृत एकैपटक कसैको आर्शिवाद या निगाहमा अगाडि ल्याउँदा त्यसले समग्र सुरक्षा व्यवस्थापन र प्रणालीमा कस्तो बेथिति ल्याउला ? सोचनीय छ । हुन त वर्तमान गठबन्धन सरकारले अघिल्लो केपी शर्मा ओलीको सरकारलाई प्रतिगामी करार गर्दै अग्रगामी सरकार घोषणा गरेको थियो । अहिले सरकारका यी र यस्ता निर्णय र कार्यशैली हेर्दा अग्रगामी होइन, प्रणाली ध्वस्त गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका संवेदनशील मुद्धामा समेत हठात निर्णय गर्ने कुराले सत्ता आशक्ति र उपयोगको भोक बाहेक अरु केही देखिन्न । जनता र देशका सवाल बिर्सेर बिभिन्न स्वार्थ समूहको लाभमा लाग्ने सरकार, प्रधानमन्त्री, मन्त्रीहरुबाट यो नेपाल र नेपाली आजित भइसकेका छन् । अतः व्यक्ति होइन, प्रणाली बलियो बनाउने दिशामा सरकार अघि बढोस् । जसमा सरकार र प्रधानमन्त्री स्वयंम्को पनि कल्याण नै हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *