धौलागिरी क्याम्पस, शत प्रतिशत नतिजा र सन्देश

सम्पादकीय/ पछिल्लो समय विश्वविद्यालय, क्याम्पसहरुको शैक्षिक उपलब्धि अर्थात उतिर्ण दर खस्कदो छ । चाहे त्यो त्रिभुवन विश्वविद्यालयको होस् या यसका आंगिक क्याम्पसका बिभिन्न संकायहरुको होस् । उच्च शिक्षामा विद्यार्थीको आकर्षण एकातिर घट्दै गइरहेको देखिन्छ भने अर्को तर्फ अध्ययनरत विद्यार्थी पनि उत्कृष्ट अंक र नतिजा प्राप्तिमा बिफल देखिन्छन् । कतिपय संकायमा त उतिर्णदर शुन्य भएको समाचार पनि बेला बखत सार्वजनिक भइरहेका छन् । यी तथ्य र विषयले के देखाउँछ भने नेपालको शैक्षिक प्रणाली आजको दिनमा न त समसामयिक छ, न त वैज्ञानिक र व्यवहारिक छ । जसका बारेमा गम्भिरतापूर्वक अध्ययन, बिश्लेषण, बहस, चिन्तन, मनन सरकार र सरोकारवालाका बिचमा हुन सकिरहेको छैन । भए पनि त्यो केबल कर्मकाण्ड र औपचारिकतामा सीमित हुन पुगेका छन् ।

तर, यी र यस्तै निराश खबर र निराशाजनक शैक्षिक अवस्थाका बीच धौलागिरीको एक मात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पस बागलुङले एक संकायमा भने चामत्कारिक नतिजा हासिल गरेको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार क्याम्पसले बिबिए पाँचौ सेमिस्टरमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ । २०७५ सालबाट बिबिए अध्यापन गराउन थालेको धौलागिरी क्याम्पसले सबै समेष्टरको परीक्षामा ८० प्रतिशत माथि नतिजा ल्याउदै आएको थियो । बिबिएको पहिलो व्याच अहिले सातौ सेमेष्टरमा अध्ययन गरिरहेका छन् । अहिले त्रिभुवन विश्वविद्यालयले निकाले नतिजा पाँचौ सेमिस्टरको हो । जुन परीक्षामा २८ जना सम्मिलित भएकोमा शत प्रतिशत उत्कृष्ट जिपिए (३.९२ देखि न्यूनतम ३.३१) सहित पास हुनु देशभरका क्याम्पस र शैक्षिक संस्थाका लागि उदाहरणीय कार्य हो । गण्डकी प्रदेश स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा शत प्रतिश पास हुनेमा धौलागिरी क्याम्पस मात्रै हो ।

धौलागिरी क्याम्पसकै अरु संकायको नतिजा हेर्ने हो भने त्यति सुखद छैन । यद्यपि, बिबिएका सबै सेमेष्टरमा विद्यार्थीहरुको सफलता र नतिजाले विद्यार्थीहरुमा पठन संस्कृति बढाउन ठूलो उर्जा र प्रेरणाको रुपमा अवश्य काम गर्नेछ । अब अरु संकाय सुधार्न पनि बिबिएको सफलताले सहयोग र दबाब दुवै हुनेछ । पछिल्लो समय त १२ पास गरे पछि आएलटिएस गरेर विदेशिने विद्यार्थीको लहड छ । जसले कक्षा १२ पछिको अध्ययनको निरन्तरतामा होइन, विदेश जाने र पैसा कमाउने तर्फ चौतर्फी ध्यान केन्द्रित गर्ने गरेको छ । जसलाई हाम्रो समाज र अभिभावकले समेत प्रत्यक्ष अप्रत्यक्ष बढावा दिइरहेका छन् । फलस्वरुप विश्वविद्यालयका माथिल्ला कक्षा र संकायहरुमा विद्यार्थी रित्तिने क्रम बढेको छ । यस परिस्थितिमा विद्यार्थी पढ्न आउने, पढ्न आएकाले उत्कृष्ट बन्ने बनाउने गरी पढाउने या अध्ययनको वातावरण भए धौलागिरी क्याम्पसले जस्तो नतिजा आउँदो रहेछ भन्ने प्रष्ट देखिएको छ । पछिल्लो समय विश्वविद्यालय बदनाम हुनुको अर्को कारण राजनीतिको खेलमैदान र भर्ति केन्द्र बनाउनु पनि हो । यसबाट समेत जोगाएर पवित्र शैक्षिक स्थललाई दक्ष जनशक्ति तयार गर्ने गन्तव्य र केन्द्र बनाउन अपरिहार्य छ । यो सहज र सम्भव छ भन्ने धौलागिरी क्याम्पस र त्यसमा अध्ययनरत बिबिएका विद्यार्थीले निकालेको नतिजा सुन्दर उदाहरण हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *