बागलुङ, विकास र बेवास्ता

सम्पादकीय/ बागलुङ पश्चिमी जिल्लामा केही पछि परेको क्षेत्र हो । साविकको धौलागिरी अञ्चल सदरमुकाम –पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ)को केन्द्र हो । तर, अहिले विकास, पूर्वाधार, पर्यटन लगायतका हिसाबले अरु तीन जिल्लाले उल्लेख्य छलाङ मारिसकेका छन् । पर्वत त भूगोलको जटिलतालाई चारै तर्फ पुलै पुलले जोडेर पर्यटन भित्राउन, त्यसबाटै पहिचान दिलाउन प्रयासरत छ भने म्याग्दी र मुस्तातङ पनि पर्यटन, पूर्वाधारबाट अब्बल बनाउने कोशिसमा छ । केन्द्रीय र प्रादेशिक सरकारको बजेटको मात्रा पनि तीन जिल्लामा अधिक भित्रिने गरेको छ । जसको तुलनामा बागलुङ जिल्ला कमजोर देखिरहेको छ । ठूला राष्ट्रिय योजना, बजेट भित्राउनेमा मात्र होइन, जिल्लाका ठुला अलपत्र योजना, आयोजना समेत वर्षौदेखि अलपत्र अवस्थामा छन् । जसका बारेमा जिल्लाका राजनीतिक दल, प्रशासनिक निकाय, नागरिक समाज लाचार जस्ता छन् ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको बेहाल वर्षौदेखि अलपत्र छ । हिउँदमा धुलाम्य र अहिले बर्खामासमा हिलाम्य अवस्थाले दैनिक सयौं यात्रुले सास्ती खेपिरहेका छन् । अहिले पनि बागलुङ बजारदेखि बिहुँ सम्मको लोकमार्गको दुई खण्डमा पटक–पटक म्याद थप गरिन्छ । तर, अपेक्षित उपलब्धि हासिल हुन सकिरहेको छैन । यसमा जिल्लाका राजनीतिक दल, प्रशासनिक निकायका प्रमुख, अरु सरोकारवालाले आवाज नउठाएको होइन । आवाज उठाउँदा पनि सुनुवाई भएन, सम्बोधन हुन सकेन । जिल्लाबाट त्यो उचाई या सशक्त पहुँच राख्ने विकासप्रेमी नेताको अभाव बागलुङ जिल्लाले वर्षौदेखि बेहोरिरहेछ । मध्यपहाडी लोकमार्गको दुरदुराजको खण्ड समेत कालोपत्रे हुँदा सदरमुकामकै आसपासको सडकको यो दुर्दसा प्रति राज्य किन यति विघ्न उदासिन छ ? बुझिनसक्नुको छ । जिल्ला भित्रको अर्को योजना बागलुङ बसपार्क पनि अनेकन विवाद र अल्झनमा छ । र लामो प्रयत्न पछि निर्माण सम्पन्न भएको अवस्थामा पनि सञ्चालनमा अन्यौलता कायमै छ । बागलुङ नगरपालिकाले लामो प्रयास र नगर विकास कोषको चर्को व्ययभारमा निर्मित आधुनिक बसपार्क अझै प्रयोगमा आउन नसक्नुको खास कारणबारे नगरबासी बेखबर छन् । बरु उल्टै नवनिर्मित बसपार्कका संरचना नै नासिने जोखिम बढेको छ । पार्किङस्थलको कालोपत्र उप्कन थालेको छ । पशुचौपाया डुल्ने र केटाकेटी खेल्ने थलो बनेको छ । बागलुङको अर्को महत्वपूर्ण पूर्वाधार बलेवा विमानस्थल पनि सञ्चालनको पखाईमा छ । बागलुङ–१४ स्थित उक्त विमानस्थल कालोपत्र गरिएपछि नियमित उडानका लागि तयारी अवस्थामा छ । तर, केही वर्ष अघि मात्र सञ्चालन भएर बन्द भएको विमास्थलन पुनः सञ्चालन र निरन्तरताका लागि अझै ठोस योजना र आधार तयार भएको देखिदैन ।

आञ्चलिक सदरमुकामको साख बोकेको बागलुङ जिल्ला सम्भावनायुक्त क्षेत्र हो । तर, राष्ट्रिय गौरवका आयोजनादेखि जिल्ला भित्रैका महत्वपूर्ण योजना, आयोजना समेत वर्षौदेखि अलपत्र पर्दा धेरै पछि परिसकेको अवस्था छ । जसको सत्ता र शक्तिमा पहुँच पुग्छ, उही बजेट पर्ने देशको बेथितिमा हाम्रा जिल्लाको सत्ता, संसदको बागडोर सम्हाल्ने अवसर पाएका राजनीतिक दल, नेताहरु पनि उच्च स्तरको नेतृत्वको आभाष दिलाउन सकेका छैनन् । जसको मार बागलुङ जिल्लाले निरन्तर खेपिरहेको छ, खेपिरहनु पर्ने खतरा देखिन्छ । स्थानीय सरकारहरु पनि टुक्रे योजनामा सन्तोष मान्ने अवस्थामा उभिदाँ स्थानीय स्तरमा पनि दिगो विकास र सुधार हुन सकिरहेको छैन । तसर्थ, अब पनि पुरानै प्रवृत्तिको पुनर्रावृत्ति नहोस् । राष्ट्रिय गौरवका आयोजना र जिल्लाका महत्वपूर्ण योजनाहरुलाई पूर्णयता दिइयोस् । समयमै काम, त्यो पनि दिगो र योजनावद्ध ढंगले हुन सकोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *