अपत्यारिलो अप्रिय घटनाको पाठ

सम्पादकीय
सोमबार साँझ एकाएक दुःखदायी खबर सार्वजनिक भयो । जुन झट्ट सुन्दा पत्यार नलाग्ने खालको थियो । तर, घटना भइसके पछि नपत्याई धरै थिएन । पछिल्ला समय यस्ता घटनाहरु भइरहेका छन्, जुन सुन्दा अपत्यारिलो लाग्छ । यद्यपि, सत्य घटनाहरुले नेपाली समाजको बदलिँदो मात्र होइन, डरलाग्दो बन्दैछ भन्ने प्रष्ट संकेत गर्छ । यस्तै घटना मध्येको सायदै सुनिएको थियो, कुनै बाबुले आफ्नो नाबालक सन्तानलाई अनकन्टार जंगलमा लगेर छोड्छ । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपरान्ह जङ्गलमा लगेर छाडिदिएको, सिंगो रात बच्चा बेवारिसे अवस्थामा रहेको र भोलिपल्ट भेटिएर उद्धार पश्चात उपचारका क्रममा ज्यान गएको घटनाले सिंगो देश तरंगित छ । अन्ततः आफ्नै बुबाका कारण एक १५ महिने छोरीले अनाहकमा ज्यान गुमाउन बिबश बनेकी छिन् ।

आफ्ना श्रीमान दीपकलाई छोरी हेरचाहको जिम्मा लगाएर खेतबारीको काममा गएकी थिइन् सरस्वती बोहोरा । उनका श्रीमानमा ठुलो मानसिक समस्याको पनि कुनै छनक थिएन । यति हो उनी रक्सी खाए पछि अलि भिन्न स्वभावमा प्रस्तुत हुन्थे । यही कारणले श्रीमानलाई अविश्वास गर्ने कुरा पनि भएन । उसो त दीपकले छोरी हेर्ने जिम्मा लिए । तर, सदा जस्तै गाउँ हुँदै जंगल तिर गएका उनी छोरी साथ लिएर फर्केनन् । बरु उनी स्वयंम् अस्वभाविक निर्वस्त्र भएको अवस्थामा खोजी गर्ने क्रममा म्याग्दी रत्नेचौरमा भेटिए । छोरीको त्यस रात खोजी जारी राखे पनि भेटाउन सकिएन । शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जङ्गलमा भेटिएकी थिइन् । त्यो पनि घाँस काट्न गएका स्थानीयले बच्चा रोएको आवाज सुने पछि अवस्था पत्ता लाग्यो । त्यहाँबाट तत्काल उद्धार गरेर बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गरियो । त्यतिबेलै बच्चाको अवस्था क्रिटिकल भएकाले धौलागिरी अस्पताल लैजाने सुझाव सहित लगियो । यद्यपि, अस्पतालमा ल्याउदाँ मृत्यु भइसकेको चिकित्सक बताइरहेका छन् भने परिवारका सदस्य र आफन्त अस्पताल ल्याएको १५,२० मिनेट सम्म पनि परीक्षण नगरिएकाले संवेदनशील विषयमा लापरवाही हुँदा बच्चाको ज्यान गएको जिकिर गरिरहेका छन् ।

यस घटनामा गम्भिर लापरवाही या अपराध बालिकाकी पिताले नै जंगल बिचमा लगेर छोडेर गरे । यसमा उनको नियत भन्दा पनि मानसिक स्वास्थ्यको समस्या कारक रहेको अनुमान छ । यसको तथ्य विस्तारै समयक्रममा खुल्ला । तर, यस घटनाबाट केही पाठहरु भने जरुर गम्भिरतापूर्वक नेपाली समाजले ग्रहण गर्न आवश्यक छ । हाम्रा घर या समाजमा पारिवारिक दरार, तनाव या अरु कारणले मानसिक समस्या डरलाग्दो रुपमा बढ्दो छ । यसको समयमै पहिचान, परीक्षण र उपचार गरिएन भने यी र यस्तै घटनाका शिकार भर्खर जन्म लिएकाहरु कोपिलामै चुँडिनुपर्छ, त्यो पनि आफ्नै माता, पिताका हातहरुबाट । यस्तो दुर्भाग्यपूर्ण घटना, परिघटनामा दुःख मात्र व्यक्त गरेर दायित्व पुरा हुँदैन । हामी सबैले आ आफ्ना तर्फबाट समाजमा हुने अपत्यारिला अपराधजन्य घटना निरुत्साहित गर्न सचेतना, जागरणका साथै अरु प्रत्यक्ष परोक्ष भुमिका पनि खेल्नु पर्दछ । अस्पतालहरुले पनि यस्ता संवेदनशील घटनामा तत्काल सम्भाव्य यथोचित परीक्षण र उपचारमा कुनै कसुर बाँकी राख्नु हुँदैन । जसका कारण पीडित परिवारले अस्पताल, चिकित्सक प्रति प्रश्न उठाउने ठाउँ नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *