पोखरा, प्याराग्लाइडिङ र विस्थापनको पिर

सम्पादकीय
पोखरा पर्यटकीय सहर हो । तालै ताल र मनमोहक दृश्यहरुले सुसज्जित पोखरा पुग्नेहरु जो कोही नतमस्तक हुन्छन्, सौन्दर्यता देखेर लोभिन्छन् । पोखराको सुन्दरता र पर्यटनसँगै अर्को आकर्षण र विशेषता प्याराग्लाइडिङ हो । सराङ्कोटको डाँडाबाट उडान भरेर पोखरा शहर, तालतलैया, हराभरा जंगल लगायतका स्थल अवलोकन गर्न मात्रै पनि आउने बाह्य र आन्तरिक पर्यटक धेरै नै छन् । उसो त पोखराको प्याराग्लाइडिङ विश्वमै चर्चित मानिन्छ । अहिले भने सर्वत्र चर्चा कमाएको पोखराको प्याराग्लाइडिङ हालै निर्माण सम्पन्न अन्र्तराष्ट्रिय विमानस्थलका कारण विस्थापित हुने खबरले पर्यटन व्यवसायी चिन्तित छन् । यसको भविष्य के हुने भन्ने पिरलो चौतर्फी भइरहँदा सरकार र यसका आधिकारिक निकायहरुले भने यसको विकल्पका बारेमा यथोचित कदम चालेको देखिएको छैन ।

यही अंग्रेजी नयाँ वर्ष जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने सरकारको उद्घोष छ । यही मुताविक नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले पुस १७ गतेदेखि विमानस्थल खुला गर्ने निर्णय गरिसकेको छ । अब बहुप्रतिक्षित अन्र्तराष्ट्रिय विमानस्थल गण्डकी प्रदेश, यसको राजधानी पोखरामा सञ्चालन हुनु सुखद र सकारात्मक खबर हो । यद्यपि, यसको सुरुवात सँगै प्याराग्लाइडिङ विस्थापन हुने खबरले खुसीसँगै चिन्ता मिश्रित छ । अहिले पोखराको प्रमुख पर्यटकीय आकर्षण प्याराग्लाइडिङ हो । अहिले पनि दैनिक १ हजारभन्दा बढी पर्यटकले प्याराग्लाइडिङ उडान भरिरहेका छन् । यो क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलको एअरस्पेस भित्र पर्छ । कुनै प्लेन ल्यान्ड गर्न नसकेर आकासमा घुम्नुपर्ने अवस्थामा सराङकोट क्षेत्र नै विकल्प भनिएको छ । यसले पोखरादेखि प्याराग्लाइडिङ विस्थापन हुने मात्र होइन, समग्र देशकै पर्यटन अर्थतन्त्रलाई असर गर्ने खतरा बिद्यमान छ । यस्तो गम्भिर विषयमा विमानस्थल सञ्चालन गर्ने मिति तय गरिसक्दा समेत हवाई खेलकुद संस्था (ना)ले पोखरेली प्याराग्लाइडिङको विकल्पबारे आफूहरुलाई प्राधिकरणले अझै सम्म पनि आधिकारिक जानकारी नदिएको बताएको छ । यो राम्रो कुरा कदापि होइन ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बहस बढ्दो छ । अहिले विश्वका १० मध्ये तेस्रो नम्बरमा पोखराको प्याराग्लाइडिङ पर्छ । पोखरामा जति पर्यटक तालतलैया र हिमाल हेर्न आउँछन्, त्यति नै संख्यामा प्याराग्लाइडिङको मजा लिन आउने पनि धेरै छन् । पोखराको पर्यटनलाई गुल्जार बनाइ राख्न प्याराग्लाइडिङको भूमिका अभूतपूर्व छ । यो पोखरा पर्यटनको इकोसिस्टम नै हो भन्दा पनि फरक पर्दैन । पोखरामा र प्याराग्लाइडिङ एकआपसको परिपुरक ब्रान्ड भइसकेको छ । अन्यत्र लैजाँदा यही किसिमको आकर्षण र उभार नआउन सक्छ । यहाँका पर्यटन व्यवसायीले अझै पनि पोखरामै विधि, प्रविधि सहित विकल्प खोजी हुनुपर्ने बताइरहेका छन् । सरकारले यदि पोखरामै विकल्प देखिन्छ भने त्यसको सम्भावित विकल्पमा यथासक्य कदम चाल्नुपर्छ । होइन, यहाँ कुनै सम्भावना नै रहदैन भने यसको समयमै यथोचित विकल्प र स्थल खोजिनु पर्छ । सरकार र यसका निकायले द्धिविधा र अन्यौलता तोड्नै पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *