निहारिका राजपुतको चित्कार

सम्पादकीय
एक नारी आफ्नो न्यायका निम्ति एक्लै संघर्षरत छन् । यसक्रममा उनले सम्बन्धित सबैजसो निकायमा न्यायको ढोका ढकढकाइन् । अनेकन प्रयास गर्दा पनि सुनुवाई नभएर आजित भए पछि आमरण अनसन बसिन् । र पनि सरकार र यसका निकायले उनको माग, आवाजलाई बेवास्ता गरिरह्यो । अन्ततः ती युवतीले राष्ट्रपति कार्यालय अघि नै आत्मदाह त्याग गर्ने दुश्प्रयास गरिन् । कुमारी आमा’ अर्थात् सोनालकुमारी सिंह (निहारिका राजपुत) । जलेश्वर नगरपालिका–८, महोत्तरीकी २१ वर्षीया निहारिका आफूमाथि बलात्कार भएको भन्दै २९ महिनादेखि न्यायको भिख माग्दै भौंतारिइरहेकी छिन् । र उनको थप गहन अनुसन्धान सहित डिएनए परीक्षण ।

धनुषाको जनकपुरधाममा डेरा बसी होटल म्यानेजमेन्ट पढ्दै गरेकी निहारिकाको आफ्नै साथीका कारण उनका दाइ २२ वर्षीय शिवराज श्रेष्ठसँग चिनजान भयो । उनै शिवराजले २०७६ कात्तिक ६ गते शिवराजले नसालु पदार्थ खुवाएर आफूलाई बलात्कार गरेको निहारिकाले बताउँदै आएकी छन् । उनका अनुसार बलात्कारपछि शिवराजले नग्न तस्बिर लिएको र त्यहीँ तस्बिर सार्वजनिक गर्ने भन्दै धम्क्याएर यौन सम्बन्ध राख्दै आएको उनको दावी छ । जब अबैध सम्बन्धबाट निहारिकाको पेटमा गर्भ बस्यो । गर्भबारे निहारिकाले जानकारी गराउँदा शिवराजले उल्टै तिरस्कार गरे । सम्पन्न परिवारकी छोरी निहारिकाले हिम्मत जुटाएर आफ्ना अभिभावकसँग बताउँदा परिवारले घटना बाहिर ल्याउन मानेन, उल्टै समाजमा इज्जत जाने डरले गर्भपतन गराउन दबाब दियो । परिवारले दिएको दबाब नमानेपछि उनलाई आफ्नै परिवारले समेत बहिष्कार गर्ने परिस्थिति बन्यो । त्यसपछि उनले आफूमाथि अन्याय भएको जिकिर सहित २०७६ फागुन १९ गते शिवराजविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइन् । ‘ललाइफकाई बन्धक बनाएर बलात्कार गरेको’ जाहेरी पछि शिवराज पक्राउ परे पनि । थुनछेक बहसमा जिल्ला अदालत धनुषाले शिवराजलाई पुर्पक्षका लागि जेल चलानसमेत गरेको थियो । मुद्धा चल्दै गर्दा निहारिकाले पेटमा हुर्कदै गरेको बच्चालाई जन्म दिइन् । २०७८ माघ २४ गते जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले मुद्दाको फैसला त सुनायो । जुन फैसलामा निहारिका बलात्कृत नभएको ठहर ग¥यो । शिवराजले सफाइ पाए र पुर्पक्षका लागि थुनामा रहेका उनी छुटेका छन् ।

अब यो मुद्धाका हिसाबले हेर्दा अदालत मार्फत टुंगिएको छ । यद्यपि, जिल्लाबाट फैसला भए पनि उच्च र सर्वोच्च जाने ढोका खुल्लै छ । अर्को तर्फ महिलाका हिसाबले हेर्दा थप जटिलता खडा भएको छ । एक महिलाले डिएनए परीक्षणको माग गर्दा गर्दै इतर पक्षमा अदालतले फैसला सुनाइदिएको छ । जसले कुमारी आमा (श्रीमान), जन्मिएको सन्तान (बाबु) पहिचान बिहिन बनेका छन् । बलात्कार जस्तो जघन्य अपराधबाट रहेको गर्भबाट जन्मिएको दुई वर्षीय छोरा रहेको अवस्थामा एक्लै न्यायका लागि भौंतारिनु पर्ने अवस्था किन छ ? यदि उनी गलत हुन् भने त्यसको चित्त बुझ्दो तथ्य र कारण (उनले भनेको डिएनए परीक्षण)मा किन बेवास्ता गरिएको छ ? सरकार र यसका निकायहरु किन यति संवेदनहीन र गैरजिम्मेवार ? एक महिलाले राष्ट्रपति भवनकै अघिल्तिर पेट्रोल छर्केर आत्मदाह गर्ने बाध्यात्मक परिस्थिति आउनुले यो देशमा बिधिको शासनको हालत कुन स्तरमा होला ? सरकार र यसका निकायले यो विषय र घटनालाई गम्भिरतापूर्वक लिएर आवश्यक कदम चाल्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *