स्वतन्त्र उम्मेदवारको अमर्यादित जुहारी

सम्पादकीय
नेपालमा पछिल्लो एक वर्षमा ‘स्वतन्त्र’ शब्द सर्वाधिक सुनिए । नेपाली राजनीतिमा देखिएका भद्धा, बिकृत र बेथितिग्रस्त दृश्यले आजित नागरिक यो शब्दमा विकल्प देख्न थाले । मुलुकको विकास र परिवर्तन गर्ने मुल नीति राजनीति नै भए पनि नेपालका राजनीतिक दल र नेताहरुलाई सबक सिकाउन अपरिहार्य जस्तो भइसकेको थियो । यसको उपर्युक्त समय या अवसर यसपटकको स्थानीय तह निर्वाचनमा धेरथोर नागरिकले उपयोग गरेर देखाइदिए । काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगर पालिका लगायतमा स्वतन्त्र उम्मेदवारलाई शानदान मत सहित बिजयी बनाए । राजनीतिक दल, चुनाबी गठबन्धन गरेका दलहरुलाई समेत जनताको अपार समर्थनमा लज्जास्पद रुपमा माथ खुवाइदिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरमा बालेन शाहले चामत्कारिक जित हासिल गरे । धरान उपमहानगरमा वर्षौदेखि खानेपानीको मुद्धा उठाउदै आएका हर्कराज साम्पाङले दलका किल्ला भत्काए । अरु स्वतन्त्रले पनि धेरै ठाउँमा जित हासिल गरे । यद्यपि, उनीहरु असली स्वतन्त्र भन्दा पनि कुनै न कुनै रुपमा राजनीतिक दल या तीनको समूहको स्वार्थ र समर्थन प्राप्त थियो । चुनावमा स्वतन्त्रको चामत्कारिक जित पछि केही आशा र केही आशंका स्वभाविक थियो । आशा यो अर्थमा थियो कि राजनीतिक दलहरु बिचको फोहोरी राजनीतिले विकास र परिवर्तन गतिहीन बन्यो । आशा, अपेक्षाको बदलामा नागरिकमा घृणा र आक्रोश पैदा हुने अवस्था बन्यो । अहिले घृणित राजनीति र आरो प्रत्यारोपको यस्तो बिडम्बना राजनीतिक दल हुँदै स्वतन्त्र रुपबाट चुनावमा निर्वाचित भएका जनप्रतिनिधि मेयरमा समेत देखिएको छ । धरान उपमहानगरका मेयर हर्कराज साम्पाङले राजधानी आएदेखि धरान फर्किदा सम्म काठमाडौंको फोहोरको विषयमा अनेकन स्टाटस लेखे । यो क्रम यति सम्म पुग्यो कि उनले महानगरका मेयर बालेन्द्र साह प्रति संकेत गर्दै काठमाडौंको फोहोर उठ्न सुरु हुनु पनि आफ्नो आगमनलाई श्रेय दिए । यसमा टिप्पणी गर्दै बालेनले लेखे, ‘तपाईंकै चुनाव चिन्ह लौरो लिएर मैले चुनाव पनि जितेको हो नि !’

यसले दुई स्वतन्त्र मेयरका बिचमा पारस्परिक भेट, संवाद मात्र होइन, उनीहरु बिच राम्रो सहकार्य र सम्बन्ध छैन भन्ने पुष्टि मात्र हुँदैन । एक अर्काको असली प्रगति र सफलता पनि अरुचिकर लाग्न थालेको त होइन ? भन्ने संशय समेत देखिएको छ । स्वतन्त्रमा पनि कुन स्वतन्त्र हिरो बन्ने भन्ने संकिर्ण सोचको जडताले ग्रस्त भएर फेसबुकमै अमर्यादित शैलीमा पोखिन थालेको त होइन ? उसो त धरानका मेयर फेसबुकमा दैनिक दर्जनौ स्टाटस लेख्छन्, जसका कारण उनको कर्मका प्रंशसकहरु पनि यस खालको गतिविधिले बिच्किन थालेका छन् । यसले उनको कद बढ्ने भन्दा घटाउने नै छ । पछिल्लो जुहारीले त दुई मेयर बिचको सम्बन्ध तित्ततापूर्ण मात्र होइन, स्वतन्त्र उम्मेदवार पनि उही निम्न स्तरको आरोप प्रत्यारोप, कार्यशैलीमा पुगेको आभाष भएको छ । अब निकट चुनावमा स्वतन्त्र उम्मेदवार, स्वतन्त्र अभियान र अभियन्तालाई पनि यसले गम्भिर असर पुग्न सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *