सम्पादकीय
चेलीबेटी बेचबिखनको इतिहास पुरानो हुन थालेको छ नेपाली समाजमा । कुनै बेला भारतको बम्बइ भन्ने बित्तिकै नेपाली चेलीहरुको क्रय बिक्रय हुने ठाउँ र अनेक दुर्दशा भोग्नु देख्नुपर्ने बिडम्बनापूर्ण अवस्था बिद्यमान थियो । पछिल्लो केही समय यता त्यस्तो बाध्यता र बिबशतामा उल्लेख्य कमी आएको छ । यद्यपि, समाजमा गरिबी र अभावका कारण कतै बाध्यता त, कतै लोभलालचमा बालिका, किशोरी र परिपक्व उमेरका महिलाहरु समेत बेचिन र बन्धक बन्न बाध्य भइरहेका छन् । यसको उदाहरणको रुपमा बेला बेला यस्ता घटना भइरहेका छन् कि जसले आजको उन्नत व्यवस्था र चेतनशील समाजमा पनि ललाई फकाई या बाध्यतामा अझै दलालहरु यौन अस्मिताको क्रय बिक्रयमा सक्रिय छन् । जसबाट जुनसुकै समयमा हाम्रा समाजका सोझा साझा, गरिब, विपन्न परिवार प्रताडित हुन सक्ने खतरा कायमै छ ।
गत बिहीबार बागलुङमा एउटा खबर सनसनीपूर्ण रुपमा फैलियो । दिउँसै बालिका ‘अपहरण’मा परिन् । अझ गम्भिर कुरा त यस घटनामा शान्ति सुरक्षाको प्रत्याभुति गराउने प्रहरी जवान स्वयंम् सम्लग्न भएको विषयले समाज त्रासको मनोविज्ञानमा छ । धादिङ घर भई बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरी सुहाना तामाङलाई प्रहरी जवान शंकर आचार्य र जैमिनी नगरपालिका वडा नम्बर ७ की ३६ वर्षीया भगवती क्षेत्रीले ‘अपहरण’ गर्न खोजेको आरोप छ । जुन घटनालाई लिएर उनीहरु पक्राउ समेत परेका छन् । बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा बालिकालाई गाडीमा राखेर उनका बाबा पसलमा गएको बेला प्रहरी जवान आचार्य र ती महिलाले बालिबालाई बुद्ध विहार तिर लैजाँदै गरेको बेला संयोगबश सूचना पाएर स्थानीय र प्रहरीले उनीहरुलाई रोक्न र बालिकालाई ‘अपहरण’बाट जोगाउन सफल रहे । बालिका अपहरणको योजना, यसको अन्तर्यका बारेमा अनुसन्धान जारी छ ।
अनुसन्धानबाट घटनाको पृष्ठभूमि र पर्दा पछाडिका अनेकन योजना, रहस्य र कारण क्रमशः खुल्लान्, जरुर खुल्नुपर्छ । बागलुङ जस्तो पहाडि जिल्लामा समेत बालिका ‘अपहरण’को दुश्प्रयास हुनु सामान्य कुरा होइन । अहिले आरोपितहरु कहाँबाट र कसरी परिचालित छन् ? यसको मुख्य जड कहाँ जोडिएको छ ? यस्तो गम्भिर घटनामा प्रहरी स्वयंम्को सहभागिताले समाजमा के कस्तो सन्देश दिन्छ ? त्यो जिल्ला प्रहरी कार्यालयले यही घटनालाई आधार बनाएर गम्भिरतापूर्वक नपहिल्याउने हो भने अपहरण जस्तो जघन्य अपराधमा सम्लग्नहरुको मनोबल स्वभाविक बढ्नेछ । र समाजमा यी र यस्ता घटनाहरुमा बढोत्तरी हुनेछ । नेपाली आँगनमा हर छोरीहरु मात्र होइन, हर नागरिक निसंकोच, निर्वाध स्वतन्त्र बाँच्न पाउनुपर्छ । राज्यले त्यसको सुनिश्चितता दिलाउनु पर्दछ । राज्य र यसका निकाय यस्ता गम्भिर जघन्य अपराधका घटनाको चुस्त अनुसन्धान र कारबाहीमा चुक्ने हो भने त्यसले भोलिका दिनमा अझै जटिल घटनाहरु निम्त्याउने निश्चित छ ।