निसी घटना : सम्बन्ध दरारको दर्दनाक रुप

सम्पादकीय
नेपाली समाज जति जति जागरुक, चेतनशील, सभ्य, सचेत र शिक्षित बन्दैछ । उति उति अपराधजन्य घटनामा कमी आउनु पर्ने हो । तर, दुर्भाग्य समाजमा हुने अपराधजन्य घटना नयाँ नयाँ क्रुर रुप र शैलीमा बदलिन थालेको छ । सूचना, प्रविधिको जे जसरी तिब्र रुपमा विकास हुँदैछ । यो अपराधजन्य घटनाको कारकको रुपमा देखिन थालेको छ । यसका साथै एक आपसको विश्वास भन्दा बढी आंशका बैमनस्यता मात्र सीमित छैन, एक अर्काको ज्यानै लिने क्रुर अपराध सम्म पुग्न थालेको छ । विशेषतः जीवनभर सँगै बाँच्ने र मर्ने कसम खाएका दम्पतिहरु बिचको सम्बन्धमा यसले डरलाग्दो दरार पैदा गरेको छ । यसले हर सम्बन्धहरुलाई सोचनीय बनाइदिएको छ ।

पछिल्लो साता बागलुङको निसीखोला गाउँपालिकामा भएको घटना र यसको रहस्य खोतल्दा पनि सम्बन्धमा आएको दरार कारक देखियो । २४ वर्षीय श्रीमान तुलबहादुर विकको उनकै २३ वर्षीय श्रीमतीले सँगै सुतिरहेका बेला हत्या गरे । सँगै सुतेका बेला अर्कै युवतीको नाम लिए पछि घटनाले अपराधको रुप लिएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । त्यो पनि यति क्रुर रुपमा कि टाउको एकातिर र शरीर एकातिर बनाएर हत्या भयो । कुनै एक महिलाले यसो गर्न सक्लिन् ? नेपाली समाजमा सायदै कल्पना र विश्वास गरिन्छ । तर, पछिल्लो समय बिभिन्न स्थानमा भइरहेका भयानक यस्ता घटनाले जबरजस्त विश्वास गर्न बाध्य तुल्याएको छ । र सँगै समाजमा सम्बन्धहरुमा किन यति बिघ्न बेथिति सिर्जना भइरहेको छ ? जसले जघन्य अपराधमा पुगेर सुन्दर रुपमा जोडिएका सम्बन्धहरु टुंगिने गरेको छ ? यो निश्चय पनि सोच्न बाध्य बनाइरहेको छ ।

अवैध र अनैतिक सम्बन्ध, मादक पदार्थ सेवन, सामाजिक सञ्जालको दुरुपयोग, भौगोलिक दुरी लगायतका कारण समाजमा दम्पति बिच समस्या बढ्दो छ । अहिले निसी घटनामा दोषिलाई नियमानुसार कारबाही त हुनै पर्छ । यसका अतिरिक्त सामाजिक मनोविज्ञान बुझेर बिश्लेषण गरेर समयमै अघि बढ्न नसक्ने या वर्तमानमा देखिएका बिद्यमान समस्याहरुको समाधानका लागि पहल नगर्ने हो भने भोलिका दिनमा यसले अझ भयानक रुप लिने निश्चित छ । तर, सरकार र सरोकारवाला निकायले यसका लागि यथोचित पहलकदमी लिन सकिरहेको छैन । घटना भइसके पछि दुःख व्यक्त गर्ने, अपराधकर्ममा सम्लग्नलाई पक्राउ गर्ने मात्र राज्यको काम होइन, मुख्यतः यस्ता अपराधजन्य घटना नै हुन नदिने तर्फ विशेष ध्यान जान जरुरी छ । यसका लागि तीन तहको सरकारले सोही अनुरुपको नीति, कार्यक्रम, बजेट, ऐन, कानुन ल्याउनु पर्छ । निसी घटना जस्तो सम्बन्ध दरारको दर्दनाक रुप नेपाली समाजमा कदापि नदोहोरियोस् । यस तर्फ सबैको सचेत र जिम्मेवार नागरिकको भूमिका अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *