तीजको शुभकामना

सम्पादकीय
आज हरितालिका तीज, यो पर्व हिन्दु नारीहरुका लागि एक ऐतिहासिक र पृथक उत्सव हो । अरु चाडपर्वमा गाउँ र सहर, देश र विदेशमा भिन्ना भिन्नै रौनक र उत्साह हुन्छ । तर, तीजमा के गाउँ, के सहर ? के देश, के विदेश ? सर्वत्र महिलाहरुले तीज पर्व हर्षोल्लासपूर्वक मनाउन थालेका छन् । तीज पर्व आज भए पनि महिना दिन अघिबाटै तीजलाई जोडेर दर खाने खुवाउने कार्यक्रम, नाँचगान, जमघट, सांगीतिक साँस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन् । यसले तीज पर्वको दायरालाई फराकिलो बनाउँदै लगेको त छ । तर, यसरी मनाउँदा पश्चिमी संस्कृतिको प्रभाव मिश्रित हुने कतिपय बिकृत प्रवृत्तिले तीज पर्वको महत्व र मौलिकतामा अनेकन प्रश्न र सशंय पैदा भएको छ ।

महिलाहरुको महान पर्वका रुपमा तीजलाई यसकारण लिइन्छ कि ठुलो संख्यामा वर्षभरी संकुचनमा रहेका हिन्दु महिलाहरु यस पर्वमा खुल्छन् या स्वतन्त्र रुपमा खुल्ने अवसर पाउँछन् । पारिवारिक दायित्व, बोझबाट केही क्षण भए पनि मुक्त हुन्छन् । नाँचगान गर्छन्, रंग रमाइलो गर्छन् । अरु समयमा यही कुरा गर्ने हो भने चरित्रहीनको संज्ञा दिने समाजमा महिलाहरुले स्वतन्त्र पूर्वक बाँच्न पनि अनेकन प्रश्न, आरोप र आशंका बेहोर्नुपर्छ । तर, पछिल्लो समय महिलाहरुलाई हेर्ने, बुझ्ने र व्यवहार गर्ने तौरतरिकामा बदलाव आएको छ । तीज पर्वले कुनै न कुनै रुपमा महिला मुक्तिका सवालमा नेपाली समाजलाई रुपान्तरित गर्न भूमिका खेलेको छ । हुन त तीज पर्व महिलाहरुले देवादिदेव महादेवको पूजा आराधना गरेर मनाउँछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने विश्वास गर्छन् । तीजको अघिल्लो दिन दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाएर बिसर्जन गरिन्छ । यस अवधिमा गरिने परम्परागत संस्कार, संस्कृति अनुसारका गतिविधि अध्यात्म सँग मात्र सम्बन्धित छैनन्, विज्ञानसँग अर्थ राख्ने समेत छन् ।

तीज पर्वमा कोही निराहार, कोही जलाहार र कोही फलाहार व्रत बस्छन् । अधिक त श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बस्ने सोच्छन् । तर, तीजमा अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्ति, समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि तीजको व्रत बस्ने शास्त्रीय विधान छ । समानताको अभियान र आन्दोलन लामो समयदेखि चलिरहेको भए पनि महिलाहरु नेपाली समाजमा अझै पछि छन् । यस सन्दर्भमा महिलाहरुलाई थप सचेत, संगठित, एकतावद्ध गर्न गराउन तीज पर्वले महत्वपूर्ण भूमिका खेलिरहेको छ । अरु बेला खुल्न हिच्किचाहट गर्ने, लाज डर र संकोच मान्नेहरु पनि तीजमा धक फुकाएर समाजमा सबैसँग घुलमिल हुने आँट गर्छन् । आफ्ना कुरा राख्ने, नाँचगान लगायतका कला प्रतिभा प्रस्तुत गर्छन् । अतः तीज पहिले भनिने जस्तो केबल बेदनाको पोको फुकाउने पर्वमा मात्र सीमित छैन, आफ्नो अधिकार, सशक्तिकरणका लागि अघि बढ्ने सुन्दर अध्याय पनि बनेको छ । यस पर्वतका अवसरमा सबै हिन्दु नारीहरुमा हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *