सम्पादकीय
नेपाल प्राकृतिक, सांस्कृतिक रुपले जे जति सुन्दर छ, उत्तिकै मात्रामा यहाँ सम्भावना र अवसर पनि छ । तर, मुलुकमा भएका श्रोत,साधनको पहिचान, प्रयोगमा राज्यको यथोचित ध्यान र पहल पुग्न नसक्दा देश अझै परनिर्भरतामा बाँचिरहेको छ । सत्ताको बागडोर वर्षौदेखि सम्हालिरहेकाहरुले देश निर्माण गर्ने अनेक भाषण र आश्वासन दिए । एकपछि अर्को दल सत्तासीन भए । यद्यपि, उनीहरुले यो देश बनाउन भन्दा आफू बन्न र आफ्ना मान्छे बनाउन थाले । जसले सीमित स्वार्थ समूहकै दबदबा हरेकजसो सरकारमा रहिरह्यो । जसले देशमा वर्षौदेखि सानो सियो सम्म आयात गर्नुपर्ने बिडम्बनापूर्ण अवस्थाबाट उल्लेख्य सुधार र विकासको अवस्थामा देशलाई पु¥याउन सकेन । सरकारी तथ्यांकले नेपालमा वार्षिक करिब आठ करोड रुपैयाँबराबरको सियो वा यस्तै (घरायसी र व्यावसायिक दुवै प्रयोजनका) वस्तु आयात भएको देखाउँछ । यद्यपि, अब भने सियो आयात गर्ने नेपालले वार्षिक ७० करोडको कुचो र पौने चार करोडको अचार निर्यात पनि गर्न थालेको सुखद खबर आएको छ । नेपालमा उत्पादित टाँकको माग छिमेकी भारत र चीनमा मात्र होइन, अमेरिका, जर्मनी, नेदरल्यान्ड र हङकङसम्म पुग्न थालेको छ ।
नेपालमा सबैजसो सामान आयात हुन्छ । आयात बढी र निर्यात कम भएकै कारण मुलुकको अर्थतन्त्र यतिबेला पनि संकटान्मुख छ । यद्यपि, विगतको तुलनामा केही ससाना सार्थक पहल र प्रयासहरु भएका छन्, जसले नेपाललाई पूर्ण परनिर्भरताको परिचय बदल्दिएको छ । नेपालका लघु, घरेलु तथा साना उद्योगमा उत्पादित सामग्री छिमेकी भारतदेखि युरोप–अमेरिकासम्म निर्यात हुन थालेको छ । भन्सार विभागको एक तथ्यांक अनुसार छुर्पी (कुकुर र बिरालोको खाना)– २ अर्ब ९१ करोड १९ लाखको निर्यात भएको छ । कुचो (अम्रिसो, बाँसलगायतको)– ७१ करोड ८९ लाख र २९ लाखको टाँक निर्यात भएको छ । कपाल– २ करोड १६ लाख, यार्सागुम्बा– ३० करोड ९२ लाख, डाइपर– ८ करोड ४१ लख,स्यानेटरी प्याड– ३ करोड ५१ लख, माछा मार्ने बल्छी– ६३ लाख, क्रिसमसका सामग्री– ३ करोड ५६ लाख, वाद्यवादन (सांगीतिक उपकरण)– ९८ करोड ५४ लाख, कन्ट्याक्ट लेन्स– ९ करोड ३७ लाख, मूर्ति– २३ करोड ८० लाख,घन्टी– ४ करोड २२ लाख,रोजर र ब्लेड– ७ करोड ५८ लाख, चुरा र टीका– २३ करोड ६४ लाख, कपालबाट बनेका जुँगा, आँखीभौँ, परेला आदि– १३ करोड ३४ लाख, टोपी, ह्याट्स र क्याप– १८ करोड २७ लाख,जुत्ता–चप्पल– १ अर्ब १३ करोड १९ लाख, फेस मास्क– १० लाख ८१ हजार, मन्जन– ८४ करोड ४६ लाखको निर्यात भएको छ । यसैगरी, सुगन्धित तेल (परफ्युम)– ७६ करोड ४६ लाख, भेटेरेनरी भ्याक्सिन– १८ करोड २९ लाख,पानी– ३० करोड ५३ लाख, अचार– ३ करोड ८६ लाख, सस– ६ करोड २० लाख,पानको पात– १ करोड २९ लाख,कत्था– १ अर्ब १८ करोड ९८ लाख, हातेकागज– ५२ करोड ७२ लाखको निर्यात भएको छ ।
राजनीतिक दल र नेताहरुको अस्वस्थ प्रतिस्पर्धा, पूर्वाग्रहका कारण देश अस्थिरतामा रहिरहने परिवेश बन्नु देशका लागि दुर्भाग्य हो । यसको असर हिजोको पुस्ताले मात्र होइन, आजको पुस्ताले पनि बेहोरिरहेको छ र यही अवस्था बिद्यमान रहे भोलिको पुस्ताको पनि यही नियति निःसन्देह रहनेछ । नेपालबाट यसरी भएको निर्यातको परिमाण अहिले सानो देखिन्छ । यद्यपि, केही नभएको मुलुकका लागि यसको अर्थपूर्ण महत्व छ । राज्यले प्रवर्द्धन गरे सानो लगानीमै उत्पादन हुने यस्ता वस्तु आयात रोक्ने गरी निर्यात बढाउन सकिने सम्भावनाको ढोका खोलेको छ । स्थानीय कच्चा पदार्थ र सीपमा आधारित यस्ता वस्तु निर्यातले व्यापार घाटा न्यूनीकरणमा भरथेग मात्रै गरेको छैन, महिला, अशक्त, पिछडिएको वर्ग तथा विपन्नलाई उद्यमीसमेत बनाएको छ । अब यसलाई क्रमशः विस्तारित गर्दै जाने र नयाँ स्रोत, साधन, सम्भावनाको यथोचित विकास र प्रवद्र्धन गर्दै जाने सही नीति र कुशल नेतृत्व पाउने हो भने नेपालले पनि आत्मनिर्भरताको बाटोमा छलाङ मार्न सक्नेछ ।