सिटामोल, सरकार र संवेदनशीलता

सम्पादकीय
सिटामोल, आम नेपालीहरुले बिरामी हुँदा प्रयोग गर्ने र पूर्ववत सचेतता स्वरुप सञ्चित गर्ने औषधि हो । यो सस्तै मूल्यमा पाइने भए पनि सहज रुपमा पाइन छाडेको छ । अझ मुलुकमा स्वास्थ्य जटिलता, संक्रमण र संकट आउँदा सिटामोलको चरम अभाव हुने गरेको छ । त्यो विगतको कोरोना कालमा होस् या पछिल्लो समय फैलिरहेको डेङ्गु संक्रमणमा होस् । सिटामोलको सर्वत्र खोजी छ । सुन्दा सिटामोल नपाइने समस्या सामान्य लाग्न सक्छ । तर, अस्पताल, फार्मेसीहरुमा सिटामोल नपाइने समस्या देशव्यापी छ । यसले हामी नेपाली र नेपाल कुन अवस्थामा छ भन्ने प्रष्ट देखिन्छ । यो गम्भिर र संवेदनशील पाटो हो ।

अहिले डेंगु र अन्य संक्रमणको समस्या बढ्दो छ । मुुलुकको संघीय राजधानी काठमाडौंमा समेत बिरामी बढेसँगै केही दिनदेखि सिटामोल अभाव देखिन थालेको छ । रुघाखोकी, ज्वरो, टाउको दुख्ने, दुखाइ कम गर्नेलगायत प्रयोजनमा सिटामोल प्रयोग हुन्छ । त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरूले नै पर्याप्त सिटामोल नभएको बताइरहेका छन् । अन्य मोफसल र दुरदराजका अस्पताल, स्वास्थ्य चौकीहरुको अवस्था कस्तो होला ? सहजै आँकलन गर्न सकिन्छ । नेपाल औषधि लिमिटेडले अनावश्यक रूपले खरिद गर्दा सिटामोल अभाव भएको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयले भने सिटामोलको अभाव नै नभएको जिकिर गर्छ । बिरामी र तीनका आफन्तले भोगिरहेको समस्या र गुनासोले मन्त्रालयको दाबीलाई पूर्णत ःगलत सावित गरिदिन्छ ।

नेपाल सियो समेत अरबौ रकमको आयात गर्छ । सियो मात्रै होइन, सिटामोल पनि आयात गर्छ र देशमा थोरै मात्रामा स्वास्थ्य क्षेत्रमा केही संक्रमण देखिदाँ सिटामोलको समस्या देखिने गर्छ । हाल सरकारी औषधि कम्पनी ‘नेपाल औषधि लिमिडेट’ले दैनिक तीन लाख ट्याब्लेट सिटामोल उत्पादन गरिरहेको छ । तर, अहिले बजारमा दैनिक १० लाख ट्याब्लेटको माग छ । यसर्थ, आयातमा निर्भर रहेको सिटामोलको जुनसुकै समयमा समस्या अभाव खड्किन, संकट झेल्नुपर्ने हुन सक्छ । उसो त नागरिकमा सिटामोल कुन अवस्थामा प्रयोग गर्ने भन्ने चेतना छैन । जे भए पनि स्वयंम् सिटामोल खाने प्रवृत्तिले पनि यसको प्रयोग र माग बढेको छ । दुखाइ, ज्वरोको उपचारका लागि परामर्शविनै पारासिटामोल, फ्लेक्सनजस्ता औषधि प्रयोग गर्दा साइड इफेक्ट देखिन सक्छ । यसमा सचेत बन्न जरुरी छ । मुख्यतः सरकारले पटक पटक दोहोरिरहने सिटामोलको समेत अभावको संवेदनशीलता बोध मात्र होइन, देशमै उत्पादन र आपुर्ति हुने अवस्था सिर्जना गर्न लाग्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *