बागलुङको राजनीति : जिल्लाले जित्ने होस्


सम्पादकीय
आगामी मंसिर ४ गते घोषित संघीय र प्रदेश सभाको चुनावी सरगर्मी ह्वात्तै बढेको छ । राजनीतिक दलहरु पार्टीको विगतको जित हासिल गरेको निर्वाचिन सिट के कसरी सुरक्षित गर्ने भन्ने मात्र चिन्तित छैनन्, थप बहुमत सिटमा समेत के कसरी दबदबा राख्ने भन्ने रणनीतिमा सक्रिय छन् । यसका लागि सत्तारुढ गठबन्धनको लामो रस्साकस्सी पछि एक खालको सिट बाँडफाँडमा सहमति जुटेको छ । केहीमा जुट्न बाँकी छ । बाम गठबन्धनबाट उल्लेख्य मत सहित सत्ताको बागडोर सम्हाल्ने अवसर पाएको एमाले सत्ताबाट बर्हिगमन हुँदै विपक्षीमा पुगेको छ । उसले पनि सत्तारुढ दल इतरका राजनीतिक पार्टी सँग चुनाव केन्द्रित कार्यगत एकताको कोसिस जारी राखेको छ । अहिले सत्तारुढ दल बिचको गठबन्धनले गरेको प्रारम्भिक सिट बाँडफाडसँगै बागलुङको राजनीति पनि तातेको छ ।

सत्ता गठबन्धनले आगामी संघीय निर्वाचनका लागि बागलुङका दुई निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ राष्ट्रिय जनमोर्चा र क्षेत्र नम्बर २ माओवादीलाई दिने सहमति गरेको छ । क्षेत्र नम्बर १ मा राजमोबाट केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी उम्मेदवार बन्नेछन् भने क्षेत्र नम्बर २ मा यसअघि बामगठबन्धनबाट उम्मेदवार बनेर जित हासिल गरेका माओवादी नेता तथा वर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेल उम्मेदवार बन्ने निश्चित प्रायः छ । राजमोले त निर्णय नै गरेर नै गठबन्धनमा सहमतिका लागि दबाब पैदा गरेको थियो । यो निर्णय सँगै यसअघि बामगठबन्धन हुँदा दुई वटै निर्वाचन क्षेत्रबाट क्लीन स्वीप भएको कांग्रेस यसपटक निर्वाचनमा प्रतिस्पर्धा नै गर्न नपाई चुनावी रेसबाट बाहिरिएको छ । जसबाट जिल्ला स्तरका नेता, कार्यकर्ता अहिले आक्रोशित मुद्रामा देखिएका छन् ।

चित्रबहादुर केसी राष्ट्रिय राजनीतिमा फरक पहिचान बनाएका पुराना कम्युनिष्ट नेता त हुन् । यद्यपि, पछिल्लो केही वर्ष यता उनको भूमिका पनि कमजोर देखिरहेको छ । संघीयता विरुद्धको सवालमा फरक मत दर्ज गरेका उनी सरकारमा उपप्रधानमन्त्री भए यता र पार्टी भित्रैका अनेक विचारलाई मिलाउन नसक्दा विवाद र आलोचनाको केन्द्रमा छन् । पटक पटक सोही क्षेत्रबाट जितेका उनले विगतमा जिल्लाका लागि के गरे ? उमेरले समेत आराम खोज्दै गरेका बेला उनले अब के गर्लान् ? निश्चय पनि मतदाताले प्रश्न गर्नेछन् । अर्का नेता देवेन्द्र पौडेल पनि पार्टी र केन्द्रीय राजनीतिमा पहुँच राख्छन् । तर, जिल्ला र खासगरी क्षेत्र नम्बर २ को पश्चिम क्षेत्रको विकासमा यथोचित ढंगले ध्यान नदिएको आरोप छ । बामगठबन्धन गरेर चुनाव जिताएका जनताले अब फेरि कांग्रेसको बलमा चुनाव जित्ने पौडेलको योजना कति सफल बन्ला ? त्यो त हेर्न बाँकी नै छ । विपक्षी एमाले लगायतले पनि उम्मेदवार चयन गर्ला । यद्यपि, अब हुने निर्वाचनमा जुनसुकै पार्टीका यस्ता उम्मेदवारले जितुन्, जसले केबल आफूले मात्र जित्ने होइन, कार्यकालमा नीति निर्माणसँगै स्थानीय तह र केन्द्रको पुलको रुपमा काम गरेर सिंगो जिल्लालाई जित र गौरवको अनुभूति गराउन सक्नेलाई जनताले जिताउन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *