डेंगुको प्रकोपः रोकथाम, नियन्त्रणमा बेवास्ता

सम्पादकीय
कोरोना भाइरसको दुई वर्ष भन्दा लामो समय भयावह भोगेका नेपाल र नेपालीका सामुन्ने फेरि अर्को रोगको आतंक छ । सुरुमा अरु रोग जस्तै सामान्य ठानिएको डेंगुको संक्रमणबाट धेरै प्रभावित भइसकेका छन् । डेंगु एक प्रकारको ज्वरो हो, जुन डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । डुेंगुबाट ग्रस्त हुनेहरुको अनुभव सकस लाग्दो छ । धेरैले डेंगु रोगबाट कोरोना भाइरसको संक्रमण भन्दा कठिन र जटिल अवस्था भोगेको बताइरहेका छन् ।

पछिल्लो ताजा तथ्यांक हेर्ने हो भने पनि डरलाग्दो देखिन्छ । देशभर फैलिएको डेंगुका कारण अहिले सम्म २९ जनाको मृत्यु भइसकेको छ । ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९ सय ८८ जनालाई डेंगु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । यसमा सबैभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ । डेंगुबाट ठुलो संख्यामा ज्यान गुमाउने र हजारौको संख्यामा संक्रमण भइरहेको अवस्थामा पनि सरकारले उल्लेख्य कदम चाल्न सकिरहेको छैन । कोरोनाकालमा सरकारको जे जस्तो लापरवाही र बेवास्ताका कारण ठुलो जनधनको क्षति हुन पुग्यो । अहिले डेंगुमा पनि उस्तै खालको लापरवाही र बेवास्ता दोहोरिएको छ । यो नेपाल र नेपालकै लागि निकै जोखिमपूर्ण हुन सक्छ ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ । यसको जोखिमलाई सरकारले गम्भिरता र संवेदनशील रुपमा नलिँदा आज करिब तीन दर्जन नागरिकले ज्यान गुमाउने अवस्था आयो । अरु कैयन अस्पतालको बेडमा छन् । यो अझै फैलिने खतरा छ । संघीय सरकार बल्ल डेंगु संक्रमण निकै तीव्र गतिमा बढेपछि यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारीमा देखिन्छ । देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै ध्यान र त्यसमै केन्द्रित गर्नका प्रकोप घोषणा गरिन्छ । सरकारलाई चुनाव लाग्छ, लागिरहेको तर, जनताका दुःख दुःख लाग्दैन । कोरोना महामारीबाट पाठ नसिक्दा अहिले डेंगु रोग फैलियो । डेंगुको प्रकोप फैलिनुमा सरकारको पूर्ववत सचेतना र रोग नियन्त्रण तयारी नहुनु प्रमुख कारण हो । अहिले प्रकोप रोक्नु, संक्रमितको सहज उपचार गर्नु गराउनेमा ध्यान केन्द्रित हुनुपर्छ । यी र यस्ता प्रकोप आउन र फैलिन नदिने गरी सरकार, स्वास्थ्य मन्त्रालय लाग्नुपर्छ । राजनीतिक दलहरुले पनि स्वास्थ्यलाई उत्तिकै प्राथमिकताका साथ आगामी निर्वाचनको एजेण्डा बनाउनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *