सन्निकट दसैँ : अवरुद्ध सडक खुलाउ

सम्पादकीय
नेपालीहरुको महान पर्व बडा दशैं संघारमा छ । आज त दशैंको घटस्थापना छ । दशैं त्यस्तो पर्व हो, जसको उत्साह र रौनकतामा नरमाउने, नभुल्ने नेपाली सायदै छन् । चाहे त्यो हिन्दु धर्म मान्ने हुन् या अरु धर्म । नेपाल सरकारले वर्षभरमा सबै भन्दा धेरै सार्वजनिक विदा दिने भएर पनि होला, यस पर्वमा रंग रमाइलो गर्ने, घुम्ने, जीवनमा नयाँ उर्जा, अनुभव हासिल गर्ने स्वर्णिम समयको रुपमा दशैंलाई उपयोग गरिन्छ । फलतः देशदेखि विदेश सम्म बिभिन्न अध्ययन, पेशा, व्यवसाय, रोजगारका लागि गएकाहरु पनि यही बेला गाउँघर फिर्छन् । पुख्र्यौली घर बिर्सेकाहरु पनि वर्षौ पछि दशैंले घर फर्काउछ । तर, सबै क्षेत्रबाट दशंै मनाउन आउने भएकाले छुट्टै उत्साह त छ । यद्यपि, सडक यातायातको बेहाल अवस्थाले यात्रुलाई यसबेला नै निकै सकस हुने गरेको छ ।

बागलुङमा गत असार महिनादेखि कैयन ग्रामीण सडकहरु अवरुद्ध छन् । बर्खाको बेला अबरुद्ध भएका बिभिन्न गाउँ जाने सडकहरु दसैँ आउन लाग्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाका कारण बाढी पहिरोले बन्द भएका सडकहरु असोज लागि सक्दा पनि खुलाउन स्थानीय सरकारले समेत यथेष्ट पहल र चासो देखाइरहेको छैन । यो समय पर्यटक आवागमनको सिजन पनि हो । जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन पुग्ने सडकको समेत कन्तविजोग छ । एक समय ग्रामीण सडकहरु मनपरी खनिए । जसको असर अहिले सम्म बाढी, पहिरो, भुक्षय जस्ता प्रकोपहरु सहित देखिरहेको छ । बर्खाका कारण दजनौँ स्थानमा पहिरो हटाउने, खाल्डाखुल्डी र भलका कारण गाडी गुड्नै नसक्नेमा मर्मत र सरसफाई तत्काल गर्नुपर्ने देखिन्छ ।

तीन तहको सरकारमा सबै भन्दा नजिकको सरकारको रुपमा स्थानीय सरकार छ । यसले वर्षेनी दोहोरिने दशैं लक्षित सडक सुरक्षा योजनाका लागि बजेट अवश्य व्यवस्थापन गरेकै हुनुपर्छ । होइन र छैन भने पनि व्यवस्थापन गरेर सडक मर्मत, सरसफाई गरिनुपर्छ । एक त नेपालका भौगोलिक बनावटका कारण सडक जोखिमपूर्ण छ नै, त्यसमा मर्मत, सरसफाई नगर्ने र दशैंमा यात्रुको उच्च चाप सहित यात्रा गर्दा धेरै खतरा हुने गर्छ । यही महान चाडको पावन समयमै ठुलो संख्यामा सडक दुर्घटनामा ज्यान गुमाउने, अंगभंग हुने देखिन्छ । अतः हरेक ठाउँमा अबरुद्ध भएका ग्रामीण सडक तत्काल खुलाउनु पर्छ । यसका साथै अव्यवस्थित यातायात, ओभरलोड लगायतका कारण हुने दुर्घटना र क्षति बारे समयमै सचेत बनौ र बनाऔं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *