सम्पादकीय
समय गतिशील छ । प्रविधिको विकास तिब्रतर गतिमा छ । विकसित देशहरु अन्तरिक्षमा वस्ती बसाल्नेदेखि अनेकन चामत्कारिक कार्यमा अग्रसर छन् । सिंगो विश्व अहिले ग्लोबल भिलेज बनिसक्यो । तर, नेपाल र नेपाली ? यो प्रश्न र सवालमा बेलाa बेलामा देशमा भइरहने परम्परागत अन्धविश्वासका घटनाले सोचनीय अवस्थामा पु¥याउँछ । कहिले छुवाछुतका कारण अकालमै ज्यान गुमाउनु परेको अप्रिय खबर आउँछ त कहिले बोक्सीका कारण अपमानित हुनु परेको घटना आउँछ । कहिले छाउपडीका कारण किशोरीले चरम हिंसा खेप्नु परेको कहाली लाग्दो खबर आउँछ त कहिले अरु सामाजिक कुरितीका कारण मरणासन्न कुटपिट र हिंसा भएको दर्दनाक खबर आउँछ ।
यही अध्यायको एक निरन्तरताको हो रामेछापको खाँडादेवी गाउँपालिका ३ भिरपानी सित्खामा आइतवार भएको क्रुर अमानवीय घटना । सुन्दा पनि कहाली लाग्ने यस घटनाले नेपाली समाजको चेतनास्तरलाई फेरि एकपटक उजागर गरिदिएको छ । सोह्र श्राद्धमा पितृ खुसी नभएको भन्दै स्थानीय माझी समुदायका ५५ वर्षीया बिबी माझीको कुटीकुटी हत्या भएको छ । उनकी ७० वर्षीया आमा सुनमाया माझीलाई पनि मरणासन्न हुने गरी कुटपिट गरिएको छ । यस गाउँमा सोह्र श्राद्धको अन्तिम दिन माझी समुदायमा पितृ तार्ने पर्व नै मनाउने प्रचलन छ । जसअन्तर्गत दुई दिनअघि पितृहरूलाई (नदी) घाटमा गएर बोलाउने गर्छन् । यसरी बोलाउँदा परिवारको कुनै एक सदस्यको शरीरमा पितृ पस्ने (काम छुट्ने) विश्वास उनीहरूमा छ । शरीरमा पितृ पस्ने बित्तिकै ऊ काम्ने गर्छ, घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसेमै घाट (नदी)मा लगेर विधिपूर्वक पितृ विसर्जन गर्ने चलन छ । नदीमा बगाउने वेला पितृ पसेको व्यक्ति काम्न छाडे पितृ खुसी भएको विश्वास गरिन्छ । यससँगै उनीहरूको सोह्र श्राद्ध सकिन्छ । तर, यसपटक पितृको श्राद्ध र धार्मिक संस्कारको निरन्तरता मात्र होइन, सिंगो मानव चेतना माथि प्रश्न उठ्ने गरी हत्या र कुटपिटले अनेकन प्रश्न र संशय उठाएको छ ।
मानिस धर्म या संस्कारका नाममा कति सम्म अन्धभक्त हुन सक्छ ? कति सम्म क्रुर र निर्दयी भएर एक कमजोर, विपन्न माथि जाइलाग्न सक्छ ? यसको एक रुप फेरि एकपटक बिबी माझी र उनका आमा माथि कथित ‘बोक्सी’ करार गरेर बज्रेको छ । यो हिजो अरु कुनै विपन्न समुदायका निहत्था ज्येष्ठ नागरिक माथि बज्रेको थियो । मुलुकमा व्यवस्था बदलियो, समय बदलियो । तर, हाम्रो चेतना अझै बदलिएको रहनेछ । हाम्रा सोच्ने तौरतरिका यथास्थितिमै अलमलिएको रहेछ । जसका कारण कथित ‘बोक्सी’ आरोपमा बिबी माझील अकालमै ज्यान गुमाउन र निर्दोष आमाहरु मरणासन्न कुटिन बिबश हुनु परेको छ । यस्तो घटना किन र कसरी भइरहेको छ ? राज्य, यसका निकाय र नागरिक कति सचेत र जिम्मेवार छन् ? २१ औं शताब्दीका नागरिक भन्दा हामीलाई यस्ता घटनाहरुले गिज्याउदैन ? संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि यस्ता घटनाको पुनरावृत्ति आखिर कहिलेसम्म ?