नवौं राष्ट्रिय खेलकुद, गण्डकी प्रदेश र अपेक्षा


सम्पादकीय/ खेल केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो त हर नागरिक स्वस्थ जीवनयापन गर्ने अपरिहार्य अस्त्र पनि हो । त्यो भन्दा अझ महत्वपूर्ण त खेल राष्ट्रको पहिचान हो । खेलले सिंगो राष्ट्र र राष्ट्रियतालाई एकैसाथ जाज्वल्यमान तुल्याउँछ । र त सरकारले पनि राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदको नारा लिएर देशव्यापी रुपमा खेल क्षेत्रको विकास र विस्तार गर्ने कोशिस गरिरहेको छ । यद्यपि, नेपालमा अपेक्षाकृत रुपमा खेल क्षेत्रमा राज्यको बजेट र ध्यान प्राथमिकताको विषय बन्न नसकिरहेको गुनासो व्यापक छ । र पनि नेपाली क्रिकेट, फुटबल, भलिबल, तेक्वान्दो लगायतका क्षेत्रमा विश्व्यापी प्रतिस्पर्धामा आफुलाई क्रमशः उभ्याउने जबरजस्त प्रयास गरिरहेको छ ।

सरकारले विद्यालय क्षेत्रमा अध्ययनरत बालबालिकाको खेल कौशल सम्बन्धि प्रतिभा पहिचान र प्रस्फुटनका लागि राष्ट्रपति रनिङ शिल्ड लामो समयदेखि वर्षेनी आयोजना गर्दै आएको छ भने खेल क्षेत्रका बिबिध विधाको विकास, विस्तार प्रवद्र्धनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरेको छ । यो प्रतियोगिता यसपटक गण्डकी प्रदेशका बिभिन्न जिल्लामा आयोजना गर्ने अवसर छ । विसं २०३८ देखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकुद सम्पन्न गरेको पोखराले चार दशक पछि घरेलु मैदानमा खेल गराउने सौभाग्य पाएको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भएको छ ।

प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्यान्डबल र फेन्सिङ सोमबारबाट सुरु भएको छ । आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षकसमेत गरी करिब १० हजार व्यक्ति सहभागी हुने प्रतियोगितामा कूल ३६ खेलमा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुदमा क्यानोनिङ र छेलोको प्रदर्शनी खेल समेत हुनेछ । प्रतियोगिता हुने खेलमध्ये अधिकांश पोखरामा नै हुनेछन् भने अन्य गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा हुनेछन् ।

राज्यको तदारुकतामा कुनै पनि राष्ट्रिय स्तरको प्रतियोगिता नियमित रुपमा आयोजना हुनु सुखद कुरा हो । यसले देशव्यापी रुपमा उदियमान खेलाडीहरुको पहिचान मात्र हुन्न, समग्र खेल क्षेत्रमा भिन्न खालको उभार आउँछ । बिबिध विधाका खेलकुद प्रतिको सोच, बुझाई फराकिलो बन्छ । अहिले गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङमा बाहेक अरु ८ जिल्लामा बिभिन्न विधाका प्रतियोगिता हुनेछन् । प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा भएपनि जिल्ला तहमासमेत खेलस्थल तय हुँदा स्थानीय खेल पदाधिकारी र खेलप्रेमी उत्साहित छन् । यसले नयाँ पुस्तालाई खेल क्षेत्रमा थप आकर्षित गर्न पनि भूमिका खेल्नेछ । प्रदेशका अरु जिल्लालाई पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको अपनत्व दिलाउनेछ । यति हो कि गण्डकी प्रदेश राजधानी पोखरा र अरु इतरका जिल्लामा नवौं राष्ट्रिय खलेकुदका जे जति प्रतियोगिता हुन्छन्, त्यो कर्मकाण्डीमा सीमित नहोस् । निश्पक्ष होस्, भव्य, सभ्य र प्रेरणादायक बनोस्, सफलताका लागि शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *