सम्पादकीय
राष्ट्रिय खेलकुद भन्न साथ एक प्रतिष्ठित र भिन्न महत्व बोकेको प्रतियोगिता सम्झनामा आउँछ । राज्यका तहबाट खेलकुदका बिभिन्न विधागत प्रतिस्पर्धा सहित विकास र विस्तार गर्ने अभिप्रायले यो प्रतियोगिता नियमित संस्करणको रुपमा आयोजना गरिन्छ । २०३८ सालमा पहिलोपल्ट आयोजित यो प्रतियोगितामा सुरुवाती तीन संस्करणमा अञ्चलका आधारमा त्यसपछिका चार संस्करणमा विकास क्षेत्र अनुसार भयो । पछिल्लो समय प्रदेश अनुसार भइरहेको छ । अनेक संस्करण हुँदै यस प्रतियोगिता अहिले नवौं संस्करण सम्म आइपुगेको छ । जुन नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशको पोखरा रंगशालामा २८ गतेदेखि सुरु भएको छ । पोखरा सहित गण्डकी प्रदेशका ८ जिल्लामा भइरहेको प्रतियोगिताले खेलाडी र खेलप्रेमीमा भिन्न रौनकता र उत्साह छ । यद्यपि, राष्ट्रिय प्रतियोगिताको व्यवस्थापनका विषयमा भने चौतर्फी गुनासो, आलोचना र प्रश्न उठिरहेको छ ।
राष्ट्रिय खेलकुद चलिरहँदा पोखरा जस्तो शहरमा उद्घाटन समारोह र अरु दिनमा दर्शकको उपस्थिति न्युन देखियो । यसमा प्रदेश, स्थानीय सरकार र राखेपको यथेष्ट तयारी, समन्वयको अभाव प्रष्ट देखियो । पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीका खेलाडी प्रेम कुमालको खुट्टा भाँचियो । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा घाइते भएका कुमालको चन्दा संकलन गरेर उपचार गरिदैछ । खेलमा दुर्घटना बीमा थिएन, उनले आफ्नै खर्च र सहयोग मागेर उपचार गर्नुपर्ने बाध्यता आइलाग्यो । जारी प्रतियोगितामा घाइते हुने उनी एक्ला होइनन् । प्याराग्लाइडिङ खेलाडी निसिम थापाको त उडानकै क्रममा दुर्घटनामा परेर मृत्यु नै भयो । भलिबलकै र अन्य खेलका अरु खेलाडी पनि चुस्त खेल मैदान व्यवस्थापनको अभावमा घाइते भएका छन् । म्याराथन धाविका पुष्पा भण्डारीको पनि प्रतियोगितामा दौडिरहेको बेला खुट्टा फ्याक्चर भएको छ । खेलाडीहरुले खेल पोशाक, किट र खेल सामाग्री समयमै पाउन नसकेको गुनासो पनि उत्तिकै सुनियो । सीमित भत्ताले खान, बस्नुपर्ने अरु समस्या पनि उस्तै देखिए ।
यति बृहत प्रतियोगितामा छिटफुट गुनासा आउनु, आलोचना हुनु अन्यथा होइन । तर, अहिले यथोचित व्यवस्थापन, समन्वय, तयारी र सचेतताको अभावमा जे जस्ता घटना, दुर्घटनाहरु भइरहेका छन्, आलोचना भएका छन् । यो केबल स्वभाविक विषयको रुपमा लिएर छोड्ने विषय मात्रै छैनन् । खेलमा घटनै नहुने भन्ने होइन । तर, वीमा पनि नहुँदा आफ्नै खर्चमा उपचार गर्नुपर्ने अवस्था बिडम्बनापूर्ण कुरा हो । ३६ खेलका इभेन्ट, सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिमका ६ हजार १५७ खेलाडी सहभागी छन् । उनीहरु सबैलाई राष्ट्रिय खेलकुदको आभाष र अपनत्व दिलाउन सक्नुपर्छ । प्रतियोगिता सीमित खर्चमा सकाउनु पर्ने राखेपको बाध्यता र सीमालाई बुझ्न सकिन्छ तर, अरु प्रतियोगिता आयोजना गरिए सरह पनि व्यवस्थापन, तयारी र सुविधा दिन नसक्ने हो भने यसले निश्चित रुपमा राष्ट्रिय खेलकुदको ओज घट्दै जानेछ ।