परीक्षामा त्रिवि आफै ‘फेल’ !

सम्पादकीय
त्रिभुवन विश्वविद्यालय नेपालको शैक्षिक केन्द्र हो । जहाँबाट देशका लागि आवश्यक दक्ष र प्राज्ञिक जनशक्ति तयार हुन्छन् । तर, पछिल्लो समय त्रिवि राजनीतिक दलको भर्ति केन्द्र र विद्यार्थी संगठनको विवादको अखडा बन्दा शैक्षिक क्यालेण्डर अस्तव्यस्त बनिरहेको छ । नियमित समयमा हुनुपर्ने न परीक्षा हुन्छ न त नतिजा नै प्रकाशित हुन्छ । जसका कारण अध्ययनमा सक्रिय, समर्पित, सिर्जनशील विद्यार्थीहरु पनि चरम निराशामा फस्ने खतरा छ । यति हुँदा पनि राज्यको ध्यान त्रिवि सुधारमा देखिदैन । मात्र जतिसक्दो आफ्ना कार्यकर्ता कसरी भर्ति गर्ने भन्नेमै एकहोरो ध्यान छ । जसले गर्दा उच्च शिक्षा हासिल प्रति युवा विद्यार्थीहरुको बितृष्णा बढ्न थालेको छ ।

पछिल्लो परीक्षा र नतिजाको अवस्था हेर्ने हो भने पनि त्रिविको त्रिविको कुन हालतमा चलिरहेछ ? प्रष्ट हुन्छ । परीक्षा भएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर, हाल त्रिविले १५ महिनासम्म नतिजा सार्वजनिक गर्न सकेको छैन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७८ साउनमा सञ्चालन भएको चारवर्षे बीबीएस, चार वर्षे बीए र फागुनमा सञ्चालन भएको बीएस्सी चौथो वर्षको नतिजा अझै सार्वजनिक भएको छैन । अझ बिडम्बना त अब पनि कहिले नतिजा सार्वजनिक हुन्छ भनेर परीक्षा नियन्त्रण कार्यालयले भन्न सकिरहेको छैन । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले कोभिडका कारण पटक–पटक परीक्षा स्थगित गर्न तथा तोकिएको परीक्षा केन्द्रमा विद्यार्थी पुगेर परीक्षा दिन नसक्ने भएपछि पायक पर्ने क्याम्पसमा गएर परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । सोही अनुसार विद्यार्थीले विभिन्न क्याम्पसबाट परीक्षा दिएकाले उत्तरपुस्तिका जम्मा पार्न समय लागेको, कतिपय विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको कारण नतिजा प्रकाशन गर्न ढिला भइरहेको जिकिर छ । त्रिविको कमजोर व्यवस्थापन र कमजोरीका कारण विद्यार्थीहरु मानसिक दबाव झेल्नु परिरहेको छ ।

त्रिविले जे जस्तो तर्क या दावी गरे पनि आफ्नो वास्तविक कमजोरी लुकाउन खोजिरहेको प्रतित हुन्छ । त्रिविले करिब दर्जन बढी परीक्षाको नतिजा तोकिएको समयअनुसार सार्वजनिक गर्न सकेको छैन । नियमित परीक्षा र नतिजा भए विद्यार्थी अर्को तहमा अध्ययन गरिरहेका हुन्थे । समयमा नतिजा आएको भए फेल भए पनि यसबेलासम्म दुई पटक ब्याक पेपर दिन भ्याइसक्थे । यसले सिंगो शैक्षिक सत्र मात्र प्रभावित होइन, विद्यार्थीको अमूल्य समय र करियरमा असर परिरहेको छ । त्रिविमा पदाधिकारी नियुक्ति देखि जे जस्तो अस्वस्थ राजनीति हुन्छ । त्रिविमा अधिक तालाबन्दी, बिरोध आन्दोलन हुन्छ । त्यसले दैननिदिन त्रिविलाई कमजोर बनाइरहेको छ । फोहोरी राजनीतिबाट मुक्त गराएर त्रिविलाई नितान्त प्राज्ञिक थलोको रुपमा विकास नगरे सम्म त्रिवि व्यवस्थापन सबल र सफल बन्दैन । तसर्थ, त्रिविमा सक्षम प्राज्ञिक नेतृत्व, फोहोरी राजनीतिबाट मुक्त विश्वविद्यालय बनाउन राज्य र यसका निकाय लाग्नु अपरिहार्य भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *