तिहारको शुभकामना

सम्पादकीय
नेपालीहरुको बडा दशैं पछिको दोस्रो ठुलो पर्व तिहारको चौतर्फी उत्साह र रौनकता छ । संघीय राजधानीदेखि शहर र दुरदराजका गाउँ सम्म तिहार पर्वको खुशियाली छाएको छ । उज्यालो पर्वको रुपमा मनाइने यस पर्वमा झिलिमिलि बत्तीले घरहरु रंगिएका छन् । शहर बजारमा फूल र अरु व्यापार व्यवसायको भिड छ । यमपञ्चक सुरु भएदेखि पाँच दिन मनाइने यस पर्वको हरेक दिनको छुट्टा छुट्टै विशिष्ट महत्व छ । तिहार पर्वको अनेकन ऐतिहासिकता, जनविश्वास र मानक नेपाली समाजमा स्थापित छ । यस अवसरमा खेलिने देउसी भैलोले तिहार पर्वलाई अझ बढी सामाजिक र ऐतिहासिक बनाउने गर्दछ ।

तिहार उज्यालो पर्व त हुँदै हो । यसका अतिरिक्त रंगहरुको पर्व पनि हो । नेपालमा पर्वहरूको धार्मिक रंग मलिनो हुँदै गएको अवस्थामा तिहारमा प्रयोग गरिने रंगले सांस्कृतिक चमक बढाइरहेको छ । दसैंजस्तै तिहार पनि कुनै जात, समुदाय वा सम्प्रदाय विशेषमा सीमित छैन । शरद् ऋतुको मध्यमा पर्ने तिहारमा काग, कुकुर, गाई, गोरु, गोवर्धन पर्वत, दाजु, भाइ, दिदी, बहिनी सबैलाई आदर र सम्मान गर्दै पाँच दिनसम्म पूजा गर्ने प्रचलन छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई शुभ र अशुभ दुवै किसिमका सन्देश ल्याउने पक्षीका रूपमा लिइन्छ । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई घरको रक्षक, आज्ञाकारी र सेवकका रूपमा लिइन्छ । तिहारको तेस्रो दिन गाई तिहार मानिन्छ । यो दिन गाईको पूजा गर्नुका साथै यही दिन धनधान्यकी देवी लक्ष्मीको पनि पूजाअर्चना गरिन्छ । प्राचीन तथा वैदिक कालदेखि गाईलाई गौमाता भन्दै आमाका रूपमा लिइँदै आएको हो । त्यसैले यो दिन बिहान गाई पूजा र साँझ धनकी प्रतीक लक्ष्मीको पूजा गर्ने गरिएको हो । पूजाअर्चना मात्र होइन, यो दिनमा वर्षकै सबैभन्दा बढी उज्यालो र झिलिमिली पनि पारिन्छ । तिहारको चौथो दिन गोवर्धन पूजा गरिन्छ जसलाई गोरु तिहार पनि भनिन्छ । तिहारको पाँचौं अथवा अन्तिम दिनमा भाइटीका मनाइन्छ जुन दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्छन् ।

केही वर्ष यता त छठ पर्व पहाडमा पनि मनाउन थालिएको छ । तिहार पर्वले पनि दशैं जस्तै सर्वत्र व्यापकता पाउदै गएको छ । तिहारले पनि राष्ट्रिय महत्व पाएको छ । बडादशैं पछि नेपाल सरकारले सबै भन्दा धेरै विदा पाँच दिन सार्वजनिक विदा दिने गर्दछ । यस पर्वको मुख्य सन्देश र भावना नै आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुता हो । चाहे त्यो पशुपंक्षी, मान्छे र प्रकृति बिचमा होस् या दाजुभाइ, दिदीबहिनीहरुका बिचमा होस् । तिहारले छुट्टै खालको आत्मियता, हार्दिकता र भावनात्मक सम्बन्धलाई स्थापित गर्छ । यस वर्षको तिहारले पनि नेपाली समाजमा सबैका माझमा अझी बढी आपसी सद्भाव र सामाजिक सहिष्णुताको विकास गर्न सकोस् । तिहारको उपलक्ष्यमा तपाईं सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *