आसन्न चुनावः जनता, जागरुकता र जवाफदेहिता

सम्पादकीय
सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएको खबरले सर्वत्र चर्चा छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाए । हुलाकी राजगार्कमा नाराबाजी सहित ढाट राखेर र टायर बालेर प्रदर्शन गरे । हुलाकी राजमार्ग र गाउँको सडक नबनेकोमा आक्रोशित स्थानीय बासिन्दाले ‘नो रोड नो भोट’ को उद्घोष गरे । यो त एक प्रतिनिधि घटना मात्रै हो । अहिले राजनीतिक दल, नेता र उम्मेदवारहरु प्रति जनताको तिब्र रोष, असन्तुष्टि, आक्रोश र गुनासो छ ।

मुलुकमा व्यवस्था बदलिए पनि अवस्था अपेक्षित रुपमा बदलिन सकेन । नागरिकका दैननिदिन झेल्नु पर्ने दुःख, कष्ट र बिबशताहरु उही पुरानै नियतिमा फर्किन थाले । देशको बेथिति, अस्थिरता, भ्रष्टाचार, कमिसन लगायतका बिकृत प्रवृत्तिको पनि पुनरावृत्ति भइरह्यो । देशमा स्थिरता, विकास, समृद्धि र सुशासन पाउने आशा अघिल्लो निर्वाचन पश्चात नागरिकमा उत्कट थियो । तर, सत्ताको बागडोर सम्हाल्ने अभिमत र अवसर पाएको नेकपा एमाले, माओवादी केन्द्र (नेपाल कम्युनिष्ट पार्टी) भित्रैको विवादले करिब दुई तिहाइको संघीय सरकार मात्र धर्मराएन, प्रदेश सरकारहरुमा पनि उथलपुथल आए । २०७४ सालको निर्वाचनबाट प्रमुख प्रतिपक्षमा पुगेको नेपाली कांग्रेस सत्ताको सिंहासनमा पुग्यो । अस्थिर राजनीतिको चक्र फेरि उही पुरानै पात्र र प्रवृत्तिमै घुम्यो । जसले न देशमा अपेक्षित विकास भयो न समृद्धि, न सुशासन आयो न समय सापेक्ष नागरिकमैत्री सेवा । जसले योजना, आयोजना अलपत्र पर्ने मात्र होइन, जनताका दुःख र सास्तीका दिन यथावत अवस्थामा रहिरह्यो ।

अहिले आसन्न निर्वाचनका खातिर राजनीतिक दल, नेता र उम्मेदवार गाउँ गाउँ जनताको घरदैलोमा पुगिरहेका छन् । नेता र नेतृत्वबाट पटक पटक झुटा आश्वासन दिएर धोका भएकोले नागरिक असन्तृष्ट र आक्रोशित छन् । पहिले जस्तो दल र नेताले जे गरे पनि मौनता साँधेर भोट हाल्ने मानसिकतामा ठुलो जागरण आएको छ । नागरिकहरु सचेत भइसकेका छन् । र त आज हरेक निर्वाचन क्षेत्रमा पुगेका दल, उम्मेदवार, नेता, कार्यकर्तालाई सिधा प्रश्न गरिरहेका छन् । जनताका प्रश्न र आक्रोशले उम्मेदवारहरु रातो पिरो भएका छन्, रन्थनिएका छन् । नेपाली राजनीतिमा अतिवाद हाबी छ । दल र नेताहरुमा मनोमानी प्रवृत्ति चरम छ । दलका कार्यकर्ता अन्धभत्त, दास जस्ता छन् । आफ्ना नेता र उम्मेदवारले जे गरे पनि, भने पनि आँखा चिम्लेर ताली बजाइरहने जमात व्यापक छ । तर, अब यस्ता पात्र र प्रवृत्ति बदल्न जरुरी छ । जो बदलिन्न, त्यस्ता पात्र र प्रवृत्तिलाई अहिलेकै निर्वाचनबाट नागरिकले आफ्नो अमुल्य मत मार्फत परास्त गर्नुपर्छ । यसमा कोही कसैको कुनै दबाब, प्रभावमा पर्नुहुन्न । तपाइँको मत देश र समाज बदल्ने बनाउने हो भने विवेक यसपटक खराबहरुका बिच पनि सक्षम, योग्य, इमान्दार उम्मेदवारलाई संसदमा पठाउनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *