मतदाता रिझाउने ‘फण्डा’

सम्पादकीय
संघीय र प्रदेश सभा सांसदको निर्वाचन नजिकिएको छ । अबको दुई साता पश्चात त देशभर मतदान हुनेछ । र त्यसको केही दिनमै प्रतिनिधिसभा र प्रदेश सभाका लागि नयाँ सदस्यहरु निर्वाचित भएर आउने छन् । जसबाटै नयाँ सरकार बन्नेछ । यसपटक जनताको अभिमत कस्तो आउला भन्नेमा सर्वत्र चासो र चिन्ता छ । २०७४ सालको निर्वाचनमा बामगठबन्धनका नाममा नेकपा एमाले, माओवादी केन्द्र, राजमो मिलेर बहुमत हासिल गरेको थियो । अहिले भने गत निर्वाचनमा पुजिवादी, यथास्थितिवादी आरोप सहित एकल चुनावमा उत्रिएको कांग्रेस नेतृत्वमा केही बाम दल माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमोलाई साथमा लिएर चुनावी मैदानमा छ । त्यतिबेला उल्लेख्य मत सहित पहिलो दल बनेको एमाले अहिले केही स्थान बाहेक एकल रुपमा चुनावमा छ । यसले आसन्न चुनाव र परिणामलाई पनि थप रोचक बनाइरहेको छ । यसमा स्वतन्त्र दल र स्वतन्त्र उम्मेदवार प्रतिको आकर्षण र लहडले पनि चुनावी प्रतिस्पर्धा पेचिलो बन्ने देखिएको छ ।

प्रत्यक्ष तर्फ उम्मेदवार र समानुपातिक तर्फ पार्टीलाई मत तान्न राजनीतिक दल र उम्मेदवारहरुले अहिले अनेक हतकण्डा अपनाउन थालेका छन् । सत्ता गठबन्धनमा त प्रधानमन्त्री बन्ने उद्घोष सहित शेरबहादुर देउवा, प्रचण्ड मात्र होइनन्, माधव नेपाल, गगन थापा, संशाक कोइराला पनि प्रधानमन्त्री बन्ने आंकाक्षा सहित मत मागिरहेका छन् । दल र तिनका शीर्ष नेताहरू अमुक उम्मेदवारका लागि भोट माग्न मतदातासँग ‘तपाईं जिताउनुस्, मन्त्री–प्रधानमन्त्री बनाउँछौँ÷बन्छु’ भन्दै उधारो आश्वासन बाँडिरहेका छन् । ललितपुरमा आयोजित सत्तागठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर २ बाट एकीकिृत समाजवादीका प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णलाल महर्जनलाई भावी सरकारमा मन्त्री बनाउने घोषणा गरे । कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि उपस्थित थिए । त्यसअघि काठमाडौंमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा सत्तागठबन्धनबाट काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीलाई ‘जिताएर पठाए विकासे मन्त्री बनाउने’ माओवादी अध्यक्ष प्रचण्डले उद्घोष गरे । एमाले–राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्न झापा ३ पुगेका एमाले अध्यक्ष केपी ओलीले मतदातालाई लोभ्याउँदै आगामी सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई मन्त्री बनाउने घोषणा गरे । गोरखामा सत्तागठबन्धनको भेलालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसका सुरेन्द्र पाण्डेलाई गण्डकीको मुख्यमन्त्री बनाउने बताए । गोरखामै आयोजित चुनावी सभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्ड प्रधानमन्त्री र सुरेन्द्र पाण्डे प्रदेश मुख्यमन्त्री बन्ने दावी गरे । उसो त एमाले अध्यक्ष केपी ओलीले पनि अघिल्लो निर्वाचनमा यसैगरी धेरै नेताका लागि मत मागेका थिए । जुन यसपटक पनि भर्खर चुनावी सभा सुरु भएकाले अझ धेरै परिदृश्य देखा पर्ने निश्चित छ ।

शीर्ष नेताहरुले चुनावी सभामा गर्ने यी र यस्ता भाषण, प्रतिवद्धता वा घोषणा ‘जनता रिझाउने’ अस्त्र मात्रै हो । २०४८ देखि संसदीय अभ्यास सुरु भइसकेपछि लोकप्रिय नारा उचाल्ने र त्यसका आधारमा जनताको भावना, उत्तेजना र आवेगलाई पुँजीकृत गर्ने राजनीतिक होडकै निरन्तरता निर्वाचनमा देखिने गरेको छ । जुन यसपटक पनि देखिसकेको छ । सत्ताको बागडोर सम्हाल्ने निकायमा उम्मेदवार पु¥याउने घोषणाले मन्त्री बनेपछि बजेट धेरै पार्ने, विकास हुने लोभ र भ्रम जनतामा पैदा हुन्छ र मत दिन्छन् भन्ने नेतामा परम्परागत रुपमा स्थापित सोच व्याप्त छ । यो जनताले नै बदल्नु अपरिहार्य छ । अहिलेको मत कुन राजनीतिक दल या उम्मेदवार सक्षम, सबल, राजनीतिक स्थिरता, विकास र समृद्धिको पक्षमा छ, त्यसलाई चुन्ने हो । सबैजसो खराब या कमसल लाग्छन् भने पनि कम खराबलाई कुनै आश्वासन, भ्रममा नपरी विवेवसम्मत हिसाबले अभिमत दिनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *