निर्वाचन आयोग सस्तो चर्चामा नभुलोस्

सम्पादकीय
निर्वाचन आयोगले नेपालमा निकै अप्ठ्यारो अवस्था र चुनौतीका बाबजुद पनि स्वच्छ र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेर विश्व समुदाय माझ वाहवाही कमाएको विगत छ । गत वैशाखमा मात्रै ७५३ स्थानीय तहको सफल निर्वाचन गरिसकेको छ । अहिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सन्निकट छ । अबको दुई सातामा नेपालको संघीय र ७ प्रदेश संसदमा नयाँ निर्वाचित सांसद प्रवेश पाउनेछन् । अहिले नेपालको राजनीति बदलिँदो छ । पुराना मुख्य राजनीतिक दल, नेताहरु प्रति तिब्र आक्रोश र बितृष्णा नागरिकमा छ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले पाएको चामत्कारिक सफलताको बाछिटा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि छ । स्वतन्त्र दल, अभियान र उम्मेदवारले मुख्य दलहरु बिचको प्रतिस्पर्धालाई कुन मोड दिने हो ? त्यो हेर्न भने बाँकी छ ।

निर्वाचनलाई निश्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगको नेतृत्व र तदारुकता धेरै हद सम्म प्रंशसनीय छ । तर, आयोगका कतिपय कदम भने सनकमा र कतिपय सस्तो लोकप्रियता हासिल गर्ने ध्येबाट प्रेरित भएको देखिएको छ । पछिल्लो समाचार प्रकाशनको विषयलाई लिएर सेतोपाटीलाई समाचार हटाउन र स्पष्टिकरण दिन दिएको २४ घण्टे निर्देशन एक उदाहरण हो । जसको सर्वत्र आलोचना भए पछि निर्वाचन आयोग स्वयंम्ले शनिबार लेखेको पत्र सोमवार फिर्ता लिएको छ । सेतोपाटीले गत शुक्रबार ‘अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता पनि कायमै’ भन्ने समाचार छापे पछि विज्ञप्ति जारी गरी आयोगले आफ्नो आमसञ्चार नीति र मान्यताभन्दा फरक हुने गरी प्राविधिक कारणवश सेतोपाटीलाई पत्र गएको भन्दै उक्त पत्र फिर्ता लिन बाध्य हुनु सनकको परिणाम हो । किनकि समाचार गलत नियतबाटै प्रेषित भएको भए पनि यो हेर्ने निकाय भनेको प्रेस काउन्सिल हो । आयोगको अर्को सतही लाग्दो कदम निर्वाचनको प्रचार लागि तयार गरेको गीत र भिडियो सामग्री हो । जुन सार्वजनिक गरेको २४ घण्टा समेत पुरा बित्न नपाउँदै आयोगले क्षमायाचना गर्दै हटाउन बाध्य हुनुप¥यो । यति मात्रै होइन, गोरखामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ताका क्रममा बाजा बजाएको विषयमा आयोगले स्पष्टिकरण सोध्यो । प्रचण्डले बाजा कसले बजाएको आफुलाई थाहा नभएको स्पष्टिकरण दिए । त्यसपछि आयोगले बाजा कसले बजाएको ? तिनलाई खोजी गर्न निर्देशन दिएको विज्ञप्ती जारी ग¥यो । जुन निकै हाँस्यास्पद छ ।

निर्वाचन आयोगका सामु यतिबेला चुनौतीका अनगिन्ती पहाड छन् । भलै अनेकन निर्वाचनमा चुनौतीलाई अवसरमा बदलेको विगत र गौरवपूर्ण क्षण आयोग समक्ष छ । अहिले पनि निर्वाचन आयोगले निर्वाचन स्वच्छ, मितव्ययी बनाउन गरिएको पहल र प्रयास सह्रानीय छ । तर, माथि उल्लेख गरिएका केही घटना र सवालले निर्वाचन आयोगको कदम र भूमिकाबारे स्वभाविक प्रश्न र संशय उठिरहेको छ । निर्वाचन आयोग कदापी सनकका भरमा र सस्तो लोकप्रियता पाउने आशक्तिबाट चल्नु हुँदैन । भड्किलो र खर्चिलो निर्वाचनका बिकृत पात्र र प्रवृत्तिलाई रोक्नुपर्नेछ । सत्ता र शक्तिको दुरुपयोग गरेर निर्वाचनलाई प्रभावित पार्न खोज्ने नियत प्रति आयोगले सचेततापूर्वक कदम चाल्नुपर्नेछ । आसन्न निर्वाचन पनि ऐतिहासिक रुपमा सफल पार्ने आयोग प्रति राजनीतिक दल, नागरिकको पूर्ण भरोसा छ । यो भरोसामा कोही कसैले प्रश्न र संशय राख्न नसक्ने गरी आयोगले आफ्नो नेतृत्व र जिम्मेवारी पुरा गर्न सक्षम छ, त्यो सक्षमता निर्वाचनको अन्तिम मत परिणाम घोषणा गर्दा सम्म देखिरहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *