सम्पादकीय
कुनै समय यस्तो थियो कि चर्को, विचारोत्तेजक भाषणले सनसनी मच्याउँथ्यो । नागरिकहरु भाषण प्रति आकर्षित र प्रभावित हुन्थेनन्, उस्तै शैलीमा तालीको गडगडाहट र सिठ्ठी फुक्थे । नेता या वत्तालाई थप उत्तेजित र उत्साहित बनाउँथे । भाषणकै आधारमा जनसमर्थन, व्यापक माहोल जुट्थ्यो । तर, अहिले समय मात्र बदलिएको छैन, परिवेश पुरै बदलिएको छ । राजनीतिक दलका नेता, उम्मेदवारका भाषण भन्यो भने जनताले नाक खुम्च्याउने अवस्था छ । भाषण प्रति नागरिकको चर्को बितृष्णा छ । यस्तो परिस्थिति कसरी खडा भयो त ? नेता या उम्मेदवार भन्न साथ जो आए पनि उस्तै त हो नि ? यी र यस्तै प्रश्न र सवालहरु किन निराशाजनक हिसाबले उठिरहेको छ ? अब यसको रहस्य र जवाफ जरुर खोज्नुपर्ने बेला भएको छ ।
अहिले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदो छ । अबको १० दिनमा मतदान हुने भएकाले राजनीतिक दल र उम्मेदवार बिच प्रतिस्पर्धा पेचिलो बन्दै छ । यद्यपि, नेताहरुको भाषणमा पहिलेका निर्वाचनमा जे जस्तो आकर्षण र उत्साह देखिन्थ्यो । शीर्ष नेता सहभागी कार्यक्रममा जिल्लाभरका नेता, कार्यकर्ताको जमघट भए पनि जिल्ला र प्रदेश स्तरका खुल्ला चुनावी प्रचार र सभाहरुमा त्यस्तो खुलेर साथ समर्थन गर्नेमा उल्लेख्य कमी आएको छ । र त राजनीतिक दल र उम्मेदवारहरुले चुनावी सभाको परम्परागत कार्यक्रम सञ्चालन पद्धतिलाई नै परिवर्तन गर्न थालेका छन् । जतिसक्दो घरदैलो, भेटघाटमै उम्मेदवारहरुले जोड दिएका छन् । एक त चुनाव सरगर्मी बढे पनि सर्वसाधारण नागरिक आफ्नै खेतबारी र नियमित कर्ममा व्यस्त छन् । अर्को तर्फ नेताहरुले जति भाषण गरे पनि पुरा हुने होइन भन्ने गहिरो छाप परेको छ । पटक पटक जिताएर पठाएकाहरुबाट धोका पाएका छन् । र त अहिले गाउँ गाउँमा समेत मतदाताले भाषण पत्यार लाग्नै छोडेको नेताहरु समक्ष नै हाकाहाकी भन्न थालेका छन् ।
अघिल्लो चुनावमा राजनीतिक दल घोषणापत्रमा के थियो ? तिनका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार, घरदैलो र आमसभाहरुमा के कस्तो भाषण आश्वासन दिएका थिए ? त्यसको लेखाजोखा गर्ने हो भने राजनीतिक दल, उम्मेदवारका अगाडि लाज आफै लजाउने अवस्था हुन्छ । २०७४ सालको चुनावबाट बाम दलले अभिमत पाए, सरकार पनि बनाए । तर, आन्तरिक किचलोले बिभाजन मात्र होइन, संसद विघटन गर्ने सम्मको कुरुप गतिविधि भए । तीन वर्षमै नेकपा एमाले (तत्कालीन नेकपा) नेतृत्वमा बनेको सरकार ढल्यो । र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्यो । र सबैले आलोपालो सरकार चलाए । यद्यपि, जनताका लागि स्मरणीय काम के गरे ? यो दुःखदायी छ । कुनै पनि दल र उम्मेदवार बनेर संसदमा पुगेकाहरु अहिले पुनः जनताका बिचमा जाँदा जनताका प्रश्न, आक्रोशबाट घेरिएका छन् । जे बोल्ने, त्यो नगर्ने र जे नबोल्ने त्यो गर्ने पात्र र प्रवृत्तिबाट जनता आजित भएका छन् । यसकारण आज भाषण घोषित अघोषित रुपमा बहिष्कारको अवस्था पैदा भएको छ । त्यसैले, यस चुनावबाट मिठा भाषण होइन, कर्म गर्ने उम्मेदवार छानौ । समाज र देशका लागि आवश्यक नीति निर्माण गर्न सक्ने, भोलिको सुन्दर भविष्यका लागि अहिले कुशल नेतृत्व दिन सक्ने नेता छानौ । अन्यथा, फेरि पनि ५ वर्ष पछुताउने बाहेक केही हुने छैन ।