निर्मम निर्वाचन

सम्पादकीय
मौसमका हिसाबले क्रमशः जाडो बढ्दैछ । यही चिसो मौसममा प्रदेश र प्रतिनिधि सभा निर्वाचन सन्निकट छ । चुनावी माहोलले देश तातेको छ । राजनीतिक दल, नेता, कार्यकर्ता र उम्मेदवार दौडधुपमा छन् । पाँच वर्ष अघिको निर्वाचन पछि कमै पुगेका घर, गाउँ र बस्तीमा यतिबेला नेता, कार्यकर्ताको ओइरो छ । अनि दुई हात जोड्दै नमस्कार, अभिभावदन सहित मत माग्ने, अनुनय विनय गर्नेहरुको होड छ । तर, चुनावको मिति नजिकिँदै जाँदा क्रमशः प्रतिस्पर्धा पेचिलो बन्दैछ । राजनीतिक दल, उम्मेदवार बिच प्रतिस्पर्धा पेचिलो मात्र होइन, दलहरु भित्रको आन्तरिक किचलो पनि निकै निर्मम रुपमा देखा पर्न थालेको छ ।

२०७४ सालको निर्वाचनमा एमाले, माओवादी सहितको बाम गठबन्धन गर्दा उनीहरु जुन कम्फर्ट जोन र नेपाली कांग्रेस सकसमा थियो । अहिले बाम लोकतान्त्रिक गठबन्धन हुँदा कांग्रेस माओवादी लगायत कम्फर्ट जोनमा छन् र नेकपा एमाले सकसमा छ । तर, चुनाव भने पछि प्रतिस्पर्धा बिभिन्न हिसाबले पेचिलो हुन्छ नै । अन्तरपार्टी बिच चुनावी नतिजा हात पार्न विगत केही समय अघिदेखि अनेकन प्रयास, हठकण्डा र तिकडमहरु भइरहेका छन् । कतिबेला कुन राजनीतिक दल र उम्मेदवारले के कस्तो खेल खेल्छ र चुनावी रणनीति बनाउँछ भन्ने कुराले नतिजामा बदलाव आउँछ । अहिले गण्डकी प्रदेशमा देखिएको दुई घटनाले राजनीतिक कति खतरानक बनिरहेको छ ? उदाहरणको रुपमा हेर्न सकिन्छ । मंगलबार मात्रै गठबन्धन दल नेपाली कांग्रेसबाटै गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री बनेका कुमार खड्का बर्खास्तीमा परेका छन् । उनी माथि टिकट नपाएको प्रतिशोधमा कास्की–२ को प्रदेश सभा २ मा कांग्रेसबाट उम्मेदवार रहेका कानुनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोप छ । ठिक एक साता अघि मात्रै गण्डकी प्रदेश सरकारकै ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका थिए । ०७४ सालको निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीबाट गोर्खा २ ‘ख’मा प्रत्यक्षतर्फ निर्वाचित आचार्य २९ जेठ ०७८ मा मन्त्री नियुक्त भएका थिए । बर्खास्तीमा परेका आचार्यले गठबन्धनविरुद्ध मत मागेको आरोप थियो । पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट रहेका आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यद्यपि, पछि नेताहरुको आग्रहमा उम्मेदवारी फिर्ता लिएका थिए ।

उम्मेदवार दलका आ–आफ्नै थियो, सरकार पनि गठबन्धनकै थियो । तर, अहिले धमाधम आफ्नै नेता, नेतृत्व र सरकारबाट खड्का र आचार्य बर्खास्तीमा परेका छन् । यसले अन्तर दलहरु बिच मात्रै होइन, दल र गठबन्धनका बिचमा पनि निर्वाचन कति निर्मम ढंगले अगाडि बढेको रहेछ ? प्रष्ट बुझ्न सकिन्छ । उसो त निर्वाचन आफैमा निकै निर्मम कुरा हो । यहाँ इमान, निष्ठा, योग्यता, क्षमता, कार्यकुशलताले मात्रै पुग्दैन । भावना र संवेगले मात्र केही डेग चल्दैन । नेपाली राजनीतिको कुरुपा चित्र र परिदृश्य जुन छ, त्यसमा विशुद्ध हिसाबले हिँड्न खोज्ने मान्छे सहजै आन्तरिक र बाह्य दुवैबाट प्रहार हुने र पछारिने निश्चित छ । यसो हुनुको कारण देशको राजनीति सही थितिले चलिरहेको छैन । राजनीति सही ढंगले नचले पछि देशको नीति, थिति र प्रणाली पनि बेथिति ग्रस्त बन्छ, बनिरहेको छ । अतः यसपटकको निर्वाचनमा सम्भव भए सम्म सही नीति, थिति, प्रणालीको पक्षमा उभिने नेतृत्व चुनौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *