सम्पादकीय
नेपाली राजनीतिबाट आजित बने पछिको सांकेतिक विद्रोह गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमै देखिएको हो । जसको कुनै संघ संगठन छैन, छोटो समयको घोषणा र तयारी बिच स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएकाहरुले वर्षौदेखि रजगज चलाइरहेका परम्परागत दललाई पराजित गरेर चुनौती मात्र दिएनन्, थप खतराको संकेत पनि गरिसकेका थिए । तर, देशका मुख्य राजनीतिक शक्तिको रुपमा रहेका दल र तिनका शीर्ष नेताहरुले यसलाई नजरअन्दाज गरे । यो केबल मौसमी हावा हो, जो केही समयमा आफै हराएर जान्छ । काठमाडांै महानगरपालिकामा बालेन शाह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङहरु स्वतन्त्र रुपमा उदाएनन् मात्रै, निर्वाचित भए यता जनताको पक्षमा काम गरेर हाल सम्म वाहवाही कमाइरहेका पनि छन् । यही पृष्ठभूमिका बिच गत मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा परम्परागत राजनीतिक शक्ति र तिनका पुराना केन्द्रीय नेताहरु समेत लज्जास्पद पराजय बेहोर्न बाध्य भएका छन् ।
राजनीतिक विश्लेषकहरु भन्दैछन्, यसपटकको निर्वाचन प्रत्यक्ष तर्फ नेपाली कांग्रेस पहिलो दल बने पनि, समानुपातिक तर्फ नेकपा एमाले पहिलो दल बने पनि ठुला भनिएका दल हारेका छन् र हालै मात्र स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीति सहित चुनाव जितेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धन सहित चुनावी मैदानमा उत्रिएको कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलले अपेक्षित जित हात पार्न सकेनन् । समानुपातिक तर्फको मतबाट पनि यसको थप पुष्टि हुन्छ । अहिले राजधानी काठमाडौं, चितवन लगायतका शहर र जिल्लामा स्वतन्त्र पार्टीले चामत्कारिक जित हासिल गरे । समानुपातिक निर्वाचन प्रणालीमा पनि उल्लेख्य मत ल्याएका छन् । यसले के देखाउँछ भने परम्परागत राजनीतिक दल, तिनका नेताहरुबाट विगतमा जे भए या गरियो, त्यो समाज र देशको हितका खातिर जनअपेक्षा अनुसार भएन, हुन सकेन । बरु समाज र देशलाई पछि पार्ने, विश्व मानचित्रमा असफल र कमजोर देशका रुपमा दर्ज गर्ने कुत्सित मनशाय सहितका प्रयासहरु भए ।
२०७४ सालको निर्वाचनबाट बाम गठबन्धनलाई जुन उत्साहजनक बहुमत प्राप्त भयो । करिब दुई तिहाइ बहुमतको सरकार पनि बन्यो । दुर्भाग्य त्यो सरकार तीन वर्ष पनि टिक्न सकेन । बरु चुनावी कार्यगत एकता पछि एक भएका पार्टीहरु समेत बिभाजित बन्ने अवस्था बन्यो । अहिलेको निर्वाचनबाट त कुनै निश्चित दुई दलको गठजोडबाट पनि बहुमत पुग्ने अवस्था देखिन्न । यसले नेपालमा राजनीतिक अस्थिरतालाई थप बढावा दिने संकेत देखिएको छ । उसो त परम्परागत राजनीतिक दलहरु अब सत्ता समिकरणको पुरानै खेल तर्फ अग्रसर हुन थालेका छन् । फेरि पनि जनताको अपेक्षा र भावना अनुसार यसपटकको निर्वाचनबाट जनताले दिन खोजेको सन्देश या पाठलाई गम्भिरतापूर्वक लिएर नसच्चिने हो भने भोलिका दिनमा जनता कुनै आस्थावान, परम्परागत वंशजको दल मात्रै भनेर कार्यकर्ता पनि बस्ने छैनन्, जनताले पनि आफ्नो अभिमत मार्फत सही विकल्प र विद्रोह गर्न तयार हुनेछन् । अतः विगतका गल्ती कमजोरीबाट पाठ सिक्ने मात्र होइन, अब साँच्चिकै समाज र देश बनाउने दिशामा दृढ अठोटका साथ काम गर्ने, विद्यमान व्यवस्था र प्रणालीलाई बलियो बनाउन नेतृत्वदायक भूमिका खेल्नुपर्छ ।