नेतामा नैतिकताको खडेरी

सम्पादकीय
नेपाली राजनीति आजको दिन सम्म आउँदा जे जति कुरुप, फोहोरी, घृणित, तिरस्कृत र बदनामीत बनेको छ । त्यसमा अनेकन पात्र र प्रवृत्तिहरुको भूमिका मुख्य छ । उसो त यसमा राजनीतिक दलका अन्धभक्त कार्यकर्तादेखि जनताको पनि धेरथोर भूमिका अवश्य छ नै । निर्वाचनका बेला बल्लतल्ल एकपटक भोट माग्न जाने र त्यसपछि पुरा कार्यकाल बित्दा समेत गाउँ, टोल र क्षेत्र नफर्किने नेताहरुको सूचि लामै बन्छ । फलतः यसपटकको निर्वाचनमा ति र त्यस्ता प्रवृत्ति भएका नेताहरुले जनअभिमतबाटै सजाय दिएका छन् । यद्यपि, राजनीतिक दल, कथित शीर्ष नेताहरुका नाममा जुन अर्कमण्यता, मनपरी आडम्बरयुक्त शासन व्यवस्था लादिएको छ, त्यसका विरुद्ध अझै यथेष्ट जागरण र खबरदारी पुग्न सकेको छैन । भलै अहिलेको निर्वाचनले वर्षौदेखि मनपरी रजगज चलाइरहेका परम्परागत राजनीतिक दलहरुलाई झस्काउने गरी जनताले अभिमत जाहेर गरेका छन् ।

राजनीति यति बिघ्न बदनाम र घृणित हुनुको कारण जसले असल शासन व्यवस्था संस्थागत गर्ने हुन्, उनै नेतृत्व असल, सुसंस्कृत, अनुशासित, इमान्दार र नैतिकवान छैनन् । यसको एक से एक उदाहरण नेपालमा राजनीतिक दल र तिनका नेता कार्यकर्ताहरुको पात्र र प्रवृत्तिजन्य घटना र परिदृश्य काफी छ । पछिल्लो ताजा घटना हेर्ने हो भने अहिलेकै प्रदेश र प्रतिनिधि सभा निर्वाचन हेरे पुग्छ । निर्वाचनमा संघीय सरकारका ६ बहालवाला मन्त्रीहरु पराजय बेहोरेका छन् । उनीहरु जनमतबाट अस्वीकृत भइसकेका छन् । तर, बहालवाला पदबाट नैतिकताका आधारमा राजीनामा दिन सकिरहेका छैनन् । यसले उनीहरुको पद प्रतिको आशक्तिलाई उजागर गरेको छ नै, असल राजनीतिक संस्कारका लागि नैतिकताको चरम खडेरी भएको पनि प्रष्ट देखिएको छ । पाँच दलीय सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेका बालकृष्ण खाँण राप्रपाका दीपक बोहोरासँग पराजित भए । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा कार्कीसँग पराजय बेहोरे । काठमाडौं क्षेत्र नम्बर–८ मा उम्मेदवार बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भए । खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी बारा–१ बाट नेकपा एमालेका अच्युतप्रसाद मैनालीसँग पराजय बेहोरेका छन् । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज बाँके–१ मा पराजित भए । राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ठुलो मतान्तरले पराजित भए ।

अरु विकसित देशमा चुनावमा पराजित हुँदा मात्र होइन, सरकारका तर्फबाट या पार्टीका तर्फबाट ससाना कमजोरी या गल्ती हुँदा साथ नैतिकताका आधारमा राजीनामा दिन्छन् । नेपालका नेताहरुमा भने नैतिकताको चरम खडेरी छ । यद्यपि, चुनाव जिताउन नसेकेको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संयोजक, ललितपुरका संयोजक र सचिवले नैतिकताका आधारमा पदबाट राजीनामा दिए । यस्ता खबर दुर्लभ सुनिन्छन् नेपालमा । यही कारण नै राजनीतिमा जसले जे गरे पनि हुने खराब संस्कार हुर्किरहेछ । अहिले पराजित बहालवाला मन्त्रीहरु प्रधानमन्त्री, पार्टी र नेताहरुको निर्देशन कुरिरहेका छन् । तर, प्रधानमन्त्री, पार्टी अध्यक्ष या पार्टीले दिने निर्देशन भन्दा जनताको अभिमत र निर्देशन सबै भन्दा ठुलो भन्ने कुरा वर्षौदेखि राजनीति गरिरहेका नेताहरुले कहिले बुझ्लान्, कहिले बुझाउलान् ? फेरि एकपटक नैतिकताका आधारमा राजीनामा दिनु भनेको राजनीति सकिनु हो । भोलि फेरि अहिले भए जस्तो कमजोरी दोहोरिन दिन्न भन्ने संकल्प र जनताको विश्वास सहित पुनः आउन र उदाउन सम्भव छ । यो नैतिकहीन नेता र राजनीति भन्दा कैयन गुना श्रेयस्कर विकल्प हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *