सिके राउत र रेशम चौधरीको हातमा स्थिरताको चाबी !

सम्पादकीय
यसपटकको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम मतपरिणामले भावी दिन पनि नेपाल र नेपालीका लागि चुनौतीपूर्ण देखिएको छ । २०७४ सालको निर्वाचनमा बामगठबन्धनले दुई तिहाई बहुमत प्राप्त सरकार बनाउने अवसर पाएको थियो । तर, अहिलेको निर्वाचनबाट कुनै दल या गठबन्धनलाई बहुमत प्राप्त भएको छैन । सत्तारुढ गठबन्धनबाट पहिलो दल मात्र होइन, कांग्रेसकै नेतृत्वमा बहुमत प्राप्त गठबन्धनको सरकार बनाउने अभिमत पनि जनताले दिएनन् । न त दुई पटक संसद विघटनको खराब नजिरको अभियोग खेपेको नेकपा एमालेले नै विगतमा जस्तो उल्लेख्य मत हासिल गर्न सक्यो । बरु यसपटकको निर्वाचनमा केही दल नयाँ शक्तिको रुपमा उदाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चामत्कारिक सफलता हासिल गरेको छ भने मधेशमा सिके राउत नेतृत्वको जनमत पार्टी, केन्द्रीय कारागारमा रहेका रेशम चौधरी नेतृत्वको नागरिक उन्मुत्ति पार्टीले राम्रै जनमत हासिल गरेका छन् ।

प्रत्यक्ष तर्फ १६५ क्षेत्र मध्ये एक मात्र बाँकी दोलखा र समानुपातिक निर्वाचन प्रणाली तर्फको अन्तिम मतपरिणाम आउने तर्खरमा छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिक ११० गरी २७५ जना सांसद हुन्छन् । अब मतपरिणाम आउँदा नआउँदै राजनीतिक दलहरुका बिचमा सरकार गठनको छलफलले तिब्रता लिन थालेको छ । प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसले प्रत्यक्षतर्फ ५७, नेकपा (एमाले)ले ४४, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, जसपाले ७, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, स्वतन्त्रले ५, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् । प्रदेशतर्फ पनि प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ११० सिट, एमालेले ९१, माओवादीले ५३, एकीकृत समाजवादीले १५, स्वतन्त्रले १२, राप्रपाले ११, जसपाले १०, लोसपाले ९, जनमत पार्टीले ७, नागरिक उन्मुक्ति पार्टीले ५ सिट जितेका छन् । समानुपातिक तर्फको मतपरिणाममा एमाले पहिलो बने पनि समग्रमा दोस्रो दलमा सीमित बन्ने निश्चित छ । अब निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रतिवेदन मंसिर २६ गतेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गरेर समानुपातिकतर्फ सांसद समेत चयन गरे पछि सरकार गठन प्रक्रिया सुरू हुनेछ । दलहरूले समानुपातिकमा प्राप्त गरेको मतका आधारमा सिट निर्धारण गरेर ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुने गरी आयोगले दलहरूबाट यसअघि नै बुझाइएका बन्दसूचीअनुसार सांसद निर्वाचित हुनेछन् । त्यस लगत्तै दलहरूले संसदीय दलको निर्वाचन गर्नेछन् । अधिकांश दलमा संसदीय दलमा सहमति हुने देखिए पनि नेपाली कांग्रेसमा भने निर्वाचन हुने संकेत देखिएको छ । पार्टीमा संसदीय दलको नेता चुनिए लगत्तै प्रधानमन्त्रीको उम्मेदवार हुने र अरु दललाई सत्ता समिकरणमा ल्याउने कुरा महत्वपूर्ण हुनेछ ।

अहिलेको निर्वाचनबाट जे जस्तो राजनीतिक दलहरुलाई अभिमत प्राप्त छ । त्यसले कुनै एक दुई दलको गठजोडमा मात्र सरकार बन्न असम्भव छ । यस अवस्थामा पहिलो दल कांग्रेस र दोस्रो दल मिलेमा मात्र दुई दलको सरकार बन्नेछ । यो सम्भावना नभए पछि अरु तेस्रो, चौथो, पाँचौ, छैठौं दलहरुलाई समेत एकीकृत गरेर सरकारको अंक गणित पुरा गर्नुपर्नेछ । यस्तो अवस्थामा विगतमा देश बिखण्डनको नारा लाएर राष्ट्रिय एकतामा धावा बोलेका जनमत पार्टीका अध्यक्ष सिके राउत, अपराध अभियोगमा जेल भुक्तान गरिरहेका नागरिक उन्मुत्ति पार्टीका संस्थापक रेशम चौधरीहरु निर्णायक बन्न सक्छन् । यसपटकको चुनावमा चामत्कारिक जित हात पारेको स्वतन्त्र पार्टी भने केही ढंगले आएकाले अहिले नै सत्ता बनाउने र गिराउने खेलमा सायदै सामेल होला । जे होस् अघिल्लो चुनावमा करिब दुई तिहाइ बहुमत हुँदा पनि पार्टीको आन्तरिक किचलोले पटक पटक संसद विघटन, पार्टी बिभाजन हुँदै चरम अस्थिरता पैदा भयो । अब पनि नेपाल र नेपालीले त्यही खालको नियति भोग्न नपरोस् । यसमा देशका मुख्य राजनीतिक दल, शीर्ष नेता र सांसदहरुले समयमै जिम्मेवारपूर्ण भूमिका निर्वाह गरुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *