सम्पादकीय
कुन मुलुक कस्तो छ ? कस्तो बनिरहेको छ या बन्नेछ ? यसमा मुलतः त्यो देशको राजनीति कस्तो छ भन्ने कुराले निर्धारण गर्दछ । हाम्रो देश नेपाल अहिले संघात्मक शासन व्यवस्थाको अभ्यासमा छ । नीतिहरु क्रमशः सुधारको प्रक्रियामा छन् । तर, राजनीति सही बाटो र लयमा छैन । राजनीतिक दलको पार्टीगत स्वार्थ, नेताहरुको गुटगट, व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले देश अस्थिरताको जोखिममा छ । हालै मात्र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भएर नयाँ सरकार गठनको क्रममा राजनीतिक दल छन् । निर्वाचनबाट परम्परागत राजनीतिक पार्टीहरुलाई ठुलो धक्का लागिरहेको छ । यद्यपि, त्यो न समानुपातिकमा लाखौ मत गुमाएको नेपाली कांग्रेसले स्वीकार गर्छ, न पहिलो दलबाट आधा सिट गुमाउदै दोस्रो दलमा खुम्चिएको नेकपा एमालेले स्वीकार गर्छ न गठबन्धन हुँदा पनि आधैजसो सिट गुमाएको माओवादी केन्द्रले स्वीकार गर्छ या अरु दल र नेताहरु ? यही कारण राजनीति अतिवाद तर्फ उन्मुख भइरहेको प्रतित हुन्छ ।
हुन त राजनीतिक दलहरुले अहिले चुनावको समिक्षाका लागि छलफल गर्न थालेका छन् । तर, त्यो बढीजसो औपचारिकता र कर्मकाण्डमा सीमित हुन्छ । अहिलेको निर्वाचनले परम्परागत राजनीतिक दलहरुलाई सच्चिने या सक्किने विकल्प खोज्न प्रष्ट संकेत र सन्देश दिएका छन् । यो राजनीतिक दलहरु बुझेका छन् या बेवास्ता गर्दैछन् ? त्यो समयले देखाउला । अहिले अरु दलहरुमा कमजोरीको समिक्षा गर्ने तत्परता नदेखिए पनि नेकपा माओवादी केन्द्रका युवा नेताहरूले पार्टीका कमीकमजोरी खोतल्न थालेका छन् । हरेक निर्वाचनमा एकपछि अर्को गर्दै पार्टी खुम्चिँदै जान थालेपछि युवा नेताहरूले आफ्नै पहलमा छलफल अघि बढाउनु सकारात्मक कुरा हो । पार्टीका युवा नेता लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’ रामदीप आचार्य, डिपी ढकाल, लगायत नेताहरू पार्टी यति धेरै संघर्ष गरेर आएको भए पनि एकपछि अर्को चुनावमा खुम्चिँदै जानुमा कारण खोज्न भेला नै आयोजना गरे । माओवादीको एजेण्डामा देश हिँडिरहने अवस्था भए पनि पार्टी भने खुम्चिदै जानुले गम्भिर अवस्था आएकाले कमजोरी पहिचान गरेर समाधान खोज्न थालेको नेताहरु बताइरहेका छन् ।
अहिलेको ताजा चुनाव र जनादेश पश्चात माओवादी युवा नेताहरुले पार्टीको कमजोरीबारे समिक्षा गर्नु माओवादीका लागि राम्रो कुरा हो नै, यो देशको राजनीतिलाई शुद्धिकरण गर्ने र सही दिशा तर्फ निर्देशित गर्ने असल अभ्यास पनि हो । यो अब हरेक राजनीतिक पार्टी भित्र अभ्यास हुन जरुरी छ । पटक–पटक सत्तामा पुग्ने तर जनताको पक्षमा काम नगर्ने पात्र र प्रवृत्तिबाट आजित भएर नेपाली नागरिकले विकल्प खोज्न थालेको प्रष्ट सन्देश यसपटकको निर्वाचनबाट दिएका छन् । यसबाट राजनीतिक दल, नेताहरुले विगतका कमजोरीहरुको गम्भिर समिक्षा गरेर कमजोरीको पहिचान मात्र होइन, भोलिको समाधान र मार्गचित्र समेत तयार गर्न सक्नुपर्छ । तब मात्र जनताले पुनः विश्वास र भरोसा गर्ने अवस्था निर्माण हुन सक्छ । अन्यथा, कथित पुराना, ठुला दल, शीर्ष नेताको नाम जपेर जनता सधैं साथमा नरहने निश्चित छ ।