स्वतन्त्र पार्टीको उदय र सुरुवाति खराब परिदृश्य

सम्पादकीय
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको छोटो समयमै नेपाली राजनीतिमा उदायो । त्यो पनि यथेष्ट तयारी बिना अब्बल शक्तिका रुपमा । न उसले आफ्ना सिद्धान्त र मार्ग आम रुपमा प्रष्ट खाका नै ल्याएको थियो । तर, चामत्कारिक रुपमा स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचनमै राजधानी सहित ठुला शहरमा ७ सिटमा शानदार जित हासिल ग¥यो । समानुपातिक निर्वाचन प्रणालीमा पनि १४ लाख बढी मत हासिल गरेको छ । जसबाट १३ जना संघीय सांसद चयन गर्ने अभिमत पाएको छ । गत मंसिर ४ गते भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी चिन्ह मार्फत उल्लेख्य मत हासिल गर्दा परम्परागत ठुला भनिएका राजनीतिक दलहरुलाई झड्का लाग्यो । स्वतन्त्र पार्टीले जित्न नसकेका उम्मेदवारी दिएका कयौं स्थानमा पनि चुनावी नतिजा फरक पार्न सफल रह्यो ।

यसपटकको निर्वाचनबाट स्वतन्त्र पार्टीको चौतर्फी चर्चा चुलिएको थियो । नेपाली राजनीतिमा पुरानै पात्र र प्रवृत्तिको अतिवादबाट आजित नेपालीले भिन्न आशा सहित रास्वपालाई विकल्पको रुपमा छानेका थिए । तर, चुनावी अन्तिम नतिजा सार्वजनिक हुँदा सम्म नै स्वतन्त्र पार्टीका अनेक विवाद र प्रकरण बाहिर आउन थालेका छन् । जसले स्वतन्त्र पार्टी पनि उही पुरानै पार्टी जस्तै बन्ने पो हुन् कि भन्ने प्रश्न र संशय अहिले नै उठिसकेको छ । समानुपातिक सांसद् छनोट गर्दा विधि पद्धति मिच्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद उत्पन्न भएको छ । प्राइमरी इलेक्सनबाट निर्माण गरिणको बन्दसूचीको क्रमसंख्या मिचेर सांसद छनोट गर्न लागिएको भन्दै सोही पार्टीको एक समूहले पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा पुगेर खबरदारी नै गरेका छन् । उता मकवानापुरमा अन्र्तघात भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति माथि संगीन आरोप लागेको छ । रास्वपाका जिल्ला सभापति राजकुमार न्यौपानेले आफनै पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको आरोप लगाउँदै उनलाई जिम्मेवारीबाट मुक्त गर्न मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा निवेदन दिएका छन् । चुनावकै अनुक्रममा पार्टी सभापति रवि लामिछाने माथि अमेरिकी नागरिकता लिएको विषयमा छानविनका लागि उजुरी परेको छ । अहिले सिआइवीले छानविन गरिरहेको छ ।

पार्टी दर्ता भए लगत्तैको निर्वाचनमा रास्वपाले राष्ट्रिय दलको हैसियत बनायो । प्रतिनिधि सभामा चौथो स्थान प्राप्त गर्न सफल भएको छ । यो नेपाली राजनीतिका लागि सुखद र सकरात्मक कदम थियो । यसले ठुला राजनीतिक दलहरुलाई पनि सुध्रिन र सच्चिन जबरजस्त सन्देश दिएको छ । यदि समयमै सच्चिएनन् भने जनताले थप विकल्प खोज्ने र रोज्ने कुरामा रोकिने छैनन् । तर, नेपाली राजनीतिक दलको दुर्भाग्य भनौ, जुन राजनीतिक दलले जनताको उल्लेख्य अभिमत पाउँछ । त्यो प्रकारान्तरमा अनेक विवाद, प्रकरणमा मुछिन्छ, जनअपेक्षा विपरित कार्यशैली अपनाउँछ । र आफ्नो पार्टी, देशलाई थप एकतावद्ध, विकास र समृद्धिको पथमा लैजानुको बदला आफै विघटन र बिभाजनको अवस्थामा पुग्छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनाव मार्फत ठुलो आशा र भरोसाका रुपमा अभिमत दिएका छन् । बिडम्बना सुरुवातमै एक पछि अर्को विवादित गतिविधि र कार्यशैली अपनाउन थालेको विषयले रास्वपा पनि पुरानै पार्टी, पात्र र प्रवृत्तिको नियति भोग्ने हो कि ? यसमा रास्वपाले समयमै सोचोस् र नागरिक अपेक्षा र भावना अनुसार आफुलाई सच्चाओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *