प्रधानमन्त्री प्रचण्ड र नयाँ सरकारलाई शुभकामना

सम्पादकीय
नेपालको राजनीतिमा बेला बेला अनेकन निर्णय, घटना र परिघटनाहरु अस्वभाविक रुपमा आउँछन्, जसले कसैलाई सरप्राइज बनाउँछ त कसैलाई दुखित र स्तब्ध तुल्याउँछ । आइतवार मात्र नेपाली राजनीति पुरै युटर्न हुने गरी बदलिएको छ । हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वमा चुनावी गठबन्धन गरेको सत्तारुढ गठबन्धन भत्किएको छ र साढे दुई वर्ष सम्म आफैले निरन्तर प्रतिगमन करार गर्दै संविधानको रक्षा र स्थिरताको नारा लिएर चुनावमा गएको नेकपा माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन छोडेर उही ‘प्रतिगामी’ दल नेकपा एमालेको काधमा चढेर सत्ताको बागडोर सम्हाल्न पुगेको छ । र करिब दुई अभिमतका बिच सत्ताबाट साढे दुई वर्षमै आलोपालो र आफ्नै पार्टी विवादको अल्झनबाट सत्ता च्युत हुन पुगेको एमाले अध्यक्ष केपी शर्मा ओलीले उनै प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन जनाएका छन् । यसमा नयाँ शक्तिको रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतको समर्थन पनि प्राप्त छ ।

गणतान्त्रिक मुलुक बनेपछि पहिलो प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्ड तेस्रो पटक सत्ताको बागडोर सम्हाल्न पुगेका छन् । २०६४ सालको निर्वाचनबाट सबै भन्दा ठुलो दल सहित त्यसको नेता र प्रधानमन्त्री बनेका प्रचण्ड प्रधानसेनापति प्रकरणका कारण छोटो अवधिमै राजीनामा दिएका थिए । कांग्रेस र एमालेसँगको सहकार्य तोड्दै अघि बढ्न खोजेपछि त्यस बेलाको सरकार दुर्घटनामा प¥यो । त्यसको ८ वर्षपछि उनी २०७३ साउन १९ गते भने दोस्रो पटक सरकारको नेतृत्वमा पुगे । त्यसपछि उनी सरकारको नेतृत्व गर्नेभन्दा ‘अरूलाई प्रधानमन्त्री बनाउने’ भूमिकामा सीमित हुँदै आएका थिए । यसपटक चुनावबाट आफ्नो पार्टी तेस्रो स्थानमा खुम्चिए पनि अहिले भने तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । पहिलो दल बनेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बनिरहेको छ । दोस्रो दल बनेको नेकपा एमालेले तेस्रो दल बनेको माओवादीलाई नेतृत्व दिएको छ ।

र अब नयाँ सरकार बन्दा नबन्दै यसको आयु र स्थिरताका विषयमा समेत अनेकन संशय उठिरहेको छ । उसो त नेपाली राजनीतिमा राजनीतिक दलहरुको एकताको आयु मात्र होइन, सरकारको आयु पनि उति लामो नभएको बिर्सनलायक विगत छ । अहिले सार्वजनिक समाचार अनुसार पहिलो साढे २ वर्ष माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । बाँकी साढे २ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । तर, यो सहमति कार्यान्वयन हुनेमा र सरकार पुरा पाँच वर्ष वर्तमान सरकार नै चल्ने कुरामा देशी विदेशीबाट खेलिने भूमिकाका कारण पनि प्रश्न र संशय स्वभाविक छ । यसमा अर्को संशय कुनै एक, दुई, तीन राजनीतिक दल मिल्दा पनि बहुमत प्राप्त नहुने परिवेश छ । यसमा दलहरुका अनेकन मतभिन्नता मात्र छैनन्, सत्ता र शक्तिको स्वार्थहरु पनि छन् । यी र यस्ता अनगिन्ती संशय र सवालहरुलाई प्रधानमन्त्री प्रचण्ड र नयाँ सरकारले गलत सावित गर्न सकुन्, र मुलुक स्थिरता, विकास र समृद्धिको दिशामा अग्रसर हुन सकोस् । सफल कार्यकालको शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *