रवी र रास्वपाको अग्नी परीक्षा

सम्पादकीय
हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनबाट मुलुकले नयाँ सरकार पाएको छ । तर, नयाँ सरकार गठन यसरी भएको छ कि चुनाव अघिको सत्ता गठबन्धन एकाएक भत्किएको छ र चामत्कारिक रुपमा नयाँ गठबन्धन बनाइएको छ । निर्वाचन मार्फत प्राप्त अभिमतमा प्रष्ट बहुमत हासिल नभएकाले आलोपालो प्रणालीको छलफलमा कुरा नमिले पछि पहिलो शक्ति बनेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा सीमित भएको छ । तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री सहित सत्ताको बागडोर सम्हाल्न पुगेको छ । अघिल्लो निर्वाचनमा करिब दुई तिहाई बहुमत प्राप्त सरकारको नेतृत्व गरे पनि साढे दुई वर्षमै अपमानजनक तबरले सत्ता च्युत भएको नेकपा एमालेले तेस्रो दल बनेको माओवादी र यसका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन जनायो । र प्रधानमन्त्री चयनका लागि पहिलो चरणमा दिइएको अन्तिम समय अवधिमा पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्यो । जसले सत्ताका लागि नेपाली राजनीतिमा जे पनि हुन सक्ने पुराना घटनाहरुको पुनरावृत्ति गराएको छ ।

यसपटकको निर्वाचनमा पुराना राजनीतिक दलहरुको सिट संख्या घटबढ र आपसमा मत तानातानको चक्र त घुमिरहेकै थियो । यसपटक पूर्व सञ्चारकर्मी रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा चामत्कारिक रुपमा नतिजा लियो । हुन त वैकल्पिक शक्तिको रुपमा विगतका निर्वाचनमा कहिले विवेकशील साझा पार्टी त कहिले साझा पार्टीका रुपमा नआएका होइनन् । तर, यसपटक रास्वपाले घण्टी चिन्ह मार्फत ठुला पुराना भनिएका राजनीतिक दलहरुलाई पनि झस्काउने गरी मत प्राप्त ग¥यो । प्रदेश सभामा फरक मतका साथ उम्मेदवारी नदिएको रास्वपाले प्रत्यक्ष तर्फ समेत मुख्य शहरहरुमा चामत्कारिक जित निकाल्यो । समानुपातिक तर्फ पनि उल्लेख्य मत ल्यायो । जसबाट प्रतिनिधि सभामा २० सिट ल्याएर अहिले गठित नयाँ सरकारमा शक्तिशाली मन्त्रालय समेत प्राप्त गरेको छ । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको नयाँ सरकारमा रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । अरु केही मन्त्रालयमा समेत उक्त पार्टीले दाबी गरिरहेको छ ।

अहिले रवि लामिछाने र उनको पार्टी पुरानै पार्टी र नेताहरुको नेतृत्वमा सरकारमा जान हुन्थ्यो कि हुँदैनथ्यो भन्नेमा समर्थक र नेता, कार्यकर्ता बिभाजित देखिन्छन् । यद्यपि, बुझ्नु पर्ने विषय के हो भने राजनीति गर्ने भनेको अन्ततः सत्ताकै लागि हो । सत्ता मार्फत मुलुकको परिवर्तन, स्थिरता, विकास र समृद्धि हो । यसर्थ, रविले अहिले केही गर्ने हुटहुटी बोकेर सरकारमा जानु अस्वभाविक र अन्यथा विषय होइन । तर, उनले अहिले मुलुकको जुन जिम्मेवारी सम्हालेका छन्, त्यस मन्त्रालय मातहतमै उनको नागरिकता र पासपोर्टका विषयमा अनुसन्धान भइरहेको छ । नैतिक आचरणका हिसाबले अहिले नै गृहमन्त्रालय नलिएर अरु कुनै मन्त्रालय लिएर मुद्धाको किनारा लाए पछि यस मन्त्रालयको जिम्मेवारी लिँदा अझ राम्रो हुन्थ्यो । जे होस् उनले छोटो समयमै पार्टी स्थापना गरेर सत्ताको शक्तिशाली पद हासिल गर्न सफल भएका छन् । यसमा उनी र उनको पार्टी कति सफल रहन्छ ? जनअपेक्षालाई सम्बोधन गर्ने शैलीमा कति काम गर्छन् ? पुराना राजनीतिक दल, पुरानो प्रणाली र जडता तोड्न कति सक्षम हुन्छन् ? त्यो भने हेर्न केही समय कुर्नु पर्ने नै छ । चौतर्फी निराशा बिच उदाएका लामिछाने र वर्तमान सरकारलाई सुशासन, स्थिरता, विकास र समृद्धिको दिशामा अघि बढ्न सफलता मिलोस्, शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *