फेरि बढ्दो कोरोना र सचेत प्रयत्न

सम्पादकीय/ कोरोना भाइरसको संक्रमण भयावह बिर्सेर मानिसहरु अहिले आफ्नो नियमित कर्म र दैनिकीमा व्यस्त छन् । एक मानिस देखे अर्कोृ मानिस भयभित हुने अवस्था विगत भइसक्यो । एउटै परिवार, श्रीमान श्रीमति समेत दुर भएर कोरोनाको सामना गर्दाको दुःख, पीडा र सकसका कथाहरु पुराना भइसके । दुई वर्ष बढी कोरोना भाइरसको संक्रमणले जनजीवन पूर्णतः प्रभावित भयो । लाखौ नागरिक कोरोना संक्रमणको सिकार बने । हजारौ नागरिकले अकालमै ज्यान गुमाउन बिबश बने । कोरोनाका कारण बिभिन्न पेशा, व्यापार, व्यवसाय गरेकाहरु मध्ये अधिकको उठिबास लाग्यो । मुलुकको अर्थतन्त्र समेत धराशयी बन्ने अवस्था सिर्जना भयो । कुनै अचुक औषधी पत्ता नलागे पनि रोकथामको उपाय स्वरुप आएको खोपले विस्तारै कोरोना संक्रमण दर विश्वव्यापी रुपमै कम हुँदै गयो । कोरोनासँग लड्दै, जित्दै फेरि पुरानै लय र जीवन दैनिकीमा फर्कन अहिले प्रयासरत छन् ।

अहिले फेरि मानिसहरुलाई संशकित र भयभित बनाउने खबर सार्वजनिक भइरहेको छ । कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । ८ सय ५८ जनाको नमुना परीक्षणमध्ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो । मन्त्रालयका अनुसार बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् । यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६ जना कोरोनाका संक्रिय संक्रमित थिए । यस्तै, सोमबार १ जनामा कोरोना संक्रमित थिए भने १० जना कोरोनाका सक्रिय संक्रमित थिए । पछिल्लो साताको कोरोना संक्रमण दरले यो फेरि बढ्न सक्ने खतरा देखिएको छ । पहिले पनि सरकार र नागरिक सबैको बेवास्ताका कारण संक्रमण भयावह भइरह्यो । केही कम हुँदै गए पछि मानिसहरु कोरोनाबाट बच्नका लागि आवश्यक पूर्ववत सचेतता अपनाउन छोडिसकेका छन् । खोप पनि मात्रात्मक रुपमा नलगाउने, माक्स, सेनिटाइजरको प्रयोग पनि अनिवार्य रुपमा नगर्ने लगायतका गतिविधिले कोरोना जोखिम बढेको छ ।

छिमेकी चीनमा त कोरोना संक्रमणको भयावह छ । अझै पनि कैयन शहरहरुमा लकडाउन भइरहेको छ । कोरोना पश्चात केही महिना डेँगुको संक्रमण र भयावह समेत भोगेको नेपालमा अहिले फेरि कोरोना यसरी बढ्न थाल्नुले खतराको संकेत गर्छ । तर, यस्तो जोखिम र खतराको बिश्लेषण गरेर न तीन तहको सरकारले समयमै योजना बनाउँछ, न त नागरिक नै यथेष्ट पूर्ववत सचेतता अपनाउछन् । कोरोना संक्रमण भइसके पछि, यसबाट जनधनको ठुलो क्षति बेहोरेको विगत हाम्रा सामु ताजै छ । अतः कोरोनाको अहिले बढ्दो दरबारे समयमै सचेत भएर आवश्यक कदम चाल्नुपर्छ । भनिन्छ, रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । विगतमा हरेकजसो नागरिक र परिवारले कोरोनाको संक्रमण सकस बेहोरेकाले फेरि उस्तै पीडा र सकसको अवस्था कुनै पनि हालतमा सिर्जना गर्नु हुँदैन । सरकार र सम्बन्धित सरोकारवाला सबैलाई समयमै सजग बनाऔ, खबरदारी गरौं, आवश्यक सहयोग र समन्वय गरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *