जीवित शिशु मृत घोषणा प्रकरण र पाठ

सम्पादकीय
स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील क्षेत्र हो । मानिसको जीवन सफल र सार्थक हुनका लागि स्वास्थ्य ठिक हुनुपर्छ अर्थात् स्वस्थ भएमा मात्र जीवन गतिशील बन्न सम्भव हुन्छ । यसर्थ, स्वास्थ्य क्षेत्र राज्य र हर नागरिकको प्राथमिकताको विषय बन्नुपर्छ । तर, दुर्भाग्य नेपालमा स्वास्थ्य, शिक्षा जस्ता आधारभुत र अपरिहार्य विषयमा राज्यले खास प्राथमिकता र योजनावद्ध रुपमा काम गर्न सकिरहेको छैन । त्यसमा बेला बेलामा सरकार, स्वास्थ्य सम्बद्ध अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मीबाट हुने गम्भिर बेवास्ता र लापरवाहीले समग्र देश, चिकित्साक्षेत्रकै बदनाम हुने गरेको छ भने सर्वसाधारण नागरिकले कतिपय अवस्थामा अकालमै ज्यान गुमाउन विवश भएका छन्, कतिपय अवस्थामा सकसपूर्ण जीवन बाँच्न बाध्य भइरहेका छन् ।

कहिले एउटा अंगको अप्रेशन गर्नुपर्नेमा अकैं अंगको अप्रेशन भएको, कहिले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको, कहिले जिवित व्यक्तिलाई मृत घोषणा गरिएको जस्ता खबर आइरहेका छन् । जसले नेपालको स्वास्थ्य क्षेत्र कति बेथितिग्रस्त र अव्यवस्थित छन् ? प्रष्ट देखिने गरेको छ । मंगलबार मात्रै कोसी अस्पतालको इमर्जेन्सीमा पु¥याइएकी १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै डाक्टरले फिर्ता पठाएकी शिशुको दाहसंस्कारको तयारी चल्दै गर्दा शिशुका हातगोडा चलमलाएर जिवित रहेको पाइएको छ । विराटनगरस्थित कोसी अस्पतालले उपचारका लागि ल्याइएकी १८ दिने शिशुलाई जीवित छँदै मृत घोषणा गरेर घर फर्काइदिएको थियो । मोरङको जहदा गाउँपालिका– ३ भाथीगन्जीका दिलीप मुखिया र उनकी पत्नी उमाले श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार बिहान छोरीलाई कोसीको इमर्जेन्सीमा लगेका थिए । तर, ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवले धड्कन बन्द भइसकेको भन्दै छोरी फिर्ता लैजान भनेपछि अस्पतालमै उनीहरूसहित आफन्तको रुवाबासी चल्यो । उपचार, यथेष्ट परीक्षण बिना यस्तो किन र कसरी भनियो ? यसबारे अध्ययन, छानविन अवश्य होला । तर, यहाँ जे भयो, एक जिवित शिशुलाई दाह संस्कार गर्ने विन्दु सम्मको परिदृश्य हेर्ने हो भने निकै भयानक र कहाली लाग्दो छ । जसमा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीको गम्भिर कमजोरी भएको प्रष्ट छ ।

उपचारका क्रममा चिकित्सकबाट भएको त्रुटिका बारेमा छानबिन अपरिहार्य छ । काम गर्ने क्रममा गल्ती, कमजोरीहरु हुन्छन्, हुन सक्छन् । त्यसलाई सुधार गर्न सकिन्छ, सच्याउन सकिन्छ तर, कतिपय गल्ती अपराध भन्दा पनि भयंकर हुन्छन् । जुन माफी योग्य हुँदैनन् । यस प्रकरणमा पनि चिकित्सकबाट गम्भिर त्रुटी मात्र होइन, अपराध सरह कार्य भएको छ । यदि जिवित शिशुको यतिकै दाहसंस्कार गरेको भए के हुन्थ्यो ? सोच्दा सम्म पनि मन भयभीत हुन्छ । यसर्थ, मृत घोषणा गर्ने डाक्टरमाथि छानविन सँगै यथोचित विभागीय कारबाही गर्ने, भोलिका दिनमा यस्तै घटनाहरु दोहोरिन नदिने तर्फ सरकार र सरोकारवाला निकायले कडाईका साथ कदम चाल्नुपर्छ । यी र यस्ता घटनाले अनेकन समस्या, संकट र सकसमा जीवन बाँचिरहेकाहरुको सारथी बनेका चिकित्सक मात्र बदनाम होइन, सिंगो स्वास्थ्य क्षेत्र र देश समेत बदनामी हुन्छ । यसतर्फ चिकित्सक, स्वास्थ्यकर्मी अझ थप संवेदनशील हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *