हिउँ विहीन हिमालबारे

सम्पादकीय/
इतिहासले ठग्यो भनु भने, शहिदको गाथा छ
भुगोलले ठग्यो भनु भने, सर्वोच्च सगरमाथा छ
यस कविताको हरफमा उल्लेख भए जस्तै नेपाल त्यस्तो देश हो, जहाँ विश्वकै सर्वोच्च शिखर सगरमाथा छ । सगरमाथा मात्र छैन, दर्जनौ हिमालहरु छन्, र त हिमालयको देश हो नेपाल । उस्तै अनुपम संस्कृति र प्रकृतिहरु छन् नेपालमा । एउटै देश भित्र हिमाल, पहाड र तराई छ । जसको अनेकन विविधता, विशेषता र सौन्दर्यताहरु छन् । यद्यपी, पछिल्लो केही वर्ष यता नेपालका हिमालहरु, अनुपम संस्कृति र प्रकृतिहरुको सुन्दरतामा अनेकन असर देखा परिरहेका छन् । हिमालमा हिउँ नदेखिने अवस्था छ । प्रकृतिहरु डोजरे विकासले उजाड बनिरहेका छन् । संस्कृतिहरुमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दो छ ।

हिमाल र हिउँको कुरा गर्दा विगत वर्षमा यतिवेला सेताम्ये देखिसक्थे हिमाल । तर, हिमशृंखलाहरू माघ लागिसक्दा पनि कालापत्थरजस्तै अवस्थामा छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदको तीन महिना (१५ मंसिरदेखि १५ फागुन)सम्म औसत ६०.९ मिलिमिटर (वार्षिक वर्षाको तीन प्रतिशत) वर्षा हुनुपर्ने हो । तर, हिउँदका डेढ महिना (१ माघसम्म) जम्मा ०.१ मिलिमिटर मात्र वर्षा भएको छ । जब कि यो डेढमहिने अवधिमा कम्तीमा पनि १७.१६ मिलिमिटर वर्षा भइसक्नुपथ्र्यो । गत वर्ष यो अवधिमा २७.१ मिलिमिटर वर्षा भइसकेको थियो भने हिउँदका तीन महिनामा ७४ मिलिमिटर वर्षा भएको थियो । मध्यहिउँदमा पुगिसक्दा एक–दुई ठाउँबाहेक हिमपात पनि हुन सकेको छैन । पश्चिमी न्यूनचापीय प्रणाली नआउँदा यसपटक वर्षा र हिमपात हुन नसकेको विज्ञ बताइरहेका छन् ।

केही वर्ष यता विश्वव्यापी रुपमा जलबायु परिवर्तनको असर बढ्दो क्रममा देखिएको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । जलबायु परिवर्तनले नेपालका हिमालदेखि बातावरण र मौसममा देखा परेको बदलाव आम रुपमा महुशुस गरिएको पनि छ । फलतः विदेशी दातृ निकायको सहयोगमा केही जलबायु परिवर्तन सम्बन्धी कार्यक्रम, परियोजनाहरु पनि सञ्चालन भए । केही वातावरणीय सन्तुलन, रुख बिरुवाको विस्तार र संरक्षण, डोजरे विकासलाई निरुत्साहित गर्ने लगायतका पहल भए । अहिले भने यसले निरन्तरता पाउन नसकेको सर्वत्र देखिन्छ । तर, जलवायु परिवर्तनका असरहरुका अनेक आयाम नेपालमा ऋतु ऋतुमा देखिरहेको छ । हिमालमा हिउँ नहुनु, हिमाल, पहाड र तराईका बालीनाली भइरहेका ठाउँमा नहुनु, नभएका ठाउँमा पनि हुन थाल्नु, वातावरण, मौसममा देखा परेका परिवर्तन र खराब सूचकहरुका कारण जरुर खोज्नुपर्छ । र समयमै सरकार र सरोकारवालाले सचेततापूर्वक कदम चाल्न अपरिहार्य देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *