रवि, रास्वपा र निर्णय


सम्पादकीय/नेपाली राजनीति फेरि उही पुरानो फोहोरी खेल र अस्थिरताको चक्रमा फसेको छ । गत मंसिर ४ मा भएको संघीय संसद र प्रदेश संसदको निर्वाचनमा कुनै पनि दललाई प्रष्ट बहुमत आएन । प्रारम्भिक निर्वाचन परिणामबाट नै मुलुकको राजनीतिक अस्थिर हुने संकेत देखिसकेको थियो । यो प्रधानमन्त्री चयनको विन्दु सम्म आइपुग्दा त प्रष्ट व्यवहारमा देखिसकेको थियो । चुनावमा सत्ता गठबन्धन बनाएर होमिएको माओवादी र यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताकै लागि पुरै युटर्न भए । र प्रतिगमन करार गरिएको एमालेसँगको गठबन्धनबाट प्रधानमन्त्री बने । पानी बाराबारको अवस्थाबाट माओवादी र एमाले सत्ता साझेदार बने । यसमा नयाँ शक्तिको रुपमा उदाएको पुर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत सरकारमा सामेल भयो । यसलाई धेरैले रुचाएका थिएनन् । अहिले लामिछानेको नागरिकता प्रकरणको विषय पछि उत्पन्न विवाद पश्चात रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । अब नेपाली राजनीति कता मोडिने भन्ने चिन्ता सर्वत्र छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल भएको एक महिनामा गृहमन्त्रालय सम्हालेका रवि लामिछाने र उनी नेतृत्वको रास्वपा चरम विवादमा फस्यो । गृहमन्त्री लामिछानेको नागरिकता प्रकरणबाट मन्त्री मात्र गएन, उनको सांसद र पार्टी सभापति पद समेत गुम्यो । जसका कारण चामत्कारिक रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वत्र आलोचना खेपिरह्यो । नागरिकता प्रकरणमा सर्वोच्चको फैसला पछि पुनः नागरिकता लिएका लामिछाने गृहमन्त्रालयमै पुग्ने अडानमा देखिए । यही विषयमा प्रधानमन्त्री अनिच्छुक देखिए पछि सत्ता गठबन्धन महिना दिन पुरा नहुँदै जोखिममा परेको छ । सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमति अनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिने निर्णय गरे पछि मुलुक अस्थिरता उन्मुख भएको छ । यद्यपि, रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ । आजको निर्णयसँगै रास्वपाको पहिलो सत्तायात्रा ४० दिन नपुग्दै टुंगिएको छ । गत पुस ११ गते रास्वपा सभापति लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका थिए ।

नेपाली राजनीतिमा रवि र उनी नेतृत्वको पार्टीले लिएको चामत्कारिक अभिमत पुराना पार्टी प्रतिको बितृष्णा मात्र होइन, नयाँ प्रतिको आशा पनि हो । यसकारण यस पार्टी अहिले नै हतारमा सरकारमा नजाओस् भन्ने धेरैको चाहना थियो । प्रतिपक्षीमै बसेर संसदमा जनताको आवाज मुखरित गरोस् भन्ने थियो । तर, रवि र उनी नेतृत्वको पार्टी पुरानै दलसँगको साठगाठमा सत्तामा पुग्यो । सत्तामा पुगे पछि रविका कारण पार्टी विवादित र बदनाम बन्यो । यसो भन्दै गर्दा यो पाटो पनि बिर्सिनु हुँदैन कि रविकै कारण रास्वपाले गत निर्वाचनमा चामत्कारिक नतिजा हासिल गरेको हो । सरकारमा रहँदा अरु पुराना दल र नेताहरुको जस्तै स्टन्ट र कार्यशैलीबाट आलोचित बन्यो । नागरिकता प्रकरणमा उनले प्रक्रियागत जे गल्ती गरे, त्यसको सजाय पाइसकेका छन् । राहदानीको विषय अहिले अनुसन्धानमा छ । यसबाट उनले पाठ सिक्नु बाहेक उनीसँग अर्को विकल्प छैन । गत मंसिरमा सम्पन्न चुनावदेखि हालको अवस्था सम्म आइपुग्दा रवि र उनको पार्टीले धेरै उतार चढाव बेहोरिसकेको छ । अब अहिले सम्मको घटना र उतारचढावबाट पाठ सिकेर जनताको पक्षमा आवाज बुलन्दित गर्न लाग्नुपर्छ । सरकारबाट बाहिरिने निर्णय गर्दाको पत्रकार सम्मेलनमा उनी आक्रोशित रुपमा प्रस्तुत भए । जुन स्वभाविक देखिएन । त्यसरी पनि नेतृत्व र पार्टी अघि बढ्न सक्दैन मिडियामा हुँदा राजनीतिज्ञलाई गाली गर्ने, राजनीतिमा हुँदा मिडिया र मिडियाकर्मीलाई गाली गर्ने प्रवृत्ति धेरैले निको मानेका छैनन् । यद्यपि, मिडिया र मिडियाकर्मीमा पनि प्रवृत्तिजन्य समस्या र बेथिति नभएको होइन । अब थप संयम र सचेतताका साथ भोलिका दिनमा अझ थप सशक्त उपस्थिति जनाउने गरी लाग्दा नै रवि र रास्वपाका लागि हितकर हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *