सम्पादकीय
जब मुलुकमा चामत्कारिक रुपमा नयाँ सरकार बन्यो । यसमा पुरानो सत्ता गठबन्धन फेरिएन मात्रै, नयाँ शक्तिको रुपमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत सरकारमा सामेल भए पछि मुलुकको राजनीतिक समिकरण बदलियो । तर, देश बदलिने आशामा भने सरकार बनेको महिना दिनमै निराशामा परिणत भयो । नेपाल सरकारको गृहमन्त्री बनेका पूर्व सञ्चारकर्मी रवि लामिछाने नागरिकता प्रकरणमा मुछिए । विधिको शासन, सुशासनको वकालत गर्दै मंसिर ४ को चुनावमा उल्लेख्य मत पाएको रास्वपा र सभापति लामिछाने माथि संगिन प्रश्नहरु उठे । पक्ष, विपक्षमा सामाजिक सञ्जाल, सार्वजनिक स्थल, सञ्चार माध्यममा बहस हुँदा हुँदै सर्वोच्च अदालतले यस मुद्धालाई फास्ट ट्रयाकमा फैसला गर्दै नागरिकताका सवालमा लामिछाने अयोग्य रहेको ठहर ग¥यो । यससँगै उनको गृहमन्त्री, संघीय सांसद र पार्टी सभापति पद गयो । यसपछि लामिछाने प्रति जनताको अभिमत र भावना माथि खेलवाड गरेका अनगिन्ती प्रश्नहरु आए । अझ गम्भिर कुरा त उनको नागरिकता विवादको विषय अदालतले टुंग्याए लगत्तै पुरानै नागरिकता प्रयोग गरेर अवैध रुपमा बनाएको राहदानीको विषय उठ्यो । चुनावबाट चामकात्रिक नतिजा हासिल गरेको रास्वपा र सभापति लामिछाने यस पश्चात एक पछि अर्को गम्भिर प्रश्नले घेरिएका छन् ।
नेपाली राजनीतिमा लामिछाने र रास्वपा माथि गम्भिर प्रश्न उठिरहँदा ४० दिनमै सत्ताबाट बाहिरिने निर्णय गरेको उक्त पार्टीका सभापति लामिछानेले पत्रकार सम्मेलन गरे । जुन पत्रकार सम्मेलनमा मुलधारका सञ्चार माध्यम, त्यसका मालिका र सम्पादक माथि आक्रोशित मुद्रामा उनले धावा बोले । उनीहरुको अवैध सम्लग्नता, पर्दा पछाडिको कुरुप खेल र चरित्रको संगिन आरोप लगाए । यो आरोप अभिव्यक्तिमा लामिछानेको कडा आक्रोश मिसिएको थियो । जसमा उनले संयम गुमाएको प्रतित हुन्थ्यो । एक पत्रकारको रुपमा कडा रुपमा प्रस्तुत हुने लामिछाने नेता हुँदा पनि उस्तै शैलीमा प्रस्तुत भए । जसलाई कतिले सत्ता छोड्नु पर्दाको बर्बराहट भनेर आलोचन गरे भने कतिपयले मिडिया, मिडियाकर्मी र नेपाली पत्रकारितामा पनि चरम बेथिति रहेको भन्दै त्यसको उजागर गर्ने साहस लामिछानेले गरेको भन्दै प्रशंसा र बचाउँ गरिरहेका छन् । लामिछानेले पत्रकार सम्मेलन गरेको २,३ दिन बितिसक्दा पनि लामिछाने पक्षधर, मुलधारका पत्रिका, अनलाइन, यसका सञ्चालक र सम्पादक पक्ष बिच आरोप प्रत्यारोप जारी छ ।
लामिछानेले तथ्यगत या गलत जे अभिव्यक्त गरे । त्यसले सञ्चार जगतको ‘चरित्रबारे’ जबरजस्त एउटा बहस पैदा गरेको छ । यसले समाजलाई दुई ध्रुवमा विभाजन गरेको छ । जुन बहसले नेपाली मिडिया समाजको ऐना हो कि होइन भन्ने प्रश्न गम्भिरतापूर्वक उठान गरेको छ । उसो त रवि लामिछानेले पनि नयाँ शक्तिको रुपमा जनताले विश्वास र भरोसा गरे पनि पुरानै पार्टी, प्रवृत्ति, बेथितिमा आफुलाई सीमित गरेर जनताको अभिमत र भावना माथि खेलवाड गरेका छन् । अब सञ्चार माध्यम, सम्पादक र लामिछानेले एक अर्का बिरुद्ध उठाएका प्रश्नको तथ्यगत हिसाबले जनताको बिचमा जवाफ दिनुपर्छ । लामिछानेले भने जस्तै पत्रकार, पत्रकारितामा पनि समस्या, बेथिति छन् र उसैगरी लामिछाने, उनको नयाँ पार्टी रास्वपामा पनि पार्टी स्थापनादेखि नै अनेकन समस्या र बेथिति देखिसकेको छ । यसमाथि जनता, मिडिया, मिडियाकर्मीले अनेकन कोणबाट प्रश्न उठाएका छन् । मिडियाको निश्पक्ष भूमिका माथि पनि लामिछाने लगायत कयौंले प्रश्न उठाइरहेका छन् । यी र यस्ता प्रश्नबाट सार्वजनिक पद या जीवनमा जोडिएका कोही पनि भाग्न मिल्दैन । कुनै पनि बाहना या विषयान्तर गरेर सुशासन, जवाफदेहिता र पारदर्शिताबाट भाग्न दिनुहुन्न । अहिले बिद्यमान प्रश्नहरु जो प्रति उठेका छन्, उठाइएका छन्, उनीहरु जिम्मेवार रुपमा प्रस्तुत हुनु अपरिहार्य छ ।