सम्पादकीय
विश्व रेडियो दिवस, हरेक वर्षको १३ फेब्रुअरीका दिन मनाइन्छ । विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनको सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरुले ’विश्व रेडियो दिवस’ मनाउने गर्दछन् । सन् १८९४ मा ईटालीका वैज्ञानीक जी मार्कोनीले रेडियोको आविष्कार गरे । एउटा अद्भूत अविष्कार जसले एउटाले बोलेको आवाज अथवा ध्वनी तारविहिन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकियो, सञ्चारको माध्यममा यो एउटा क्रान्ति थियो । नेपाल जस्तो भौगोलिक कठिनाइ र जटिलता भएको देशका लागि त प्रभावकारी सञ्चार माध्यम बन्यो । आजको दिनमा पनि रेडियो, एफएमको पहुँच, प्रभावकारिता र आवश्यकता दुरदराजमा उत्तिकै देखिएको छ । नेपालमा वि.सं. २००७ साल चैत्र २० गते देशको पहिलो रेडियोको रूपमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो । अहिले नेपालमा सामूदायिक र व्यावसायिक गरी झण्डै ६५० वटा एफएम रेडियोहरू सञ्चालनमा छन् भने ९१८ हाराहारीमा मन्त्रालयले इजाजत दिइसकेको छ ।
मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा रेडियोको महत्वपूर्ण योगदान छ । आम सञ्चार माध्यम मध्ये रेडियो सुन्नु या यसमा विश्वास र भरोसा गर्नुका धेरै कारण छन् । हाम्रोजस्तो अन्य मिडियाका लागि तल्लो तहमा पुग्न कठिन भूगोल र साक्षरता दर तथा गरिबी भएको मुलुकमा रेडियो उपर्युक्त माध्यम त हुँदै हो । यो सस्तो उपकरणमा निःशुल्क सुन्न सकिने सञ्चार साधन र माध्यम हो । पत्रिका पढ्न, टीभी हेर्न जस्तो छुट्टै समय नछुट्याएर पनि अरू काम गर्दै रेडियो सुन्न सकिन्छ । कामकाजीका लागि पनि सहज छ । जसबाट सूचना, समाचार, मनोरञ्जन, ज्ञान सबै खालका सामग्री प्राप्त गर्न सकिन्छ । र त रेडियो आजको डिजिटल जमानामा पनि लोकप्रिय छ । तर, पछिल्लो केही वर्ष यता एफएम रेडियो कति चुस्त व्यवस्थापन नहुँदा बन्द हुने अवस्थामा छन् भने कति कर्मकाण्डी हिसाबले मात्र चलिरहेका छन् । कति त अनलाइनका समाचार पढेर, गीत मात्रै बजाएर चल्नु चलाइनुको निरन्तरता मात्र दिइरहेका छन् ।
समय परिवर्तनशील, गतिशील छ । प्रविधिको तिब्र विकास छ । यसक्रममा जति नै विकसित डिजिटल सञ्चार माध्यम आए पनि रेडियोले खास खास संकट र अप्ठ्यारोमा विशेष भूमिका निभाएकै छ । भूकम्प, कोरोनाजस्ता अप्ठ्यारामा रेडियोले खेलेको भूमिका हरेक नेपालीलाई सम्झना छ । पछिल्ला दिनमा सूचना प्रविधिको फड्कोले रेडियोको क्रेज घट्दै गएकोमा धेरैको चिन्ता छ । कतिपयले रेडियोको भविष्य उपादेयता सकिएको दाबी समेत गरिरहेछन् । तर, यसरी चलाइएको रेडियोको भविष्य माथिको बहस, प्रश्न र संशय निरर्थक छ । समस्या रेडियोमा होइन, त्यसमा पस्किने सूचना, सामग्री, समय सापेक्ष व्यवस्थापन, योग्यता र तौरतरिकामा छ । फगत यस्तो कमजोरी श्रोताले सुन्न छोडे भनेर रेडियोकर्मीले आफ्नो कमजोरी श्रोतामा थोपरिरहेका छन् । रेडियोको भविष्यको चिन्ता अघि रेडियोकर्मी र व्यवस्थापन पक्षले खेलिरहेको भूमिकाको समिक्षा जरुरी छ । रेडियो सेट हराउन थाले पनि अडियो सुनाउन अरू थुप्रै विकल्प थपिएका छन् । खासमा रेडियो सेटका अनेकन विकल्प बढेका छन् । सवाल त्यसको उपयोग र अपडेट कसरी गर्ने ? र, सुन्ने श्रोताका लागि चाहिएको के हो ? दिने के ? भन्ने मुख्य सवाल हो । नत्र कानले सुन्न नछोड्दा सम्म सुन्ने माध्यमको भविष्य कदापि सकिने छैन । दुरदराज, गरिब, विपन्नको असली सारथी बनिरहेको रेडियोको हठात ‘डेट एक्सपायर’ हुने छैन ।