नेपाली क्रिकेट टोलीलाई बधाई

सम्पादकीय
नेपालमा पछिल्लो केही वर्ष यता क्रिकेट क्रेज ह्वात्तै बढ्दो क्रममा छ । ग्रामीण क्षेत्रमा भलिवल र शहरी क्षेत्रमा फुटबलको क्रेज देखिने नेपालले केही वषमै क्रिकेट खेलमा उल्लेख्य छलाङ समेत मारेको छ । छिमेकी भारतमा क्रिकेट प्रतिको आकर्षण सर्वाधिक देखिन्छ । त्यसको प्रभाव र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त गर्न थाले सँगै संघीय राजधानी, ठुला शहरदेखि गाउँ सम्मै क्रिकेट क्रेज फैलिएको छ । फैलिँदो क्रिकेट क्रेजको पछिल्लो उदाहरण संघीय राजधानी काठमाडौंको किर्तिपुर खेल मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टू मा खेलप्रेमीको उपस्थितिले पनि दर्शाएको छ । भलै, क्रिकेटका सम्भावना, सरकार, क्यानको भूमिका, अनेकन विवाद र फण्डाले यसको भविष्यका बारेमा भने अनेकन प्रश्न र संशय पैदा भइरहेको छ ।

क्रिकेट खेलको समग्र विकास लागि नेतृत्वदायक संस्था नेपाल क्रिकेट संघ आफै पटक पटक विवादमा पर्दै आएको छ । जसका कारण आईसीसीले कारबाही समेत गरिसकेको छ । उसो त नेपाली क्रिकेट टिम भित्रै पनि अनेकन समस्या र विवाद छ । चर्चित क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्धा अदालतमा विचाराधीन हुँदा हुँदै राष्ट्रिय टिममा समावेश गरेको भन्दै चर्को बिरोध भइरहेको थियो । यसका बाबजुद भएको आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले शानदार जित हासिल गरेको छ । भलै च्याम्पियन बनेर उपाधि चुम्न सकेन । कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारीसँगै नेपालले च्याम्पियन बनेको स्कटल्याण्ड माथि २ विकेटको रोमाञ्चक जित हात पा¥यो । यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ । नेपालले लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो । लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो । १३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर अहिले नेपालको ब्याटिङमा पनि उल्लेख्य सुधार गरेको संकेत दिएका छन् ।

प्रतियोगिता या खेल भए पछि जित हार स्वभाविक विषय हो । यद्यपि, पहिले हासिल गरेको सफलतालाई भने निरन्तरता दिने या पुरानो स्टाटसलाई कायमै राख्ने चुनौती हुन्छ । ऐतिहासिक सफलता प्राप्त गर्दै नेपालले केही वर्ष अघि बनाएको ओडिआई स्टाटसलाई कायम राखेर नयाँ सफलता चुम्ने चुनौती अहिले नेपाली क्रिकेट टिम र क्यानलाई छ । यसमा अहिले नेपाली क्रिकेटरले गरेको प्रदर्शन प्रशंसनीय छ । सीमित स्रोत साधनका बाबजुद पनि जुन सफलता खेलाडीहरुले दिलाएका छन्, त्यो अभुतवपूर्व छ । अब नेपाल सरकार र क्यानले क्रिकेट खेल, खेलाडीका बिचमा देखिएका अनेकन विवाद, आरोप र संशयलाई अन्त्य गर्दै क्रिकेटमा सुधारिएको प्रदर्शन र सफलतालाई निरन्तरता दिने दिशामा अघि बढाउनु पर्छ । फेरि कुनै पनि बाहना र विवादमा क्रिकेट खेललाई पछि फर्कने परिस्थिति कसैले पनि सिर्जना गर्नु हुँदैन । क्रिकेट खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट देशका रुपमा चिन्न चिनाउन थाल्नु हाम्रा लागि सुखद र गौरवको विषय हो । अहिलेको लगातारको जित सहित क्लीन स्वीपका लागि नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *