लघुवित्तको ऋण र गलपासो

सम्पादकीय
अहिले सिंगो मुलुक आर्थिक मन्दीमा छ । व्यापार व्यवसायमा उल्लेख्य प्रतिशत ह्रास आएको छ । अब भविष्य के होला भन्ने भयले चौतर्फी समस्या र संकट निम्ताइरहेको छ । बैंक देखि वित्तीय संघ संस्थादेखि सहकारी सम्ममा अहिले सकट पैदा भइरहेको छ । कैयन सहकारी त उठिबास लाइसकेको अवस्था छ । जसका बारेमा प्रहरी, प्रशासन र सम्बद्ध निकायमा उजुरी, मुद्धा परेको छ । तर, त्यसबारेमा सरकार र सम्बन्धित निकायले यथोचित कदम चाल्न सकिरहेको छैन । धेरै सहकारीहरु अहिले बचत फिर्ता गर्न नसकेर बदनाम बनिरहेका छन् भने लघुवित्तको ऋण–चक्रमा परेका हरेकजसो घरमा अत्यासलाग्दो कथा छ । यतिसम्म कि गाउँमा ताल्चा लगाएका घर देखियो भने यस्तो अनुमान लगाउन सकिन्छ– ऋण तिर्न नसकेर घरै छाडेर भागेको अथवा ब्याज असुल्ने कर्मचारीबाट जोगिन लुक्न गएको लघु वित्तका ऋणीको भएको सहजै अनुमान लगाउन अवस्था पैदा भएको छ ।

अहिले सहकारी सँगै सबै भन्दा डरलाग्दो समस्या लघुवित्तमा पनि देखिएको छ । जसको आय कम छ, धितो राख्ने सम्पत्ति पनि छैन र व्यवसाय गर्ने हुटहुटी छ, त्यस्तालाई सामूहिक जमानीमा बिनाधितो ऋण दिने भनेर खोलिएका लघुवित्त संस्थाहरूको भविष्य अहिले संकटमा छ । पछिल्लो समय आएका दृष्टान्तले भने तिनै न्यून आय भएकाहरूका लागि ती संस्थाहरूको ऋण गलपासो भइरहेको छरपष्ट देखिन्छ । जसले ठूला बैंकहरूबाट ऋण पाउँदैनन्, तिनका लागि लघुवित्त संस्था गाउँका साहू महाजनसँग सय कडा ५ रुपैयाँका दरको ऋण लिनेदिने प्रवृत्ति अन्त्य गर्न खोलिएको हो लघुवित्त संस्था। तर, लघुवित्त संस्था भने तिनै सुदखोर र सामन्तहरूको नयाँ अवतारका रूपमा प्रकट भएका छन् । गरिबीको दुष्चक्रमा परेकाहरूलाई ऋणमाथि ऋण मुठीभर व्यक्तिहरूले कुस्त मुनाफा कमाउने माध्यम लघुवित्त संस्थाहरू भएका छन्, जसको नियमनमा केन्द्रीय बैंक चुरिहेको छ । होइन भने एउटै व्यक्तिलाई दर्जनभन्दा बढी संस्थाले ऋण दिने गरिबलाई झन् गरिब बनाउने खेल भइरहँदा राष्ट्र बैंक मुकदर्शक बन्नु अवश्य पनि देशका लागि दुर्भाग्यको कुरा हो ।

धेरैले भन्छन् कि लघु वित्त होइन, यो लुट वित्त हो । अहिले घटनाक्रमले यही र यस्तै परिदृश्य देखिरहेको छ । ऋणीहरूको एकीकृत वा केन्द्रीकृत सूचना हुने व्यवस्था भएको भए दोहोरो, तेहेरो ऋण उपलब्ध हुँदैनथ्यो । लघुवित्त संस्था गरिब चुस्ने माध्यम बनिरहेको त तिनले आर्जन गरिएको अचाक्ली नाफा र धितोपत्र बजारमा हटकेक सेयर लघुवित्तको हुनुबाटै प्रष्ट छ । चर्काे सेवाशुल्क, चक्रवर्ती शैलीको ब्याजदर र एकै व्यक्ति तथा समूह माथि दर्जन भन्दा बढी संस्थाको ऋण लगानी हुने प्रवृत्ति रोक्न राष्ट्र बैंकले किन सकेन ? वित्तीय अनुशासन कायम गर्ने सन्दर्भमा किन सफल हुन सकेन ? पहुँचको जलपले छोपेर लघुवित्त संस्थालाई बेलगाम लगाउनु पर्ने सन्दर्भमा दूरदराजहरूबाट अझै अप्रिय खबर किन आइरहेको छ ? यसमा खराब नियत भएकाहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ । असल नियत भएकाहरु भने गरिबलाई लघुवित्तको ऋणको गलपासोबाट मुक्त गर्ने विकल्प र बाटोमा अघि बढ्नु अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *