पल शाहको सफाइ, सन्देश र संशय

सम्पादकीय
गत वर्षको फागुन १५ मा लोकप्रिय अभिनेता पूर्णविक्रम शाह (पल शाह)ले नाबालिका बलात्कारको संगीन आरोप खेपे । जसका कारण एक वर्ष जेल जीवन व्यतित गर्न समेत शाह बाध्य बने । संयोग नै मान्नुपर्छ, फागुन १५ मै शाहले आफू माथि लागेको आरोपमा सफाइ पाए । ठिक एक वर्षमा सोमबार जिल्ला कारागार तनहुँबाट थुनामुक्त भएका छन् । नेपाली रंग क्षेत्रमा सर्वाधिक व्यस्त पललाई एकाएक गम्भिर आरोप लागे पछि नेपाली समाज पक्ष विपक्षमा बिभाजित भएको थियो । एक पक्षले पलको चामत्कारिक सफलताको आरिसमा नियोजित र योजनाबद्ध रुपमा फसाइएको जिकिर गरिरहे भने अर्को पक्षले पललाई नाबालिका माथि बलात्कार गरेको गम्भिर आरोपको मुद्धा लाग्दा पनि सेलिब्रेटी भएकाले बचाउँ गरिएको आरोप लगाइरहे । यो आरोप प्रत्यारोपका बिच एक वर्षमा पल शाह निर्दो रहेको उच्च अदालतबाट फैसला आएको छ ।

नायक शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै १७ वर्षीया नाबालिगले २०७८ फागुन ११ गते तनहुँ र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । जस अनुसार तनहुँ अदालतले शाहलाई सफाई दिएको थियो । तर, नाबालिग जबर्जस्ती करणीको मुद्दालाई जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगमा परिणत गरिदिएको थियो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीको अभियोगमा सफाइ दिँदै बाल यौन दुरुपयोगमा कसुरदार ठहर गरेको थियो । बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । त्यस पछि शाह उच्च अदालत पोखरामा पुनरावेदनका लागि पुगेका थिए । उच्च अदालत पोखराले सफाइ दिए पछि जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् र उनको स्वागत सम्मानमा ठुलो भिड देखियो । यो प्रवृत्तिका हिसाबले कति ठिक कति बेठिक ? यो पाटोमा पनि समाजमा बहस जरुरी देखिएको छ ।

नाबालिग बलात्कार अभियोग प्रकरण अब करिब टुंगिएको छ । तर, यसले केही गम्भिर प्रश्न र सवालहरु जन्माएको छ । जसका बारेमा सरकार, अदालत र सरोकारवाला निकाय कसैले पनि नजर अन्दाज गर्न मिल्दैन । नाबालिगले जे जसरी मुद्धा दर्ता गराइन्, उनले बिचमै बयान फेरिन्, कुनै दबाब, प्रभाब, आर्थिक चलखेल या नियोजित खेल, यसको खास अन्तर्य के थियो ? अब पीडित भनिएकी नाबालिग यही समाजमा कसरी बाच्लिन् ? उनको चरित्र र भविष्यको कसले लेखाजोखा गर्ला ? यसको जरुर खोजी र यथार्थ बाहिर आउनु पर्छ । अर्को तर्फ पल शाह रिहाइको खुशीयालीसंगै पुर्पक्ष, अनुसन्धान र मुद्दाका नाममै एक बर्षसम्म निर्दोष व्यक्तिलाई थुनामा राखेको क्षतिपूर्ति अब कसले कसरी भर्छ ? विना आधार लागेको आरोपबाट आघात पुगेको सामाजिक प्रतिष्ठाको भरपाई कसरी गरिनेछ ? एउटा निर्दोष व्यक्तिले यस्ता गम्भिर आरोप खेप्दा परिवार, समाज र देशमा परेको पीडा, खराब छापको हिसाब र क्षतिपुर्ति कसले गर्छ ? यी र यस्ता गम्भिर र संवेदनशील प्रश्न र सवालहरुको पनि सम्मानित न्यायालयले जवाफ दिनुपर्छ । अन्यथा, नेपालको न्यायालय प्रतिको भरोसा स्खलित हुँदै जाने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *