सम्पादकीय
एक अर्का बिचको सहकार्यात्मक अवधारणाबाट जन्मिएको हो सहकारी । समुदायका जो कोही व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवद्र्धन गर्ने यसको मुख्य ध्ये हो । एकका लागि सबै र सवैका लागि एक यसको मूल मन्त्र हो । छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्ने यसको अभिप्राय हो । व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी हो । यो सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक साझा संस्था हो । जो प्रचलित विधि मान्यता सहित चल्छ र सदस्यहरूले साझा उद्देश्य प्राप्तिका लागि कार्य गर्दछन् । समग्रतामा अन्तर निर्भरता हुँदै आत्मनिर्भरता तर्फको यात्रा हो सहकारी ।
तर, सहकारी पछिल्लो समय असफलता र बदनाम उन्मुख दिशामा छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक संकट र सकसको अवस्थाले हरेक क्षेत्र प्रभावित छ । व्यापार व्यवसायमा उल्लेख्य ह्रास आइरहेको छ भने अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । यही बेला बैंक होस् सहकारी लगायतका वित्तीय संस्था । निकै जटिल अवस्थाबाट गुज्रिरहेका छन् । कति सहकारी त बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेर बन्द भएका छन् । लाखौ, करोडौ शेयर, बचत र लगानी डुबेका छन् भने कति सहकारी बचतकर्ताले फिर्ता माग्दा पनि पुरा रकम फिर्ता गर्न नसकेर थप संशय पैदा गराइरहेका छन् । यसबेला सहकारी तथा अन्य वित्तीय संस्थाहरुले आफुलाई सम्हाल्ने र संयमित हिसाबले पाइला अघि बढाउनु पर्ने चुनौती छ । आफ्ना शेयर सदस्यलाई अहिले चौतर्फी देखिएको आर्थिक संकट, परिस्थितिजन्य समस्या र संस्थाको बारेमा यथार्थ जानकारी गराएर विश्वास र भरोसा दिलाउनु अपरिहार्य छ । यसमा बागलुङका सहकारीकर्मीहरुले लिएको अग्रसरता सकारात्मक छ । बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा भएकोसबल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयक सहकारी गोष्ठीमा उनीहरुले सहकारीमा व्यक्तिगत बचतको सिमा २५ लाख रुपैया राख्ने प्रस्ताव खारेजी लगायत १५ बुदे घोषणापत्र जारी गरेका छन् ।
आर्थिक क्षेत्रमा तरलता व्यवस्थापन अहिलेको मुख्य चुनौती हो । अझ यही बेलामा व्यवसायी दुर्गा पर्साइ लगायतले बैंक तथा सहकारी संस्थाको ऋण नतिर्न चलाइरहेको अभियान अर्को चुनौती हो । कतिपय सहकारी सञ्चालकहरुकै मनोमानी कार्यशैलीका कारण बिग्रेका छन् । यी र यस्ता समस्या र चुनौतीहरुको यथोचित बिश्लेषण गरेर सहकारी संस्थालाई अघि बढाउन हर सहकारी सञ्चालक, शेयर सदस्यहरुले यसबेला सचेत र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न जरुरी छ । अहिले केही असफल सहकारीका कारण समग्र सहकारी क्षेत्र बदनाम भइरहेको छ । अब सहकारी संघ संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउनु पर्छ । साथै प्रभावकारी अनुगमन निमयनका लागि सरकार र सरोकारवाला निकाय पनि कडाईका साथ प्रस्तुत हुनुपर्छ । सहकारी संस्थामा सुशासन कायम राख्न ऐन कानुनको पुर्ण परिपालना, सुुरक्षित ऋण लगानी र असुलीमा विशेष ध्यान दिनु पर्दछ ।