होली पर्वको शुभकामना

सम्पादकीय
नेपाली समाज अनेकन चाडपर्व, संस्कार, संस्कृति, रीतिथिति र मौलिक परम्पराहरुबाट सुसज्जित छ । र त बाह्य देशबाट नेपाल आउनेहरु या विदेशमै नेपालको विविधता अध्ययन गर्नेहरु नेपाल प्रति मोहित हुन्छन् । हरेक दिन र महिनामा कुनै न कुनै जाति, धर्म, क्षेत्र, समुदायको खास पर्व आइरहन्छन् । त्यसलाई उनीहरुले विशेष उत्सवको रुपमा मनाइरहन्छन् । यही अनुक्रममा आज सोमबार पहाडी र हिमाली क्षेत्रमा रङहरुको पर्व फागु पूर्णिमा अर्थात् होली पर्व मनाइदैन । तराई क्षेत्रमा भने यो पर्व भोलिपल्ट अर्थात् मंगलबार मनाइन्छ । एक आपसमा रङ लगाएर सद्भाव साटासाट गर्ने पर्व होली पछिल्लो समय भने केही बिकृत बन्दै गएको गुनासो हुन थालेको छ ।

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हूल हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन् ।’ यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले तराइ तिर यसलाई फगुआ पनि भनिन्छ । रङ्गहरूको चाड होली पर्व मनाउनुको भने एउटा कारण र इतिहास छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रहलादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आँफै आगोमा भष्म भएको दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटनाक्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्री कृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भए पछि गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको पनि इतिहासमा उल्लेख छ ।

छुट्टाछुट्टै रंगहरुमा भिन्न–भिन्न अर्थ र महत्व छ । होलीका दिन बिभिन्न रंगहरुको समिश्रण सहित सद्भाव, र खुसी साटासाट गरिनु सुखद र सकारात्मक कुरा हो । तर, पछिल्लो समय जबरजस्त रंग लगाइदिने, किशोरी, युवतीहरुलाई दुव्र्यवहार गर्ने, फोहोर पानी र फोहोराले हान्ने, मदिरा सेवन गरेर झैझगडा गर्ने जस्ता गतिविधि र परिदृश्य पनि देखिने गरेका छन् । हिन्दु धर्म, संस्कारसँग जोडिएको पर्व भए पनि धार्मिक मान्यता र विश्वास भन्दा पृथक रुपमा यी र यस्ता पर्वलाई नेपाली समाजमा लिन थालिएको छ । यसले नेपालीपन र नेपालीमनलाई थप एकाकार भएर अघि बढ्न बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ । होली पर्वमा तपाई पनि रंग आदान प्रदान गरेर सद्भाव बाँड्नुहोस् । हिमाल, पहाड र तराईका सबै नेपालीलाई होली पर्वको हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *