नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

सम्पादकीय
पुरानो व्यवस्था बदल्दै नयाँ संघीय अभ्यास गरिरहेको नेपालले तेस्रो राष्ट्रपति पाएको छ । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका हुन् । दुई पूर्व सभामुख बिचको प्रतिस्पर्धामा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ पराजित बने । प्रधानमन्त्रीमा १७ पटक पराजय बेहोरेर राजनीतिबाट करिब करिब किनारा परेको आँकलन गरिएका पौडेलले अन्ततः राष्ट्रपतिमा बाजी मारेका छन् । पार्टीको आन्तरिक राजनीतिमा संस्थापन इतरको समूहको नेतृत्व गरेका पौडेल पछिल्लो महाधिवेशनमा तटस्थ बसे । जसबाट उनकै समूहका नेता, कार्यकर्ता समेत तितर बितर भए । उनको राजनीतिक जीवन समेत अन्यौलतामा थियो । नेपाली राजनीतिमा क्षण क्षणमा देखिने बदलावका बाबजुद पौडेल राष्ट्रपति चयन भएका छन् । यो उनकै लागि समेत नेपाली राजनीतिबाट सम्माजनक अवतरण हुने अवसर हो ।

उसो त नेपालमा राष्ट्रपति सेरोमोनियल हुने व्यवस्था हो । तर, यसबिचमा राष्ट्रपतिको भूमिकाका कारण जे जस्ता विवाद र उल्झनहरु देशमा देखा परे । त्यसले राष्ट्रपति पद प्रति आम रुपमा चासो र गम्भिरता बढेको हो । प्रधानमन्त्री कार्यकारी हुने व्यवस्था भए पनि मुलुकको अभिभावकका रुपमा राष्ट्रपतिले खेल्ने भूमिका महत्वपूर्ण हुन्छ । जुन विगतमा प्रथम राष्ट्रपति डा.रामवरण यादवदेखि विद्यादेवी भण्डारीसम्म आइपुग्दा देखिएकै छ । यसकारण राजनीतिक दलहरुले सके सम्म आफ्नो, नत्र आफु अनुकुल बनाउन सक्ने पात्रलाई राष्ट्रपति बनाउने कसरत तिब्र देखियो । पहिलेको सत्ता गठबन्धन भत्कदा एमाले माओवादी बिच एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो । तर, एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै गर्दा सभामुख सम्मको सफलता हासिल गरे पनि राष्ट्रपति भने गुमाउन पुगेको छ । प्रधानमन्त्रीमा प्रचण्डलाई नछोड्ने हदमा हुँदा केन्द्रदेखि प्रदेश सम्मको सत्ता गुमाएको नेपाली कांग्रेस अन्ततः राष्ट्रपति सहित नेपालको सत्ता राजनीति आफ्नो काबुमा ल्याउन सफल भएको छ ।

नेपालमा राष्ट्रपति निकै आलोचित भइरहन्छन् । त्यो चाहे हिजो डा.रामवरण यादवको पालामा होस् या विद्यादेवी भण्डारीको । राष्ट्रपति सवार हुँदा सडकमा नागरिकले पाउने सकसदेखि आकाश समेत अवरुद्ध हुने लगायतका कारण पूर्व राजाकै कार्यशैलीसँग तुलना र आलोचना हुँदै आएको छ । राजतन्त्रात्मक समयकालीन व्यवस्था अन्त्य भएको वर्षौ भइसक्दा पनि जनताका छोराछोरी राष्ट्रपति हुँदा पनि कार्यशैली र प्रवृत्ति नफेरिनु दुःखद कुरा हो । राष्ट्रपति कुनै एक व्यक्ति मात्र होइन, यो संस्था हो । जुन मुलुकको अभिभावकीय भूमिकामा सर्वोच्च हुन्छन् । तिनले आफू कुन पृष्ठभूमी, जनता र राजनीतिका बिचबाट आफू आजको भूमिकामा आइपुगेको हो भन्ने बिर्सिनु हुँदैन । राष्ट्रपति निर्वाचनका क्रममा पौडेलले राष्ट्राध्यक्षको भूमिका कस्तो हुन्छ आफुले उदाहरण बनेर देखाउने उद्घोष गरेका छन् । जसको आजैको दिनबाट असली परीक्षा सुरु भएको छ । यसमा उनले भने जस्तै उदाहरणीय बनेर जनताको मत जित्न सकुन्, देशको शिर उच्च बनाउन सकुन्, पुनः सफल कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई हार्दिक बधाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *