सम्पादकीय
यही चैत्र ५ गते देशभरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालयले लामो समय पछि निर्वाचन त घोषणा गरेको छ तर, निर्वाचनको प्रतिस्पर्धामा जाने सवालमा विद्यार्थी संगठन र तिनका नेताहरुको व्यवहार, कार्यशैली, अराजक उश्रृंखल गतिविधि आम लज्जाको विषय बनिरहेको छ । चाहे त्यो ठुला भनिएका संघीय राजधानीका विश्वविद्यालय, क्याम्पसहरुमा होस् या प्रदेश राजधानी, जिल्ला र स्थानीय तहहरुमा भएका होउन् । भोलिको देश हाँक्ने नेतृत्वका रुपमा रहेका विद्यार्थी संगठन र तिनका नेताहरुमा आशा, भरोसा राख्ने ठाउँ देखिरहेको छैन । बरु पुराना राजनीतिक दल, पुराना नेताहरुकै चरित्रको पुनरावृत्तिमा उत्रिने सम्भावित परिदृश्यले सिंगो नेपाल र नेपालीलाई चिन्तित तुल्याइरहेको छ । देशमा व्यवस्थासँग अवस्था, पात्र र प्रवृत्तिममा पनि आमुल सुधार होला भन्ने अपेक्षामा नयाँ पुस्ताबाट पनि गम्भिर खेलवाड भइरहेको छ ।
विगतका कठिन क्षणहरुमा विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)लाई राजनीतिको नर्सरीका रुपमा लिइन्थ्यो । देश हाँक्ने नेता जन्माउने, हुर्काउने र निखार्ने फोरमको रुपमा यस्ता संगठन र मञ्चलाई हेरिन्थ्यो । अहिले आएर विद्यार्थी राजनीति हेर्दा उत्साहित हुने ठाउँ बाँकी छैन । राजनीतिक दलको भातृ संगठन त हो तर पार्टी नेतृत्वले गलत गर्दा समेत जयजकार गर्ने नयाँ पुस्ता नेतृत्वबाट केही आशा गर्न सकिन्न । अहिल स्ववियू निर्वाचनको मिति नजिकिदै गर्दा कुनै शैक्षिक एजेण्डामा बहस भएर प्रतिस्पर्धा गर्ने होड छैन, केबल जित्नका लागि जुनसुकै अस्त्र प्रयोग गर्ने मुडमा विद्यार्थी संगठन र तिनका नेतृत्व देखिन्छन् । आफुले सक्ने ठाउँमा चुनाव गराउने र हार्ने सम्भावना भएका क्याम्पसमा कुनै विवादको बाहना बनाएर भड्काउने प्रवृत्ति अपनाइरहेको देखिन्छ । धौलागिरीकै एक मात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा पनि निर्धारित समयमा चुनाव हुने नहुने अन्यौल र द्धिविधा छ । नेपाल विद्यार्थी संघ र अखिल सम्बद्ध विद्यार्थी संगठन बिचको विवादको विषय उत्कर्षमा पुगे पछि निर्वाचन अधिकृतले नै राजीनामा दिइरहेका छन् । काठमाडौं सहित धेरै क्याम्पसमा विद्यार्थी संगठन जबरजस्त विवाद, उल्झन र तोडफोडमा उत्रिएका छन् ।
के अहिलेको नयाँ पुस्ता, विद्यार्थी संगठन र तिनका नेताबाट यही अपेक्षा गरिएको हो ? विद्यार्थी संगठन र नेतृत्व सचेत, परिपक्व भएर स्वस्थ प्रतिस्पर्धा, विधिको शासनलाई प्रवद्र्धन गर्ने भेटाउनै मुश्किल पर्ने अवस्था किन छ ? शिक्षित, सचेत तप्का पनि किन केबल नेताहरुको कारिन्दा र दास मनोवृत्ति बोकेर बाँचिरहेको छ ? के यही अवस्था, प्रवृत्ति र नियतिले देशले भोलिका दिनमा असल नेतृत्व पाउला ? यी र यस्ता प्रश्न स्ववियू निर्वाचनसँगै अहम् बनेर उभिएको छ । हामीकहाँ नर्सरी राम्रोसँग गोडमेल गरेर हुर्काउने काम नै भएको छैन अनि राम्रा बिरुवा कसरी हुर्कन्छन् ? विद्यार्थीलाई इन्नोभेटिभ बनाउने काम पार्टीकै भूमिकाको कारण अस्तव्यस्त छ । पछिल्लो ६० को दशकको सेरोफेरोका विद्यार्थी आन्दोलन, नेतृत्व केही आशा लाग्दा थिए । जो अहिले देशका महत्वपूर्ण जिम्मेवारी र भूमिकामा छन् । अहिले विद्यार्थीलाई ‘इन्नोभेटिभ’ र ‘गरिखाने’ कसरी बन्ने बनाउने भन्दा पनि ‘कसरी अवसरमा पुग्ने’ भन्ने सोचले पुराना र नयाँ पुस्ताका नेताहरु ग्रस्त छन् । यो देशको भोलिको भविष्यका लागि सबैभन्दा दुर्भाग्यपूर्ण कुरा हो । यसमा विद्यार्थी संगठन, पार्टी नेतृत्व र नयाँ पुस्ता सचेत र सजग हुन अपरिहार्य छ ।