सभामुखको अमर्यादित अभिव्यक्ति र अपरिहार्य बहस

सम्पादकीय

नेपालका हरेकजसो क्षेत्र अहिले पनि पटक पटक विवादित र बदनाम छन् । चाहे त्यो मुलुकको सर्वोच्च न्यायालय होस् या राजनीति होस् या सामाजिक क्षेत्र होस् या कर्मचारीतन्त्र होस् या पत्रकारिता । अनेकन प्रश्न, संशय, विवादले ग्रस्त हुँदा मुलुकमा व्यवस्था ऐतिहासिक रुपमा परिवर्तन भए पनि अपेक्षित प्रगति, विकास र समृद्धि हासिल हुन सकेको छैन । संविधान निर्माण र संघीयताको कार्यान्वयनमा आए सँगै मुलुकले राजनीतिक स्थिरता, समृद्धि प्राप्त गर्छ भन्ने आम नेपाली नागरिकमा आशा मात्र थिएन, पूर्णतः भरोसा थियो । तर, केही वर्षकै अन्तरालमा नागरिकको अपेक्षा र सपना माथि तुषरापात भएको छ । अस्थिर राजनीतिको फोहोरी खेलमा एक अर्कोलाई आरोप लगाउँदै देश, प्रणालीलाई कमजोर बनाउने कुरुप खेल भइरहेको छ ।

विवाद, बदनाम र बहसको जडमा राजनीति त केन्द्र भाग छँदैछ । यसमा पछिल्लो समय थपिएको पत्रकारिता । नेपाली पत्रकारिता माथि संगीन आरोप सहित केही साता अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलधारका मिडिया र पत्रकारलाई लक्षित गर्दै १२ भाइको उपमा दिए । जुन विषयले पुरै देश, नेपाली राजनीति र पत्रकारिता तरंगित यो । अनेकन वादविवाद र बहस भयो । त्यो विषय सेलाउन नपाउँदै फेरि पत्रकारिताकै विषयमा सभामुख देवराज घिमिरेले अभिव्यक्त गरेको भाषण अहिले विवाद र बहसको केन्द्रमा छ । पत्रकारहरु बिक्रीमा रहेको र पित पत्रकारिता भइरहेको घिमिरेको अफ द रेकर्ड अभिव्यक्ति थियो । जसको नेपाल पत्रकार महासंघ लगायतका संघ संस्था र पत्रकारहरुले चर्को बिरोध जनाइरहेका छन् भने पत्रकारको एक समूहले भने पत्रकारिता र पत्रकारको विषयबारे उठाएको प्रश्न जायज भएको जिकिर गरिरहेका छन् ।

सभामुखले जे जसरी अभिव्यक्ति दिएका छन्, त्यो सार्वभौम संसदको मूल नेतृत्वको पदीय हैसियत र मर्यादा विपरीत कार्य हो । अब उनले आफ्नो अभिव्यक्तिलाई या त पुष्टि गर्नुपर्छ नत्र आरोप फिर्ता लिनु पर्छ । उसो त पत्रकारितामा सभामुखले संकेत गरेका प्रवृत्तिजन्य समस्या कत्ति पनि नभएका भने होइनन् । यति हो कि सम्पूर्ण पत्रकारिता क्षेत्रको बदनाम हुने गरी सम्माननीयबाट जहाँ जसरी अभिव्यक्त भयो, त्यो आधारहीन र आपत्तिजनक छ । नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला जिम्मेवार व्यक्तिले समग्र प्रेस जगतलाई बिना तथ्य लान्छित अभिव्यक्ति दिनु शोभनीय होइन । यसले पत्रकारिता क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउनेछ । कुनै एक, दुई या सीमित पात्रको विषयलाई लिएर समग्र क्षेत्रलाई विवादित र बदनाम गर्ने कार्यले अन्ततः हानी पु¥याउँछ । यसले सम्मानीय सभामुखको कद पनि घटाएको छ भने पत्रकारितामा पनि मिडियामा असली पत्रकारिता नगरी कमाउ धन्दा गर्ने परिपाटीका विषयमा पनि निर्ममतापूर्वक समिक्षा र बहस गर्नुपर्ने जरुरी देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *