प्रधानमन्त्री ज्यू, विश्वासको मत झै विश्वास नघटोस्

सम्पादकीय
नेपाली अस्थिर राजनीतिको निरन्तरताका कारण वर्तमान प्रधानमन्त्रीले तीन महिनामै विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदबाट दोस्रो पटक विश्वासको मत प्राप्त गरे पनि । १७२ सांसदको मतसहित प्रधानमन्त्रीले संसद्को विश्वास प्राप्त गरेका हुन् । २६२ सांसद उपस्थित रहेकोमा यसपटक प्रस्तावको विपक्षमा ८९ सांसदले मत दिए । एक सांसद तटस्थ बसे । जबकि यसअघि १० पुसमा एमालेसहितको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा लिएको विश्वासको मतमा चामत्कारिक रुपमा संसद्को ९९.२६ प्रतिशत मत प्राप्त गरेका थिए ।

प्रदेश र संघीय संसदको निर्वाचनसँग प्रधानमन्त्रीको निर्वाचन सम्म आइपुग्दा कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतको पुरानो सत्ता गठबन्धन भत्कियो । र दुई धुब्रमा उभिएका माओवादी एमालेको नयाँ गठबन्धन बन्यो । कांग्रेस, एकीकृत समाजवादी लगायतका दल सम्मुखमा आएको सत्ता स्वादबाट किनारा लागे । तर, त्यसको तीन महिना पुरा नहुँदै नेपाली राजनीतिमा उस्तै शैलीमा अस्वभाविक समीकरण फेरियो । राष्ट्रपति चुनावको समय सम्म आइपुग्दा फेरि उही पुरानो समीकरण बन्यो र एमाले पुनः एक्लिदै प्रमुख प्रतिपक्षी दल बनेको छ । समीकरणको बदलाव, एमाले माओवादीको सम्बन्धमा आएको दरारका कारण प्रधानमन्त्रीले पुनः विश्वासको मत लिने अवस्था पैदा भयो । जसमा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहले विश्वासको मत दिए । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले भने विपक्षमा मतदान गरे । एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो ।

प्रधानमन्त्री प्रचण्डले पाएको ९९ प्रतिशत विश्वासको मत ३ महिनामै खस्किएको छ । र ८९ जना सांसदले मत दिएनन् । अब प्रधानमन्त्री प्रचण्डले बाँकी विश्वासको मत दिने सांसद, जनताले गरेको अपेक्षा र विश्वासलाई कहिले सम्म कति कायम राख्न सक्छन् ? असली अग्नी परीक्षा सुरु भएको छ । प्रचण्ड अहिलेका शीर्ष नेताहरु मध्ये केही डाइडामिक मानिन्छन् । उनले मन्त्रीपरिषद र आफ्नो सचिवालयको टिम कस्तो बनाउँछन् ? र कसरी काम गर्ने रणनीति अख्तियार गर्छन् ? त्यसले धेरै कुरा निर्धारण गर्नेछन् । प्रचण्डका विगतका सरकार सञ्चालनको इतिहास हेर्दा केही न केही गर्ने हुटहुटी तर, समग्र पक्ष र परिस्थितिको बिश्लेषण गर्न नसकेका कारण बिफल भएका छन् । तसर्थ, अहिले प्रचण्डका लागि उत्तम अवसर छ । यसबेला जनतालाई अनुभूति हुने गरी विकास र समृद्धिको पक्षमा काम गर्न सके देशको भविष्यसँगै उनको राजनीतिक करियर पनि सम्झनलायक हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *